निर्धन उत्थान लघुवित्त पनि एनपीएसमा आबद्ध

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आफ्नो भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गरेको छ ।
सो सम्बन्धी सम्झौतापत्रमा निर्धन उत्थान लघुवित्तका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्त र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी नेशनल पेमेन्ट स्वीचअन्तर्गतका विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ ।
यसअन्तर्गत लघुवित्तले एसीएचएल आइपीएस र आरपीएस/कनेक्ट आइपीएस प्रणालीमार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलनलगायतका विभिन्न करोबार तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानीसहितका विभिन्न कारोबा लाभग्राहीका बैंक खाताबीच सोझै गर्न सक्ने बताइएको छ ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआइमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थालगायतका ८० गैरबैंकिङ संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।