निर्देशक मैनालीलाई चेम्बरको सम्मान «

निर्देशक मैनालीलाई चेम्बरको सम्मान

नेपाल चेम्बर अफ कमर्सले ७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक राम मैनालीलाई सम्मान गरेको छ । विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक मैनालीलाई सम्मान गरेको हो । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल र अर्थसचिव तोयम रायाले प्रमाणपत्रसहित निर्देशक मैनालीलाई सम्मान गरेका हुन् ।

भन्सार विभागकै सिफारिसका आधारमा चेम्बरले निर्देशक मैनालीलाई सम्मान गरेको हो । अर्थमन्त्रालयमा लामो समय काम गरेका मैनालीले यसअघि रसुवा भन्सार प्रमुखका रुपमा काम गरेका थिए । अर्थमन्त्रालयले भ्याट प्रणाली लागू गर्न उनको योगदान छ । सम्मान कार्यक्रममा चेम्बरका अध्यक्ष मल्लले आयात निरुत्साहित र निर्यात प्रवर्द्धन हुनेगरी व्यापार सहजीकरण हुनुपर्ने बताए ।

भन्सारमा सन्दर्भ मूल्य भन्दा पनि कारोबार मूल्यलाई मान्यता दिनुपर्ने भन्दै भन्सार प्रशासन सुधार गरेमात्रै राजस्वमा सुधार आउने मल्लको भनाइ थियो । अध्यक्ष मल्लले बिल बिजक लिने–दिने कार्यलाई बाध्यकारी बनाउनुपर्नेमा जोड दिए । करको दर नभई दायरा बढाएर राजस्वको लक्ष्य पूरा गर्नुपर्ने उनको सुझाव छ ।

सरकारी नीति एकद्वार हुन नसक्दा व्यवसायीले अनावश्यक दुःख पाइरहेका भन्दै उनले भन्सार प्रशासनमा पनि डिजिटल प्रणालीको व्यवस्था गर्नुपर्ने बताए । कार्यक्रममा अर्थसचिव रायाले भन्सार नाकाहरूमा कारोबार मूल्यलाई कायम गर्न समस्या नरहेको बताउँदै मुलुक विश्व व्यापार संगठनको सदस्य भइसकेको अवस्थामा सोहीअनुसारको अन्तर्राष्ट्रिय मूल्यमान्यतालाई कायम गरिएको बताए ।

भन्सार सुधारको आवश्यकता आफूलाई पनि महसुस भएको रायाको भनाइ थियो । भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले भन्सार नाकाहरूबाट व्यापार सहजीकरणका लागि काम भइरहेको बताए। यसका लागि विभागले डिजिटलाइजेसन प्रणाली भित्र्याउने गृहकार्य गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्