पहिले तयारी त्यसपछि निर्माण «

पहिले तयारी त्यसपछि निर्माण

पूर्वाधार निर्माणका सवालमा मुलुक कछुवा गतिमा छ । तर, समयअनुसार सुस्त गतिमा भने पूर्वाधार बनिरहेका र बन्दै छन् । विकसित मुलुकहरूबीच समुद्रमा कति लामो पुल बनाउने भन्ने प्रतिस्पर्धा छ । सर्वसाधारणले कल्पना नै नगरेका पूर्वाधारहरू निर्माण भइरहेका छन् । समुद्रमुनि चौडा सडक बनाएर सञ्चालन गरेको विषय धेरै पुरानो भइसकेको छ । पछिल्लो समय उत्तरी छिमेकी चीनले गौरव गर्न लायक पूर्वाधार निर्माण गरिरहेको छ ।

अर्को छिमेकी भारत पनि बिस्तारै प्रतिस्पर्धामा छ । बंगलादेशजस्तो मुलुकले समेत समुद्रमा पुल बनाएर राष्ट्र पूर्वाधारको विकासमा अगाडि जाँदै गरेको सन्देश दिन सफल भएको छ । तर, हामी बल्ल सडकमा पहिलो फ्लाइओभर र सुरुङमार्ग बनाउने तयारीमा छौं । मुलुकको पहिलो सुरुङमार्ग राजधानी काठमाडौं र धादिङ जिल्लालाई जोड्ने गरी नागढुंगाबाट निर्माण हुँदै छ । यस्तै राजधानीमा नै पहिलो फ्लाइओभर ब्रिज बनाउन सरकारले तयारी गरेको छ ।

ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर ब्रिजको निर्माण आगामी फागुनबाट सुरु गर्ने भनिएको छ । ईपीसी (इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन) मोडलमा लगाएको ठेक्का आरसी, समानान्तर र रेलिग्रे कम्पनीले पाएका छन् । फ्लाइओभर पुल निर्माणमा १७ करोड ६८ लाख रुपैयाँ लगानी हुँदै छ । यसको निर्माण आगामी १४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

फ्लाइओभरको लम्बाइ ४ सय ९० मिटर हुनेछ । यो फ्लाइओभरमा बालकुमारीतर्फबाट २ सय ८० मिटर लामो र सातदोबाटोतर्फबाट १ सय ७५ मिटर लामो र्‍याम निर्माण गरिनेछ भने उचाइ ६ मिटरको हुनेछ । अहिले रिङरोडमा बनेको ८ लेनमध्ये ४ लेनलाई उठाएर फ्लाइओभर निर्माण गरिने छ ।

आयोजनाका लागि लाग्ने स्रोत, डिजाइन, वातावरणीय मूल्यांकन, जग्गा अधिग्रहणलगायतका सम्पूर्ण विषय तयारी गरेपछि मात्र आयोजना बनाउने विषय अगाडि सार्नुपर्ने हो । तर, कुन दल र कुन मन्त्रीले श्रेय लिने भन्ने होडमा आवश्यक अध्ययन र तयारी नगरी आयोजना बनाउने घोषणा गरिँदै आएको छ ।

एकान्तकुना र सातदोबाटोमा पनि फ्लाइओभर निर्माण गरी कलंकी–कोटेश्वर खण्डलाई सवारीको चापमुक्त क्षेत्र बनाउने सरकारको तयारी छ । सरकारले पहिले यो फ्लाइओभर ब्रिज निर्माण माघबाट सुरु गर्ने भनेको थियो । तर, डिजाइन स्वीकृत हुन समय लागेको भन्दै निर्माण कार्य एक महिनापछि धकेलिएको छ । हाम्रोमा पहिले आयोजना बनाउने घोषणा गर्ने र पछि मात्र अरू काम गर्ने प्रचलन छ । यो उल्टो प्रचलन हो ।

सरकारले कुनै पनि आयोजना बनाउने घोषणा गर्नुअघि यसका लागि आवश्यक सबै तयारी पूरा गरेको हुनुपर्छ । आयोजनाका लागि लाग्ने स्रोत, डिजाइन, वातावरणीय मूल्यांकन, जग्गा अधिग्रहणलगायतका सम्पूर्ण विषय तयारी गरेपछि मात्र आयोजना बनाउने विषय अगाडि सार्नुपर्ने हो । तर, कुन दल र कुन मन्त्रीले श्रेय लिने भन्ने होडमा आवश्यक अध्ययन र तयारी नगरी आयोजना बनाउने घोषणा गरिँदै आएको छ ।

