गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार मुख्य प्राथमिकता : मन्त्री गिरि «

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार मुख्य प्राथमिकता : मन्त्री गिरि

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरिले मुलुकभर गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनु आफ्नो मुख्य चुनौती रहेको बताएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित सातौं पर्वत महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गिरिले देशमा अहिले पनि स्वास्थ्य सेवा सीमान्तकृत र गरिब जनतासम्म पुग्न नसकेको बताउँदै स्वास्थ्य सेवाको पहुँच विस्तार गरी दूरदराजका नागरिकलाई पनि सर्वसुलभ स्वास्थ्यको पहुँच पुर्‍याउनुपर्ने बताए ।

उनले भने, “देशमा अहिले स्वास्थ्य सेवा सीमान्तकृत जनतासँग, गरिब जनतासँग पुग्न सकेको छैन । स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न हामी एकताबद्ध भएर लाग्नुपर्छ ।” अहिले पनि आर्थिक अभावका कारण उपचार नपाएर धेरै नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था रहेको बताउँदै गिरिले नीतिगत समस्या सुधार गरेर अघि बढ्ने प्रतिबद्धता समेत जनाए । उनले उपचार नपाएर मर्नुपर्ने बाध्यतालाई हटाउन सक्नुपर्ने बताए ।

उनले स्वास्थ्य सेवाको पहुँच विस्तार गरी गुणस्तरीय सेवा प्रवाहका लागि मन्त्रालयले आवश्यक नीतिगत सुधार गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले भने, “संरचनागत सुधार र व्यवस्थापकीय सुधार गरेर अघि बढ्नेछौँ तर उपचार नपाएर अकालमा मर्नुपर्ने बाध्यता हुनु हुँदैन ।” उनले सरकारी अस्पतालमा ल्याबमा हुने उपकरणहरु चाँडै बिग्रिने र बाहिर उपचार गर्न जानुपर्ने बाध्यता रहेको भन्दै यस्ता कुराहरु हटाएर गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिने बताए ।

मन्त्री गिरिले जनशक्तिको अभावलाई आवश्यक बजेट विनियोजित गरेर मन्त्रालय गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा लाग्ने पनि बताए । उनले स्वास्थ्य क्षेत्रमा रहेको जनशक्तिको अभावलाई चाँडै परिपूर्ति गर्ने योजना बनाएको पनि बताए । उनले हरेक जिल्ला अस्पताल र स्वास्थ्य चौकीहरुको गुणस्तर विकासमा ध्यान दिने बताए । अर्को प्रसंगमा मन्त्री गिरिले मंगलबार दिउँसो राजधानीमा गरिएको आत्मदाहको घटनाले सिंगो मुलुकको ध्यानाकर्षण भएको बताए ।

यस्तो अवस्था मुलुकका कैयौ मानिसले भोगिरहेको बताउँदै सरकारको ध्यान अब आर्थिक समृद्धितर्फ केन्द्रित हुने पनि बताए । नयाँ सरकार आइसकेपछि आर्थिक अवस्था सुधारका लागि केही प्रयास भएको बताउँदै अब छिटै मुलुकको अर्थतन्त्रमा सुधार आउने बताए । अहिलेसम्म विकास बजेट १५ प्रतिशतभन्दा बढी खर्च नभएकोमा सरकारको ध्यानाकर्षण भएको बताउँदै अब धमाधम विकास निर्माणका कामलाई गति दिइने पनि बताए ।

समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि ११ माघदेखि २१ गतेसम्म महोत्सव आयोजना गरिएको हो । महोत्सवमा २ सय ५० वटा स्टल राखिएको छ । यस पटक स्थानीय व्यवसायीलाई ५० प्रतिशत छुटमा स्टल सुविधा दिइएका कारण स्थानिय ब्यवसायीहरूले नै बढी स्टल लिएका छन् । महोत्सवमा पाँच करोडभन्दा बढीको कारोबार गर्ने अपेक्षा लिइएको छ ।

समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन, पर्वत जिल्लाका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको प्रचार प्रसार, पर्वत जिल्लामा उत्पादित वस्तुहरूको प्रवर्द्धन र प्रचारप्रसार, लोक संस्कृतिको संरक्षण र सम्वर्द्धन, स्थानीय उत्पादन, उद्योग, व्यापार र व्यावसायको विस्तार र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने महोत्सवको उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्