हाजिर छैन, तलब सधैं «

हाजिर छैन, तलब सधैं

जुनीचाँदे गाउँपालिकामा कार्यरत केही कर्मचारीले कार्यालयमा नआएर तलब–भत्ता बुझ्ने गरेको खुलासा भएको छ । अधिकांश स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले नेपालगन्ज, सुर्खेत बसेर गाउँपालिकाबाट तलब–भत्ता बुझ्ने गरेको पाइएको हो । जुनीचाँदे गाउँपालिकाको आधारभूत स्वास्थ्य इकाइ दह करुवामा कार्यरत अहेव सुवास शाही गएको मंसिर २९ गतेदेखि कार्यालयमा छैनन् ।

उनी अध्ययनका लागि दुई महिनादेखि काठमाडौंमा छन् । काठमाडौं बसे पनि नियमित रुपमा उनले गाउँपालिकाबाट तलब–भत्ता खाँदै आएका छन् । गएको साउन महिनादेखि अहिलेसम्म कार्यालयमा नियमित छैनन् । पछिल्लो पटक मंसिर महिनामा स्वास्थ्य कार्यालय आएका उनी हाजिर गरेर गएको स्वास्थ्यकर्मीहरू नै बताउँछन् । मंसिरपछि उनी कार्यालयमा फर्किएका छैनन् ।

हाजिरी रजिष्टरमा २०७९ मंसिर २९ गतेसम्म हाजिर गरेका छन् । तर, पालिकाले शाहीलाई पुस महिनासम्मको तलब–भत्ता बुझाएको छ । कार्यालयले हाजिर प्रमाणित भएर तलब निकासा दिने गरेको छ । स्थानीयका अनुसार शाहीको आधा तलब कार्यालयका पावरवाला व्यक्तिले लिन्छन् । कार्यालयकै मिलेमतोमा शाहीले काठमाडौंमा बसेको र गाउँपालिकाबाट सेवा सुविधा लिँदै आएको जनप्रतिनिधिहरू बताउँछन् ।

जुनीचाँदे गाउँपालिकाको सामुदायिक इकाइ स्यालागाउँमा कार्यरत जीवनसागर शाही र कृष्ण शाही पनि लामो समयदेखि सुर्खेतमा छन् । दुवैजना अध्ययनका लागि सुर्खेत झरेका हुन् । उनीहरूलाई पनि स्वास्थ्य शाखाले सुटुक्क अध्ययनका लागि सुर्खेत पठाएको हो । उनीहरूले गएको साउनदेखि कार्यालयमा हाजिर गरेका छैनन् । हाजिर नगरे पनि नियमित रुपमा सेवासुविधा लिँदै आएका छन् ।

सोही गाउँपालिकाको डाँडाकोट स्वास्थ्य शाखाका डा. हरिबहादुर शाही पनि सुर्खेत पुगेका छन् । उनलाई पनि स्वास्थ्य शाखाले नै अध्ययनका लागि बाहिर पठाएको हो । सुर्खेत बसेर पढे पनि स्वास्थ्यकर्मी शाहीले गाउँपालिकाबाट नियमित रुपमा तलब–भत्ता खाँदै आएको गाउँपालिका स्रोतले जनाएको छ । उल्लेखित घटना केही प्रतिनिधिमात्रै हुन् । जुनीचाँदेका पावरवाला अधिकांश कर्मचारी सुर्खेत, काठमाडौंलगायत सहरमा छन् ।

अध्ययनका लागि सहर पसेका कर्मचारीले गाउँपालिकाबाट नियमित तलब–भत्ता लिँदै आएको गाउँपालिका स्रोतले बताएको छ । जनप्रतिनिधि र सम्बन्धित शाखा प्रमुखसँग राम्रो सम्बन्ध भएका करार कर्मचारीहरू अध्ययनका लागि सुर्खेत, काठमाडौं पुगेका हुन् । पावरवाला कर्मचारी वर्षको दुईदेखि चार पटकमात्र स्वास्थ्य संस्थामा पुग्ने गरेको गुनासो जनप्रतिनिधिहरू पोख्छन् ।

