ब्रोडब्यान्ड परियोजना ७४ जिल्लामा

नेपाल दूरसञ्चार प्राधिकरणले ७४ जिल्लामा सुरु गरेको ब्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजना अन्तर्गत पुस मसान्तसम्म ९३ प्रतिशतभन्दा बढी वित्तीय प्रगति हासिल भएको छ । ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडव्याण्ड सेवा उपलब्ध गराउने प्राधिकरणको योजना सफलताउन्मुख देखिएको छ ।
जसअनुसार १८ वटा प्याकेजमध्ये ७४ जिल्लामा तोकिए बमोजिमका स्थानहरूमा जडान कार्य सम्पन्न भइ सेवा सञ्चालनमा आइसकेको प्राधिकरणले जनाएको छ । सम्पन्न भएका परियोजनामध्ये हालसम्म १० वटाको अनुगमन तथा प्रमाणीकरणको कार्य सम्पन्न भइसकेको प्राधिकरण प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।
उनका अनुसार थप आठ वटा परियोजनाको फेज थ्री अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको कार्य भने बाँकी रहेको अवस्था छ । प्राधिकरणले विभिन्न सेवा प्रदायक कम्पनीमार्फत अघि बढाएको यो परियोजना अन्तर्गत मुलुकका ७०८ स्थानीय तहका कार्यालयसहित ५ हजार ९३३ वडा कार्यालय तथा ५ हजार ३१८ स्वास्थ्य संस्था र ४ हजार २ सय ४९ स्वास्थ्य संस्थामध्ये सबैमा इन्टरनेट जडान भइसकेको छ ।
“भौतिक रुपमा सबै निर्धारित स्थानमा जडान सम्पन्न भइसकेको छ,” प्राधिकरण प्रवक्ता पौडेल भन्छन्, “यस परियोजना अन्तर्गत हामीले कूल १६ हजार २०८ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट सेवा जडानका लक्ष्य राखेकोमा सफल भइसकेका छौं ।” प्राधिकरणले ब्रोडब्यान्ड परियोजनाका लागि ५ अर्ब ६७ करोड ४६ लाख ९१ हजार २७६ रुपैयाँ बराबरको लागत सम्झौता विभिन्न सेवा प्रदायक कम्पनीसँग गरेको थियो ।
जसअन्तर्गत सेवा प्रादयकहरुले हालसम्म ५ अर्ब २९ करोड ८७ लाख ९५ हजार ९९८ रुपैयाँ भुक्तानी लिइसकेका छन् । यसरी परियोजनाको वित्तीय प्रगति ९३.३७ प्रतिशत रहेको प्रवक्ता पौडेल बताउँछन् ।
भूकम्पप्रभावित जिल्लामा छुट्टै कार्यक्रम
प्राधिकरणले भूकम्प प्रभावित जिल्लाहरुमा छुट्टै ब्रोडब्यान्ड कार्यक्रम पनि लागू गरेको छ । ग्रामीण दूरसञ्चार बिकास कोष परिचालन गरी सञ्चालित परियोजनामध्ये भूकम्पबाट अति प्रभावित ८ जिल्लामा यो कार्यक्रम लागू भएको थियो । जसमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगा रहेका थिए ।
यी जिल्लाका सबै स्थानीय तहका कार्यालय, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्थाहरुमा क्षमता अभिवृद्धि गर्न ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराइएको छ । कूल ४ हजार २५१ स्थानमा कम्तिमा २० एमबीपीएस क्षमताको ननडेडिकेटेड ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान गरी २ वर्षका लागि महशुल बापतको रकमसमेत प्राधिकरणले नै उपलब्ध गराएको छ ।
यस कार्यको लागि सम्बन्धित गाउँपालिका तथा नगरपालिकासँग समझदारी पत्रमा हस्ताक्षर गरी कार्य अगाडी बढाइएकोमा हालसम्ममा कुल ७६ मध्ये ७३ गाउँपालिका तथा नगरपालिकासँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको प्राधिकरणले जनाएको छ । उक्त परियोजनाअन्तर्गत हालसम्म १ हजार ४५१ स्थानमा ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान कार्य सम्पन्न भएको उल्लेख छ ।
भूकम्पबाट अति प्रभावित ८ जिल्ला तथा काठमाडौ उपत्यकाबाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा कम्तिमा २० एमबीपीएस क्षमताको नन डेडिकेटेड ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्न कार्यक्रम अघि बढाइएको छ ।
जसअन्तर्गत हालसम्ममा कुल ६५६ मध्ये ३३४ स्थानीय तहसँग समझदारी–पत्रमा हस्ताक्षर भइसकेको जनाइएको छ । उक्त परियोजना अन्तर्गत हालसम्म १ हजार ८७२ सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान कार्य सम्पन्न भएको उल्लेख छ ।