अयोध्या पठाइयो कालिगण्डकीको शिला «

अयोध्या पठाइयो कालिगण्डकीको शिला

विश्वमै दुर्लभ शालीग्राम पाइने एकमात्र कालिगण्डकी नदीको दुई थान शिला भारतको अयोध्या पठाइएको छ । भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राख्ने रामललाको मूर्ति निर्माण गर्नका लागि बिहीबार दुई थान शिलालाई गलेश्वर मन्दिरबाट पूजाआजा गरेर पठाइएको हो । बुधबार क्रेनबाट दुई शिलालाई ट्रकमा राखेर प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा लगिएको थियो ।

बिहीबार गलेश्वर शिवालय मन्दिर परिसरमा राखिएको शिलालाई गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारी, बेनी नगरपालिका मेयर सुरत केसी र गलेश्वर मन्दिरका अध्यक्ष माधवप्रसाद रेग्मीले विधिवत पूजाआजा गरेर बाजागाजासहित शोभायात्रामाफर्त् बजार परिक्रमा गराएर शिलालाई पठाइएको हो । अयोध्यामा निर्माणाधीन राम मन्दिरमा भगवान रामको बाल अवतारको मुख्य मूर्ति बनाएर राख्नका लागि भूगर्भविद्, शिलाविद्, प्राविधिक र विज्ञसमेतको टोलीले नगरपालिका–६ ठूलो पहिरोस्थित कालिगण्डकीमा दुई थान शिला पहिचान गरेको थियो ।

बेनी नगरपालिका मेयर सुरत केसीले पवित्र कालिगण्डकी नदीबाट धेरै लामो समय टिक्ने शिला पहिचान गरेर २६ टन र १४ टनका दुई थान शिलालाई बेनी नगरपालिकाले गण्डकी प्रदेश सरकार र गण्डकी प्रदेश सरकारले दुई नम्बर प्रदेशको जानकी मन्दिरलाई हस्तान्तरण गर्दै जानकी मन्दीरले अध्योध्यालाई हस्तान्तरण गरिने प्रक्रिया रहेको बताए । पवित्र कालिगण्डकीको शिला हस्तान्तरणले गलेश्वर मन्दिरको महत्व थप बलियो बनाउँदै धार्मिक पर्यटन विकास गर्न सहयोग पुग्ने मेयर केसीले भने ।

दुई थान शिला लिन आएका अयोध्यास्थित राम मन्दिर निर्माण समितिका सचिव राजेनसिंह पंकजले कालिगण्डकीको शिला भगवान विष्णुको अवतार भएको र रामको बाल अवतारको स्थापनाका लागि पवित्र कालिगण्डकीको शिला लैजान लागिएको बताए । पंकजले नेपालको कालिगण्डकीबाट भगवान रामको मूर्ति बनाउने शिला उपहार पाएका छौं, यसले नेपाल र भारतको सांस्कृतिक सम्बन्ध बलियो हुने धारणा व्यक्त गरे । अयोध्या, जानकी र समग्र कालिगण्डकी क्षेत्रको धार्मिक र सांस्कृतिक सम्बन्धलाई विश्वमा चिनाउन यस शालिग्रामले धर्मदूतको काम गर्ने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारीले पवित्र कालिगण्डकीको दुई थान शालिग्राम हस्तान्तरणले नेपाल–भारतबीचको सामाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्ध थप उचाइमा पुर्‍याउन सहयोग पुग्ने बताए । पौराणिक रूपमै नेपाल र भारतबीचको सम्बन्ध रहेको अवस्थामा कालिगण्डकीको शिला मुख्य मूर्तिका रूपमा राख्न लैजानुले नेपाल र भारतबीच धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने र कालिगण्डकी नदी र गलेश्वर मन्दिरको महिमा विश्वमा बढाउन सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्