चालू खर्च घटाउन निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पुँजीगत खर्च बढाउन र चालू खर्च घटाउन निर्देशन दिएका छन् । मुख्यमन्त्री र मन्त्रीहरूमाझ बिहीबार पोखरामा प्रस्तुतः भएको मन्त्रालयगत ब्रिफिङमा मुख्यमन्त्री अधिकारीले अनावश्यक चालू खर्च घटाई पुँजीगत बजेट र खर्चको बढोत्तरीमा लाग्न निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री अधिकारीले प्रदेशमा सुशासन कायम गर्न भाषण र नारामा सीमित नराखी काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिए । त्यसैगरी आर्थिक ऐन, नियम तथा कार्यविधिको पूर्णपालना गरी पुराना बेरुजु फस्र्योट गर्न एवम् नयाँ बेरुजु हुन नदिनेतर्फ विशेष पहल गर्न पनि अधिकारीले मन्त्री तथा सचिवहरूलाई निर्देशन दिए ।
प्रदेश गौरवका आयोजना सम्पन्न गराउन तदारुकताका साथ काम गर्न सबै जिम्मेवारीका साथ लाग्न उनले आग्रह गरे । उनले भने, “नेपालको संविधानको भावनाअनुसार जनताको सर्वोपरिहित सम्बोधन हुनेगरी प्रदेश सरकार सञ्चालन गर्ने विषयमा गण्डकी प्रदेश सरकारले नेतृत्वदायी र उदाहरणीय काम गर्ने प्रयास गरेको छ, यसमा हामी सबै जिम्मेवाररूपमा प्रस्तुत हुन सक्नुपर्दछ ।”
प्रदेश सरकारलाई मितव्ययी र प्रभावकारी बनाउन छरितो संरचना बनाउने निर्णय भइसकेको उल्लेख गर्दै मुख्यमन्त्री अधिकारीले मन्त्रालय र कार्यालयले वस्तुनिष्ठ संगठन संरचना निर्माण गर्न आग्रह गरे । प्रमुख सचिवको अध्यक्षतामा गठित संगठन तथा व्यवस्थापन समितिलाई सहयोग गर्नुहुन अनुरोध गर्दै जग्गा प्राप्तिको समस्याले रोकिएका आयोजना तथा कार्यक्रमहरू केके छन् र तीनको सम्भाव्यता छ कि छैन बुझ्न उनले आग्रह गरे ।
प्रदेशलाई माथि उठाउन आवश्यक सल्लाह सुझाव दिन आग्रह गर्दै मुख्यमन्त्री अधिकारीले विकास आयोजनाहरूलाई गरिबी हटाउँदै समृद्धिको आधारको रूपमा सञ्चालन गर्न आयोजनाको प्राथमिकीकरण गरी तहगत सरकारका आयोजना र कार्यक्रमसँग दोहोरोपना नुहने गरी मात्र कार्य अगाडि बढाउन सबै मन्त्रालयलाई निर्देशन दिए ।