राजस्व नउठ्नुमा अवैध व्यापार जिम्मेवार «

राजस्व नउठ्नुमा अवैध व्यापार जिम्मेवार

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षमा राजस्व लक्ष्य पूरा नहुनुमा सरकारको नीतिलाई दोष दिएर भन्सार प्रशासन उम्कन नपाउने बताएका छन् । ७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पौडेलले सरकारले लगाएको आयात प्रतिबन्ध वा बजार मागमा कमी आएको कारण देखाएर जिम्मेवारीबाट राजस्व प्रशासन पन्छिन नमिल्ने बताएका हुन् ।

“कतिपय वस्तुमा आयात प्रतिबन्ध भयो भनेर भन्सारमा कमी आएको भनिन्छ र बजारमा डिमान्डमा कमी आउँदा पनि भन्सार राजस्वमा असर पर्‍यो भन्ने गरेको मैले सुनेको छु,” पौडेलले भने, “तर यो तर्कले हामी आफ्नो अभिभारा पूरा गर्ने जिम्मेवारीबाट उम्किन सक्दैनौं ।” अर्थमन्त्रीका अनुसार राजस्व परिचालनमा गत वर्षभन्दा पनि १६ प्रतिशतले न्यूनता हुनुमा यस्ता कुनै तर्कले ढाकछोप गर्न सक्ने अवस्था छैन । “हाम्रा विभिन्न तथ्यहरूले नै बताइरहेका छन् कि हाम्रा कमजोरीलाई यस्ता तर्कले जोगाउन सक्दैनौं,” उनले भने ।

भन्सार बिन्दुमा हुने बेठिक कर्महरू तथा भन्सार बिन्दुलाई छलेर हुने क्रियाकलापका कारण राजस्वमा कमी आएको मन्त्री पौडेलले बताए । उनले आफूलाई राजस्व प्रशासनका जानकारहरूले भन्सार बिन्दुमा अहिले पनि अनियमितताको ठूलो सञ्जाल रहेको जानकारी दिइरहेको उल्लेख गर्दै भने, “त्यस्तोखाले चेनलाई ब्रेक गर्न जरुरी छ र यसलाई ब्रेक नगरी राजस्व परिचालनको लक्ष्य पूरा हुन सक्दैन ।” भन्सार प्रशासनलाई कमजोरी सच्याएर अघि बढ्न सुझाव दिँदै उनले आगामी दिनमा भन्सार बिन्दु छलेर हुने कामप्रति सरकार कठोर हुने बताए ।

भन्सार विभागले आयोजना गरेको कार्यक्रममा पौडेलले भन्सार प्रशासनको समग्र पूर्वाधारलाई सूचना प्रविधिमैत्री बनाइने बताए । भन्सार क्षेत्रमा समस्या के हुन् र त्यसको समाधानका लागि के–कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्नेमा कर्मचारी नै जानकार रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले इमान्दार भएर काम गर्न निर्देशन दिए ।

प्राचीनकालदेखि राजस्व संकलन र वैदेशिक व्यापारलाई नियमन र सहजीकरण गर्दै आएको भन्सार प्रशासनलाई आधुनिकीकरण गर्दै कागजविहीन, नगद कारोबारविहीन र व्यक्तिगत तवरको सम्पर्करहित बनाउँदै प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकतामा उनले जोड दिए । मन्त्री पौडेलले उच्च सदाचारपूर्वक जनगुनासो नआउने गरी काम गर्न आग्रह गर्दै वैध व्यापारको प्रवर्द्धन र चुहावट नियन्त्रणमा प्रतिबद्ध भएर लाग्न भन्सार प्रशासनको ध्यानाकर्षण गराए ।

भन्सार प्रशासनको आधुनिकीकरण, विकास र प्रविधियुक्त कार्य प्रणालीले मात्रै व्यापार लागत घटाउन र व्यापार सहजीकरण गर्न सकिने उनको भनाइ छ । पौडेलले निजी क्षेत्रलाई पनि अनियमितताको प्रयास नगर्न तथा निजी क्षेत्रसँग समन्वयर सहकार्य गर्न भन्सार प्रशासनलाई आग्रह गरे । “राजस्वको अवस्था निकै नाजुक छ, आजैका दिनबाट राजस्वमा सुधार हुनेगरी काम गर्न अनुरोध गर्छु र निजी क्षेत्रलाई दुःख दिने काम नगर्नुस् भन्न चाहन्छु,” मन्त्री पौडेलले भने ।

कार्यक्रममा अर्थसचिव तोयम रायाले उद्योगी–व्यवसायीलाई जिम्मेवार र जवाफदेही ढंगले काम गर्न आग्रह गरे । भन्सारसम्बन्धी प्रक्रियाहरू पूर्ण रूपमा पालना गरी अगाडि बढ्नुपर्ने उनले बताए । यस्तै,भन्सार जाँचपासमा अझै सुधारको खाँचो रहेको बताउँदै अर्थसचिव रायाले सिस्टमलाई व्यवस्थित गर्नुपर्ने खाँचो औंल्याए ।

प्रतिक्रिया दिनुहोस्