कर्णाली प्रदेश अस्पतालबाटै मिर्गौला प्रत्यारोपण हुने

कर्णाली प्रादेशिक अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । अस्पतालले मिर्गौला प्रत्यारोपणको सेवा यही हप्ताबाट सुरू गर्ने भएको जानकारी गराएको छ । यसअघि माघ महिनादेखि मिर्गौला प्रत्यारोपणका लागि सम्झौता भएको र त्यसैअनुसार सेवा विस्तार गरिएको अस्पतालका निर्देशक प्रा. डा. डम्बर खड्काले जानकारी दिए ।
निर्देशक डा. खड्काले आर्थिक वर्षमा मिर्गौला प्रत्यारोपण सेवा, क्याथ ल्याब स्थापनाका साथै एमआरआई मेसिन जडान गर्नेजस्ता लक्ष्य पूरा गरेको बताए । यस्तै, डाक्टर खड्काले आगामी तीन वर्षभित्र भवनको तला थपका लागि बहुवर्षे ठेक्का प्रक्रिया सुरु भएको, पाँच सय शैयाको अस्पताल सञ्चालन, बाल अस्पतालको निर्माण र सञ्चालन गर्ने योजना रहेको उनले बताए ।
अस्पतालले आर्थिक वर्ष २०७८/०७९ र आर्थिक वर्ष २०७९/०८० मा गरेको प्रगति विवरणसमेत सार्वजनिक गरेको छ । यस्तै, कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल)का रूपमा स्तरोन्नतिका लागि छलफल गरेको छ । जसका लागि कर्णालीको सामाजिक विकास मन्त्रालयले अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको छ ।
हाल २ सय ९७ शैयाको अस्पतालमा दैनिक औसत ४ सय ५ जना बिरामी भर्ना हुने तथ्यांक छ । कर्णालीमै अब सबै खालका सेवा पाइने भएपछि सर्वसाधारणमा भरोसा बढ्ने डाक्टर खड्काले बताए । अहिले ठूला खालका समस्य भएमा लुम्बिनी प्रदेशको नेपालगन्ज जानुपर्ने बाध्यता छ । यो अस्पतालको स्तरोन्नतिका लागि कर्णाली प्रदेश सरकारले लगानी गर्दै आएको छ । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पालादेखि प्रदेश अस्पतालमा लगानी गरी सेवा विस्तार, विकासको काम सुरु गरिएको थियो ।