हवाई दुर्घटना र उठेको प्रश्न «

हवाई दुर्घटना र उठेको प्रश्न

नेपाल वायुसेवा निगमले सन् १९५८ मा पटनाबाट काठमाडौँको गौचरनमा उतारेको २८ सिटर डिसी–३ डकोटा जहाजबाट सुरु भएको औपचारिक यात्रा हवाई सेवाले ६५ वर्ष नाघिसकेको छ । ६ दशकभन्दा बढीको यात्रामा जहाज चढ्ने सौभाग्य धेरै नेपालीले पाएका छन् ।

हालसम्म आइपुग्दा देशमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल गरी तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन् । यसै क्रममा सर्वोच्चको पछिल्लो आदेशबमोजिम निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लागेको छ । हाम्रो देशमा तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित करिब ३४ वटा विमानस्थल सञ्चालन रहेका छन् भने १९ वटा विमानस्थल सञ्चालनमा आएका छैनन् ।

विश्वका धेरै हवाई दुर्घटना हुने मुलुकहरूमा नेपाल पनि पर्छ । सन् १९५५ देखि २०२३ सम्म आउँदा ६७ वर्षमा नेपाली भूमिमा ठूलो धनजन नोक्सान भइसकेको तथ्य स्पष्ट हुन जान्छ । गत माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्स विमान दुर्घटनामा परी चालक दलका चारसहित ७२ जना यात्रुको मृत्यु भएको थियो । यो दुर्घटनासहित ६७ वर्षयता नेपालमा १ सय ९ वटा हवाई दुर्घटना भएका छन् भने त्यसमा ९ सय ३९ जनाले ज्यान गुमाइसकेका छन् ।

गत जेठ १५ गते जोमसोमका लागि १९ जना यात्रु बोकेर पोखराबाट उडेको तारा एयरको ट्विनअटर विमान घटना यती समूहको २४ वर्षयता भएको १३ औं हवाई दुर्घटना हो । दुईवटा ट्विनअटर विमानबाट वि.सं. ०५५ जेठमा स्थापना भएको यती एयरलाइन्सले २४ वर्षयता आफ्ना दुई जना सञ्चालक दाजुभाइसहित १३ वटा हवाई दुर्घटनामा चालक दलका सदस्य र यात्रुहरूसहित ९७ जनाले ज्यान गुमाएका थिए ।

यसै क्रममा वि.सं. ०४१ सालयता ट्विनअटर दुर्घटनामा मात्रै १ सय ८६ जनाले ज्यान गुमाइसकेका छन् । मुस्ताङ क्षेत्रमा भएको ताराको यो दोस्रो ठूलो दुर्घटना हो । यसको साथै सात वर्षअघि ताराले आधुनिक ब्रान्ड–न्यू ट्विनअटर म्याग्दीको दानामा दुर्घटना हुँदा चालकदलसहित २३ जनाको मृत्यु भएको थियो । यस कम्पनीले बेहोरेको १३ वटा हवाई दुर्घटनामा जेठ १५ गते मुस्ताङको सानोसरे भीरमा भएको दोस्रो ठूलो दुर्घटना हो ।

यसरी नै विमानमा पाइलट, को–पाइलट र क्याबिन क्रू गरी चार जना चालक दलका सदस्य थिए । यसका साथसाथै सन् २०१६ फागुन १२ गते म्याग्दीको सोलीस्थित घोप्टेमा तारा एयरलाइन्सको विमान दुर्घटना हुँदा विमानमा सवार चालक दलका सदस्यसहित २३ जनाको ज्यान गयो । एउटा विमान दुर्घटना भएको दुई दिनपछि गत सन् २०१६ फागुन १४ गते कालीकोटमा फेरि अर्को काष्ठमण्डप एयरलाइन्सको जहाजमा नौ जना सवारमध्ये दुई जना चालक दलको मृत्यु भयो ।

