कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पायो «

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पायो

कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री राजकुमार शर्माले बुधबार चारमन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै मन्त्रीमण्डललाई पूर्णता दिएका हुन् । यसअघि नियुक्त भएका दुई जना विनाविभागीय मन्त्रीहरूलाई पनि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नेकपा माओवादी केन्द्रबाट सल्यानका भीमप्रकाश शर्मा र सुर्खेतका कृष्णबहादुर जिसी र नेकपा एमालेबाट मुगुका जीतबहादुर मल्ल, जुम्लाका टेकराज पछाई मन्त्रीमा नियुक्त भएका छन् । शर्माले यसअघि गत २८ पुसमा एमालेबाट दैलेखका विनोदकुमार शाह र माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाहीलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए ।

एमालेबाट शाह आर्थिक मामिला तथा योजनामन्त्री, पछाई सामाजिक विकासमन्त्री र जीतबहादुर मल्ल उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् । यस्तै, नेकपा माओवादी केन्द्रबाट जिसी आन्तरिक मामिला तथा कानुनमन्त्री, शाही भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोतमन्त्री, शर्मा भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेका छन् ।

माओवादीबाटै डोल्पाकी पूर्णिमा विक भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्रीमा नियुक्त भएकी छन् । नवनियुक्त मन्त्रीहरूले बुधबार बेलुका नै शपथ ग्रहण गरी पदभार सम्हालेका छन् । शर्मा २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएकोमा बुधबार १५ दिनपछि मन्त्रिमण्डललाई पूर्णता दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्