पालिकाका २२ वटा स्वास्थ्य संस्थामा करार स्वास्थ्यकर्मी ६६ जना छन् । तीमध्ये दर्जनौं कर्मचारीले काम नै नगरी गाउँपालिकाबाट तलब–भत्ता बुझ्ने गरेका हुन् । गाउँमै भएका केही कर्मचारी कार्यालय नियमित जाँदैनन्, केही कर्मचारी भने सुर्खेत, काठमाडौंमा बसेर अध्ययन गर्दै आएका छन् । नियमित कार्यालयमा नजाने कार्मचारीलाई भने गाउँपालिकाले नियमित रुपमा सेवासुविधा दिने गरेको जनप्रतिनिधि नै स्वीकार गर्छन् ।

यता स्वास्थ्य संस्थाहरूलाई चुस्तदुरुस्त बनाउनुपर्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर शाहीले भने कुनै कर्मचारी बिदामा वा अध्ययनमा नगएको दाबी गरेका छन् । केही कर्मचारी काजमा अन्यत्र गए पनि अध्ययन र बिदामा कुनै कर्मचारी नगएको उनले बताए । उनी आफैं गाउँपालिकाको कामको लागि भन्दै काठमाडौंमा छन् ।

स्वास्थ्य संस्थाको समग्र नेतृत्व स्वास्थ्य शाखा सहसंयोजक यज्ञेश्वर बस्नेतले हेर्दै आएका छन् । बस्नेत आफैंले सबै स्वास्थ्य संस्थामा पुगेर कर्मचारीको अवस्था अनुगमन गरेका थिए । उनी अनुगमनमा जाँदा अध्ययनका लागि पालिका बाहिर रहेका कर्मचारीहरू कार्यालयमा फर्किएका थिए । सोही समयमा कर्मचारीले एकैपटक महिना दिनको हाजिर गरेर फर्किएको जनप्रतिनिधि बताउँछन् ।

कर्मचारी उपस्थित भए/नभएको बारेमा जानकारी लिन खोज्दा कर्मचारीहरूले आफूलाई नटेर्ने जनप्रतिधि बताउँछन् । जुनीचाँदे गाउँपालिका–५ का वडाध्यक्ष जयबहादुर बस्नेत र ३ का अध्यक्ष जयबहादुर खड्काले कर्मचारीले आफूहरुलाई नटेरेको बताए । जानकारी नदिएर आफूखुसी कर्मचारी जहाँ मन लाग्यो, त्यही जाने गरेको उनीहरुको गुनासो छ ।

बिरामी बोक्ने एम्बुलेन्स नै बिरामी

जुनीचाँदे गाउँपालिकाले सञ्चालन गर्दै आएको बा १४ च ८९७२ नम्बरको एम्बुलेन्स सात महिनादेखि बन्द भएको छ । एम्बुलेन्समा समस्या आएपछि सात महिनादेखि काम नगर्ने भएको हो । सरकारी नम्बर प्लेटसमेत राखिएको उक्त एम्बुलेन्स बिग्रिएको सात महिनासम्म पनि सरोकारवाला निकाय मौन छ ।

गाउँपालिका अध्यक्ष वेदबहादुर शाहीले भने पुरानो एम्बुलेन्स खरिद गरेका कारण पटक–पटक बिग्रने गरेको बताए । एम्बुलेन्स खरिदमै घोटाला भएकोले तत्काल छानबिन गर्न पहल गर्ने उनले बताए । एम्बुलेन्स निकै पुरानो भएका कारण अब कवाडमा बिक्री गर्ने तयारी गरेको छ । यस्तै, ४ वर्षपहिले जिल्ला समन्वय समितिबाट गाउँपालिकाले ल्याएको गाडी पनि बिग्रेर थन्क्याइएको छ । सो गाडी सुर्खेतमा थन्किएको हो ।

प्रतिक्रिया दिनुहोस्