विकास बैंकको पनि उच्च

वाणिज्य बैंकहरूको मात्रै नभएर विकास बैंकको पनि खराब कर्जा अत्यधिक रूपमा बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार उनीहरूको खराब कर्जा बढ्दो क्रममा छ । ग्रामीण विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका विकास बैंकहरूको खराब कर्जा बढ्नुमा पछिल्लो समय बढेको उच्च ब्याजदर रहेको बैंकरहरू बताउँछन् ।
ब्याजदर उच्च हुँदा तथा अर्थतन्त्रमा सुस्तता आउँदा साना तथा मझौला उद्यमी–व्यवसायीहरूको रोजीरोटीसमेत गुमेकाले कर्जा उठाउन धौधौ भएको एक बैंकरले बताए । गत आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणसँग अहिलेको विवरण तुलना गर्ने हो भने विकास बैंकहरूको खराब कर्जा दोब्बरले बढेको देखिन्छ । वित्तीय विवरण सार्वजनिक गरेका ‘ख’ वर्गका बैंकहरूमध्ये सबैभन्दा धेरै सिन्धु विकास बैंकको खराब कर्जा छ । यस बैंकले दोस्रो त्रैमाससम्ममा नाफा पनि आर्जन गर्न सकेन ।
वित्तीय विवरणअनुसार बैंक १ करोड ८७ लाख रुपैयाँ घाटामा छ । दोस्रो त्रैमाससम्ममा बैंकले ३ अर्ब ५५ करोड ९७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिसम्ममा बैंकको खराब कर्जा भने ४.९ प्रतिशत पुगेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा उक्त कर्जा २.६७ प्रतिशत थियो । सिन्धुपछि महालक्ष्मी विकास बैंकको खराब कर्जा उच्च छ । यस बैंकको खराब कर्जा चालू आवको दोस्रो त्रैमासमा ४.५७ प्रतिशत छ । गत आवको दोस्रो त्रैमाससम्ममा यस बैंकको खराब कर्जा २.८९ प्रतिशत थियो ।
महालक्ष्मीपछि कर्पोरेट डेभलपमेन्ट बैंकको खराब कर्जा उच्च देखिएको छ । चालू आवको दोस्रो त्रैमासमा यस बैंकको खराब कर्जा ४.५७ प्रतिशत छ । गत आवको दोस्रो त्रैमासमा बैंकको खराब कर्जा ३.६६ प्रतिशत थियो । सांग्रिला डेभलपमेन्ट बैंकको पनि खराब कर्जा उच्च छ । सो बैंकको खराब कर्जा गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा २.२१ प्रतिशत बढेको छ । चालू आवको दोस्रो त्रैमासमा सांग्रिलाको खराब कर्जा ३.३६ प्रतिशत छ ।
जबकि गत आवको दोस्रो त्रैमाससम्ममा यस्तो कर्जा १.१५ प्रतिशतमा सीमित राखेको थियो । चालू आवको दोस्रो त्रैमासमा नारायणी डेभलपमेन्ट बैंकले भने खराब कर्जा घटाएको छ । यस बैंकले गत आवको दोस्रो त्रैमासको तुलनामा यस आवको दोस्रो त्रैमासमा १.७७ प्रतिशतले खराब कर्जा घटाएको हो । गत वर्षको दोस्रो त्रैमासमा ४.६ प्रतिशत रहेको यस बैंकको खराब कर्जा चालू आवको दोस्रो त्रैमासमा २.८३ प्रतिशतमा झरेको छ ।
यीबाहेक वित्तीय विवरण प्रकाशन गरेका अधिकांश विकास बैंकहरूको खराब कर्जा बढेको देखिएको छ । बैंकले निश्चित समयका लागि कुनै ऋणीलाई दिएको कर्जा समयमा भुक्तानी हुन नसके त्यसलाई खराब कर्जाको सूचीमा राख्नुपर्ने हुन्छ । यस्तो कर्जालाई निष्क्रिय कर्जा वा खराब कर्जा भनिन्छ । ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनसम्म पनि बैंकले ऋण उठाउन नसकेमा सो ऋणलाई खराब कर्जाअन्तर्गत राखिन्छ । कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएमा त्यसलाई जोखिमयुक्त मानिन्छ ।

‘अर्थतन्त्रमा संकुचन आउँदा खराब कर्जा बढ्यो’
विकास बैंकहरूको पछिल्लो समय खराब कर्जा बढ्दै जानुमा अर्थतन्त्रको संकुचन मुख्य कारक रहेको विकास बैंक सम्बद्ध बैंकरहरू बताउँछन् । अर्थतन्त्रमा संकुचन आउँदा गाउँ–गाउँमा त्यसको असर देखिएको विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसियसनका महासचिव बोधराज देवकोटाले बताए ।
ठूला व्यवसायीलाई मात्र नभई पछिल्लो समय स–साना व्यवसाय गर्ने व्यवसायीहरूमा अर्थतन्त्रको संकुचनको असर देखिएको उनले बताए । उनले भने, “आर्थिक गतिविधिमा कमी भएपछि त्यसको असर ऋणीहरूलाई परेको देखिन्छ । आर्थिक गतिविधिमा आएको संकुचनले गर्दा मानिसको नगद प्रवाहमा असर परेको पाइन्छ, जसले कर्जा असुलीका लागि गाह्रो परेको छ ।”
मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरत ढकालले अहिलेको अर्थतन्त्रको अवस्था हेर्दा विकास बैंकहरूको खराब कर्जा बढ्नु स्वाभाविक भएको तर्क गरे । उनले भने, “अर्थतन्त्र संकुचनको यो अवस्थामा बैंकहरूले कसरी कर्जा असुली गर्न सक्छन् ?” कोभिड महामारी, रुस–युक्रेन युद्ध र नेपालकै पनि अर्थतन्त्रको संकुचनले गर्दा बैंकहरूको खराब कर्जा बढेको उनले बताए । उनले भने, “यी सबै कारणले गर्दा यो एनपीएल सामान्य हो, भोलिका दिनमा अझै बढ्ने देखिन्छ ।”