डेढ दशकमा एउटा ब्लक तयार, उद्योग आउन सुरु

निर्यात व्यापारलाई सहजीकरण गर्ने उद्देश्यले मुलुकका एक दर्जनभन्दा बढी स्थानमा विशेष आर्थिक क्षेत्र (सेज) बनाउने घोषणा भएको धेरै वर्ष बितेको छ । ठूलो महत्वाकांक्षासहित कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयनमा लैजान नसक्ने सरकारको कमजोरी सेजका सवालमा पनि दोहोरिएको छ ।
सरकारले मुलुकका सातै प्रदेशमा एक–एक वटा सेज बनाउने भने पनि भैरहवासहित एक–दुई स्थानबाहेक अन्य क्षेत्रमा पूर्वाधार नै बन्न सकेको छैन । सरकारले बाराको सिमरामा पनि १४ वर्षअघि सेज निर्माण गर्ने यस्तै घोषणा गरेको थियो । करिब डेढ दशकपछि बल्ल यहाँकोे सेज सञ्चालनमा आउने लक्षण देखिएको छ, त्यो पनि आंशिक रुपमा मात्र ।
सरकारले यहाँको सेजमा ५ वटा ब्लक निर्माण गर्ने भनेकामा अहिले ‘ए’ ब्लकमात्र तयार भएको हो । यही तयारी ब्लकमा उद्योगीहरुले कारखाना सञ्चालनका लागि पूर्वाधार निर्माण सुरु गरेका छन् । यससँगै सिमरा सेज आंशिक रुपमा भए पनि सञ्चालनमा आएको हो । तत्कालीन उद्योगमन्त्री अष्टलक्ष्मी शाक्यले २०६५ मा शिलान्यास गर्दा विशेष आर्थिक क्षेत्र (सेज) नाम दिइएको थियो ।
पछि सेजको नाम विशेष आर्थिक क्षेत्र विकास समिति हुँदै अहिले विशेष आर्थिक क्षेत्र प्राधिकरण बनेको छ । स्थानीय उद्योगी तुलसी गुप्ताले ‘ए’ ब्लकको ८ वटा प्लटमा करिब दुई सय करोड रुपैयाँको लागतमा टायल्स तथा मार्बल कारखाना खोल्ने भएका छन् । उद्योगी गुप्ताले शुक्रबार उद्योगको पूर्वाधार निर्माण शिल्यान्यास गरेका छन् । यो नै सिमरा सेजमा उद्योग स्थापना गर्न सुरु गरेको पहिलो उद्योग हो । एक वर्षभित्र पूर्वाधार निर्माण सम्पन्न गरी उद्योग सञ्चालन गर्ने उद्देश्य राखेको उद्योगी गुप्ताले जानकारी दिए ।

उनले भारतीय कम्पनी अशोक आकृति नामको टायल्स तथा मार्बल उद्योगको सहयोगमा आफूले यहाँ उद्योग सञ्चालन गर्न लागेको बताए । विशेष आर्थिक क्षेत्र प्रााधिकरणका कार्यकारी प्रमुख चण्डिका भट्टले फागुन पहिलो सातादेखि अन्य उद्योगीहरुले पनि उद्योगका लागि पूर्वाधार निर्माण सुरु गर्ने बताए । “यहाँ अरु १९ उद्योगले फागुन पहिलो सातादेखि कारखाना सञ्चालनका लागि पूर्वाधार निर्माण थाल्ने जानकारी गराएका छन्,” उनले भने ।
सरकारले २०६५ सालमा वीरगन्ज चिनी कारखानाको सिमरास्थित औराहमा रहेको ८ सय ३३ बिगा खाली जग्गा सेज निर्माण गर्ने भन्दै लिएको थियो । यही जग्गालाई ५ वटा ब्लकमा बाँडेर सेज निर्माण सुरु गरिएको थियो । अहिले तयार ‘ए’ ब्लकलाई गार्मेन्ट प्रोसेसिङ जोनका लागि छुट्याइएको थियो । तर, सिमरामा कुनै पनि गार्मेन्ट उद्योग आफ्नो संरचना सार्न इच्छुक देखिएनन् ।
विदेशी उद्यमीले समेत चासो नराखेपछि सरकारले निर्यातजन्य सबै प्रकारका उद्योग सञ्चालन गर्न सकिने नीति ल्याएको थियो । यो नीतिपछि अन्य उद्योगले प्रवेश पाएसँगै सिमरा सेज सञ्चालनमा आएको हो । गार्मेन्ट प्रोसेसिङ जोनको तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७४ चैत १८ मा दुई वर्षभित्र सञ्चालन गर्नेगरी शिलान्याश गरेका थिए ।