हाम्रा आयोजना समयमा सम्पन्न नहुनुमा यो पनि प्रमुखमध्येको एक कारण हो । सरकारले बजेट ल्याउँदा वा अन्य किसिमले आयोजना बनाउने घोषणा गरेपछि मात्र यसका लागि आवश्यक स्रोत खोज्न सुरु गरिन्छ । स्रोत जुटाउनेदेखि अन्य सबै तयारी गर्दा नै आयोजना बनाउने समय गइसकेको हुन्छ । यो मात्र होइन, राजनीतिक दलहरूले पूर्वाधार निर्माणको श्रेय लिने नाममा १० औं पटक आयोजना शिलान्यास गर्ने र पूरा नभई उद्घाटन गर्ने पनि गरिँदै आएको छ ।

यस्तो रवैयाले पूर्वाधार निर्माण माथि होइन, झनै खस्कँदै जानेछ । अहिले भइरहेको पनि त्यही हो । ललितपुरको ग्वार्कोमा बनाउने भनिएको फ्लाइओभरको समस्या पनि यही नै हो । यहाँ फ्लाइओभर बनाउने भन्ने हल्ला धेरै अगाडि चलेको थियो । यो वर्षको बजेटमा समेत यसलाई समावेश गरिएको छ । तर, अहिलेसम्म यसको डिजाइन पूर्ण भएको छैन । पुल निर्माण कम्पनीले अहिले बल्ल डिजाइन प्रस्तुत गर्दै छ र सरकारी निकायले हेर्ने काम चल्दै छ ।

यो मुलुककै पहिलो फ्लाइओभर ब्रिज भएकाले सरकारी निकायका प्राविधिकहरूमा यस्तो पुल बनाएको अनुभव छैन । उनीहरूमा सैद्धान्तिक ज्ञान होला, तर व्यावहारिक अनुभव नभएपछि जोकोही पनि निर्णय दिन हच्किन्छ । यो आयोजनामा पनि यस्ता समस्या आउनेछन् । सरकारी प्राविधिकको रेखदेखमा मुलुकभर सडक सञ्जाल र पुल निर्माण हुँदै आएको छ । तर, केही आधुनिक खालका सडक र पुल बनाउन खोजिए त्यसको इस्टिमेटदेखि डिजाइनसम्मलाई स्वीकृत गर्ने काम नेपाली प्राविधिकहरूले गर्न सकेका छैनन् ।

यसमा सबै विदेशीको सहयोग लिनुपर्ने अवस्था विद्यमान छ । काठमाडौंको बिजुलीबजारमा बनेको आर्क ब्रिजको डिजाइन नेपाली प्राविधिकले तयार गरे पनि त्यसलाई बंगलादेशका प्राविधिकहरूले स्वीकृत गर्नुपरेको थियो । यो तीतो यथार्थ अझै पनि छ । अर्कातिर डिजाइन बनेर निर्माण सुरु भएपछि त्यसमा गरिने परिवर्तन पनि समस्याका रूपमा देखिँदै आएको छ ।

कतिपय खोला वा नदीमा पुल बनाउन एउटा पिल्लर तयार भएपछि अर्को बनाउन नमिलेर पूरै डिजाइन परिवर्तन गर्नुपरेका उदाहरण मुलकभर छरिएका छन् । ग्वार्कोको पुल निर्माण पनि नयाँ भएकाले यसको निर्माणका चरणमा पनि यस्ता समस्या नआउलान् भन्न सकिने अवस्था छैन । सरकारले समयमा आयोजना पूरा गर्ने हो भने यस्ता यावत् विषयमा पहिलो ध्यान दिनु आवश्यक छ ।

यस्तै आयोजना निर्माण भएपछि नयाँ संरचना थप्नुभन्दा निर्माणकै क्रममा यस्ता संरचना बनाउनु बुद्धिमानी हुन्छ । पछि बनाउँदा खर्च, समय र अन्य समस्या पनि थपिने गर्छन् । रिङरोड फराकिलो बनाउने क्रममा नै कलंकीमा अन्डरपास बनाइएको थियो । त्यस्तै आवश्यक पर्ने अन्य स्थानमा पनि अन्डरपास वा फ्लाइओभर ब्रिज बनाएको भए अहिले समस्या आउने थिएन । त्यसैले रिङरोडलाई बाँकी भागमा फराकिलो बनाउँदा यस्ता संरचना सँगसँगै बनाउनु लागत र समयका दृष्टिले फाइदाजनक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्