देउखुरीमा महोत्सव सुरू

दाङ देउखुरीको लमहीमा बिहीबारदेखि छैंठौ देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सव २०७९ सुरू भएको छ । ‘कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार’ भन्ने मूल नाराका साथ देउखुरी उद्योग वाणिज्य संघ लमहीको आयोजनामा महोत्सव सुरू भएको हो । महोत्सव १२ माघदेखि २५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यले गरेका हुन् ।
महोत्सवको उद्घाटन गर्दै मन्त्री आचार्यले बिग्रँदो अर्थतन्त्रलाई सुधार गर्न सरकारले प्रयास गरिरहेको बताए । २०७२ सालको भूकम्प र कोरोनाका कारणले तरल अवस्थाको अर्थतन्त्रलाई सुधार गर्न सरकार अघि बढेको उनको भनाइ छ । उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्न नसके आर्थिक समृद्धि हासिल गर्न नसकिने समेत उनको भनाइ छ ।
मन्त्री आचार्यले देउखरीमा प्रदेश राजधानी आएसँगै यो क्षेत्रको विकासले गति लिने लिएको बताउँदै विकसित राजधानी अभियानमा लुम्बिनी प्रदेश सरकार अघि बढेको बताए । लुम्बिनी प्रदेशका निर्वतमान प्रदेश सभा सदस्य रेवतीरमण शर्माले राज्यका संयन्त्रहरू परिचालन गरी कृषि उत्पादनलाई बजारीकरण गर्नुपर्ने बताए ।
लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले लमही नगरपालिका क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न मेला महोत्सवले सहयोग पुग्ने बताए । लमही नगरपालिकाका निर्वतमान नगर प्रमुख कुलबहादुर केसीले मेला महोत्सवमा स्थानीय पालिकामा उत्पादित वस्तुलाई प्राथमिकता दिनुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जम्शेर अलि मियाँ देउखुरी अन्नको भण्डार भए पनि किसानले समयमा बिउ, मलखाद नपाउने र बजारको समस्या भएकोले किसानका समस्या सम्बोधन गर्न स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदीले अर्थतन्त्र शिथिल हुँदा व्यवासायी धरासाय बन्दै गएको बताए ।
चर्को व्याजदरले व्यवसायी मारमा परेको र आत्महत्यासम्मको स्थिति सिर्जना भएको भन्दै राज्यले ध्यान दिनुपर्ने बताए । कार्यक्रम सुरू हुनु अघि विभिन्न जातजातिको झाँकीले लमही बजार परिक्रम गरेको थियो । महोत्सवमा स्थानीय कृषि उत्पादनको बजारीकरण, खस्कँदो व्यापारको पुनरुत्थान र पर्यटन विकासमा टेवा पुर्याउनका लागि महोत्सवको आयोजना गरिएको बताएको छ ।
एक लाखभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । स्थानीयस्तरमा उपादित वस्तु तथा सेवालाई महोत्सवमा प्राथमिकता दिइने देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले बताएका छन् । महोत्सवमा कृषि, पर्यटन, उद्योग र व्यापारसँंग सम्बन्धित स्टल रहेका छन् ।