सुर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि दिनेशलाई

सातौं वरियताका दिनेश प्रजापति सुर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२-२३ सिजनको तेस्रो प्रतियोगिता सुर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि जित्न सफल भएका छन् । रोयल नेपाल गल्फ क्लबमा भएको ३६ होलको फाइनलमा १३औं वरियताका रमेश अधिकारीलाई ७/६ ले हराउँदै दिनेश उपाधि जित्न सफल भएका हुन् ।
उपाधिसँगै दिनेशले ६० हजार प्राप्त गरे । दोस्रो भएका रमेशले ४२ हजार हात पारे । सुर्य नेपाल गल्फ टुरमा पहिलो उपाधि जित्ने क्रममा दिनेशले पहिलो नौ होलको खेलमा ४ होलको अग्रता बनाए । १८ होलको समाप्तीमा दिनेश आठ होलको फराकिलो अग्रता बनाउन सफल रहे । खेलमा फर्कने संकेत देखाएका रमेशले १९औं, २०औं, २१औं र २२औं होल लगातार जित्दै दिनेशको अग्रतालाइ चार होलमा घटाए ।
दिनेशले २३औं होल जित्दा रमेशले २४औं र २५औं होल आफ्नो पक्षमा पार्दै दिनेशको अग्रतालाइ तीन होलमा झारे। तर २६औं र २७औं होल आफ्नो पक्षमा पार्दै दिनेशले ५-होलको अग्रता बनाए । यसपछि दिनेशले २९औं र ३०औं होल जित्दै ६ होल बाँकी रहँदा सहज जितका साथ उपाधि आफ्नो नाममा लेखाए । प्रतियोगितामा आठौं वरियताका धनबहादुर थापा तेस्रो भए ।
१८ होलको प्रतिस्पर्धा बराबरीमा टुंगिएपछि धनले प्ले-अफको पहिलो होलमा १०औं वरियताका भुवनकुमार रोक्कालाई पराजित गरे । तेश्रो भएका धनले ३२ हजार र भुवनले २४ हजार प्राप्त गरे । क्वाटरफाइनलमा पराजित चार खेलाडीहरू, नेपाल नम्बर एक प्रो शुक्रबहादुर राई, दोस्रो वरियताका भुवन नगरकोटी, तेस्रो वरियताका जयराम श्रेष्ठ र पाँचौ वरियताका रबि खड्काले समान ११ हजार प्राप्त गरे ।
यसैगरी पहिलो चरणबाट बाहिरिएका टंकबहादुर कार्की, सञ्जोक मोक्तान, कृष्णमान राजबाहक, प्रदीपकुमार लामा, सञ्जय लामा, सुर्यप्रसाद शर्मा, बलभद्र राई र रामे मगरले समान छ हजार प्राप्त गरे । गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतियोगितामा भाग लिने भएता पनि चार खेलाडी देश बाहिर रहेकोले उत्कृष्ट २० सम्मका खेलाडीले भाग लिएका थिए ।
सुर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालले आयोजना गरेको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ५० हजार रहेको थियो । विजयी खेलाडीहरुलाई सुर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान र ब्रान्ड म्यानेजर विदुर राज अधिकारीले पुरस्कार वितरण गरे। सुर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२-२३ सिजनको चौंथो प्रतियोगिता सुर्य नेपाल वेस्टर्न ओपन पोखरास्धित हिमालयन गल्फ कोर्षमा फाल्गुन १० गतेदेखि आयोजना हुनेछ ।