हाम्रो देशको सीमाभित्र पहिलो पटक कालिंगा एयरको विमान सन् १९५५ मा सिमरा विमानस्थलमा दुर्घटना भयो । दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो । जुन नेपालको इतिहासमा पहिलो हवाई घटना मानिन्छ । त्यसको एक वर्षमै सन् १९५६ मा इन्डियन एयरलाइन्सको विमान काठमाडौंमा दुर्घटना हुँदा १४ को ज्यान गुमाउनुपरेको थियो भने सोही एयरलाइन्सको विमान सन् १९५८ मा टीकाभैरवमा दुर्घटना हुँदा २० जनाको मृत्यु हुन पुग्यो ।

यस्तै नेपाल एयरलाइन्सको विमान सन् १९६० मा भैरहवामा दुर्घटना हुँदा ४ जनाले ज्यान गुमाए । यस्तै नेपाल एयरलाइन्सकै विमान सन् १९६२ मा ढोरपाटनमा दुर्घटना भयो, जुन घटनामा परी १० जनाको मृत्यु भयो । सोही कम्पनीको विमान सोही स्थानमा फेरि त्यही वर्ष दुर्घटना भयो, जसमा ६ जनाको निधन भएको तथ्यांक छ । त्यसै गरी सन् १९६९ मा नेपाल एयरलाइन्सको विमान बतासेडाँडामा दुर्घटना हुँदा ३५ जनाको ज्यान गयो ।

यसैगरी सन् १९७० मा नेपाल एयरलाइन्सको विमान दिल्लीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भयो । सोही वर्ष रोयल फ्लाइट जोमसोममा दुर्घटना भयो, जसमा एक जनाको मृत्यु भएको थियो । यस्तै सन् १९७२ मा रोयल फ्लाइट धुलिखेलमा दुर्घटना हुँदा ३१ जनाको मृत्यु भयो । यसैगरी सन् १९७५ मा नेपाल एयरलाइन्सकै विमान काठमाडौको बौद्धमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गयो भने त्यसको एक वर्षपछि नेपाल एयरलाइन्सको विमान मेघौलीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो ।

त्यसैगरी सन् १९७९ मा भिभिआइपी लाङलाङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो । त्यसरी नै विराटनगरमा सन् १९८१ मा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भयो भने सोही एयरलाइन्सको विमान सन् १९८४ मा भोजपुरमा दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाए । सन् १९८५ मा नेपाल आर्मी सवार विमान दुर्घटना भयो । जसमा २५ जनाको ज्यान गयो ।

सन् १९९२ मा थाई एयरको विमान घाङ्फेदीमा दुर्घटना हुँदा त्यसमा सवार १ सय १३ जनाको मृत्यु भयो भने सोही वर्ष पिआइएको विमान भट्टेडाँडामा दुर्घटना हुँदा १ सय ६७ जनाको ज्यान गयो, नेपाली आकाशमा भएको सबैभन्दा ठूलो दुर्घटना थियो । यसरी नै नेपाल एयरलाइन्सको विमान काठमाडौंमा दुर्घटना भयो, जसमा २ जनाको मृत्यु भयो । यसैगरी एभरेस्ट विमान सिङ्गापुरमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो ।

सन् १९९५ मा भने त्यसको दुई वर्षपछि कर्णाली एयरको विमान सोलुखुम्बुमा दुर्घटना हुँदा हवाई दुर्घटनामा मृतकको संख्या एक थपियो । सन् १९९८ मा एटिएससी लुम्बिनी विमान म्याग्दीमा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाउनुपर्‍यो भने सोही वर्ष एसियन एयरको विमान सोलुखुम्बुमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भयो । सन् १९९८ मा नै एनएसीको विमान सोलुखुम्बुमा दुर्घटना हुँदा एक जनाले निधन भयो ।

सन् १९९९ मा नोकेन एयरको विमान जुम्लामा दुर्घटना हुँदा पाँच जना र लुफ्थासा एयरको विमान भसुमासुर डाँडामा दुर्घटना हुँदा पाँच जनाको नै मृत्यु भयो । सन् १९९९ मा नै नेकोन एयरको विमान रामकोटमा दुर्घटना हुँदा १५ र सोही वर्ष स्काईलाइनको विमान मकवानपुरमा दुर्घटना हुँदा १० जनाको ज्यान गयो । यसरी नेपाली आकाशमा हवाई दुर्घटना हुने क्रम जारी नै रह्यो ।