यहाँबाट भारतको कोलकाता बन्दरगाह नजिक पर्ने हुँदा सिमरा सेजका निर्यातजन्य उद्योगलाई आफ्ना उत्पादन तेस्रो मुलुकमा निर्यात गर्न सहज हुनेछ । सहज र सस्तोमा ढुवानी गर्न सकिने यो सेज नेपालकै प्रमुख आर्थिक द्वार मानिने वीरगन्जबाट २० किलोमिटरमात्र टाढा छ भने पथलैया–वीरगन्ज औद्योगिक करिडोरको मुख्य सडकबाट तीन किलोमिटर भित्र छ ।
प्राधिकरण प्रमुख भट्टका अनुसार ‘ए’ ब्लकका ६८ वटा प्लटमध्ये यसअघि ३० वटा उद्योगले अनुमति लिए पनि अहिले २२ उद्योगले कारखाना सञ्चालन गर्ने सम्झौता गरेका छन् । सेजले प्रतिप्लट एकदेखि डेढ बिगा क्षेत्रफल जग्गा पर्ने गरी संरचना तयार गरेको छ । उनका अनुसार सेजमा उद्योग सञ्चालनका लागि चाहिने उपकरण, मेसिन, औजार, पार्टपुर्जा, कच्चा पदार्थ आयातमा भन्सार छुट गर्ने र यहाँको भाडादर पुनरावलोकन हुने गरी ऐन संशोधन प्रक्रियामा पठाइएको छ ।
उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठले सरकारले निर्यातजन्य उद्योगलाई जग्गा सितैंमा दिनुपर्ने बताए । उनले १५–२० वर्षको भाडाले अन्त जग्गा नै आउने हुँदा सरकार भाडामा भन्दा निर्यातलगायतका अन्य पक्षमा केन्द्रित बनेर देशी–विदेशी उद्यमीलाई आकर्षित गर्नुपर्ने सुझाए । प्राधिकरणले उद्योगहरुको पूर्वाधार निर्माणको कार्यप्रगति हेरेर पहिलो वर्ष ७५ प्रतिशत, दोस्रो वर्ष ५० प्रतिशत र तेस्रो वर्ष २५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । चौथो वर्षबाट मात्र पूर्ण रुपमा भाडा लिने व्यवस्था छ ।
प्राधिकरणका अनुसार जग्गाको भाडादर ५० प्रतिशतले घटाएर प्रतिमहिना प्रतिवर्गमिटर १० रुपैयाँ बनाइएको छ । यस्तै, उत्पादन सुरु भएको पहिलो वर्षमै ६० प्रतिशत निर्यात गर्नुपर्ने बाध्यात्मक व्यवस्था हटाइएको छ । अहिले सुरुको दुई वर्ष निर्यात गर्नु नपर्ने, तेस्रो वर्ष २० प्रतिशत, चौथो वर्ष ४० प्रतिशत र पाँचौं वर्षदेखि कुल उत्पादनको ६० प्रतिशत निर्यात गरे पुग्ने व्यवस्था गरिएको छ ।
प्रमुख भट्टका अनुसार सेजका ५ ब्लकमध्ये तयार भएको ‘ए’ ब्लकमा हर्बल प्रोसेसिङ उद्योग, कृषिमा आधारित उद्योग, सिमेन्ट कम्पनीका बोर्डहरु बनाउने, औषधि उद्योगलाई आवश्यक पर्ने उपकरण बनाउने, आल्मुनियम, भाँडा, टिस्यु पेपर र ठूलो संख्यामा गार्मेन्ट उद्योग सञ्चालनमा आउने छन् । सेजका प्राविधिक अजय चौधरीले ‘बी’ र ‘सी’ ब्लकको काम पनि अन्तिम चरणमा रहेको र ‘डी’ र ‘ई’ मा प्रशासनिक काम भइरहेको बताए ।
‘ए’ ब्लकमा स्थापना हुने उद्योगमा करिब ६ अर्ब लगानी हुने र २ हजारले प्रत्यक्ष रोजगारी पाउने प्राधिकरणको भनाइ छ । सेजले उद्योग सञ्चालनका लागि आवश्यक प्रशासनिक भवन, प्रहरी सुरक्षा, बैंक, बिमा, हुलाक, भन्सार, क्यान्टिन, आन्तरिक सडक पूर्वाधार, ढल, खानेपानी, विद्युतीकरणलगायत संरचना निर्माण सम्पन्न गरेको छ ।