नेपाल एयरलाइन्सको विमान सन् २००० मा डँडेलधुरामा दुर्घटना भयो, जसमा पनि विमानमा सवार २५ जनाको ज्यान गयो । त्यसको एक वर्षपछि फिस्टेल एयरको विमान रारातालमा खस्दा चार जनाको मृत्यु भयो । सन् २००२ मा स्काईलाइनको विमान फेरि सुर्खेतमा दुर्घटना भयो, जसमा सवार चार जनाको मृत्यु भयो भने सोही वर्ष कास्कीमा भएको सांग्रिला एयरको विमान दुर्घटनामा परी १८ जनाको मृत्यु भयो ।

सन् २००३ मा एभरेस्ट बेसक्याम्पमा भएको सिम्रिक एयरको विमान दुर्घटनामा दुई जनाले ज्यान गुमाए । सन् २००४ मा लम्जुङमा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा तीन जनाको ज्यान गयो भने रामेछापमा सन् २००५ मा एयर डाइनेस्टिकको विमान दुर्घटनामा पनि तीन जनाको नै मृत्यु भयो । जुम्लामा यती एयरलाइन्सको विमान सन् २००६ मा दुर्घटना हुँदा नौ जनाको मृत्यु भयो भने सोही वर्ष श्री एयरलाइन्सको विमान ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा २४ जनाको घटनास्थलमै ज्यान गयो ।

यसैगरी सन् २००८ मा अनमिनको विमान रामेछापमा दुर्घटनामा पर्दा त्यसमा सवार १० जनाको ज्यान गयो भने त्यही वर्ष लुक्लामा यती एयरलाइन्सको विमान दुर्घटनामा परी १९ जनाले ज्यान गुमाउनुपर्‍यो । सन् २००९ भने नेपाली आकाश हवाई यात्राका लागि सुरक्षित रह्यो । तर, ०१० मा भने दुईवटा हवाई दुर्घटना भए, जसमा मकवानपुरमा भएको अग्नि एयरको विमान दुर्घटनामा १४ जनाको मृत्यु भयो भने खोटाङबाट काठमाडौंका लागि उडेको तारा एयरको विमान बीच बाटैमा दुर्घटना हुँदा २२ जनाले अकालमै ज्यान गुमाउनुपर्‍यो ।

सन् २०११ मा बुद्ध एयरको विमान ललितपुरमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भयो भने सोही वर्ष तारा एयरको विमान ओखलढुङ्गामा दुर्घटना हुँदा २२ जनाको मृत्यु भयो । त्यसै गरी सन् २०१२ मा अग्नि एयरको विमान जोमसोममा दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाउनुपरेको थियो भने सोही वर्ष अर्को सीता एयरलाइन्सको विमान भक्तपुरमा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो ।

त्यस्तै गरी सन् २०१४ मा भने नेपाल एयरलाइन्सको विमान अर्घाखाँचीमो दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने सन् २०१६ मा आएर तारा एयरको विमान म्याग्दीमा २३ जानाले मृत्यु भयो । यसरी एकपछि अर्को गर्दै नेपालमा हवाई दुर्घटना हुँदा नेपालको हवाई सुरक्षा धेरै कमजोर रहेको विश्व समुदायमा सन्देश गएको छ ।

हालै ६८ जना यात्रु र चालक दलका ४ सदस्य सवार काठमाडौँबाट उडेको यती एयरलाइन्सको विमान पोखरामा भएको दुर्घटनाले नेपाली उड्डयन क्षेत्र थप तरङ्गित भएको छ । पछिल्लो समय विमान दुर्घटना र मानवीय क्षतिको ग्राफ बढ्दो छ । छोटो अन्तरालमा घटिरहेका यी हवाई दुर्घटनाहरूले आमनेपालीमा हवाईयात्राको सुरक्षालाई लिएर निकै चासो र चिन्ता बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्