काठमाडौंबाहिर २५ सयले लिए नयाँ श्रमस्वीकृति «

काठमाडौंबाहिर २५ सयले लिए नयाँ श्रमस्वीकृति

श्रमस्वीकृतिका काम प्रदेशस्तरका ६ वटा श्रम कार्यालयबाट सुरु भएपछि हालसम्म लगभग २ हजार ५ सय युवाले नयाँ श्रमस्वीकृति लिएका छन् ।

पोखरा र बुटवलबाट यसअघि नै सेवा विस्तार गरिएका कारण ती कार्यालयबाट सेवा लिनेको संख्या भने केही बढी रहेको छ । सरकारले पुस अन्तिम हप्ताबाट श्रमस्वीकृतिका सबै काम प्रदेशस्तरका श्रम कार्यालयबाट गर्ने निर्णय गरेको भए पनि सुर्खेत र कैलालीमा प्राविधिक पूर्वाधारको काम भने दुई दिन अघिमात्र पूरा भएर सेवा प्रदान हुन थालेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले धनगढी र सुर्खेतबाट समेत सेवा प्रवाह हुने गरी शुभारम्भ गरेपछि अब भने सबै प्रदेशबाट सेवा लिन सकिने छ । यसअघि सेवा विस्तारको आधिकारिक जानकारी दिए पनि कतिपय कार्यालयको प्राविधिक काम सकिएको थिएन ।

श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले सबै श्रम तथा रोजगार कार्यालयबाट अनलाइनमार्फत संस्थागत, व्यक्तिगत र पुनः श्रमस्वीकृति सेवा प्रवाह हुने गरी पूर्वाधार तयार भएको जनाए । उनले मन्त्रालय तथा अन्तर्गतका निकायहरुबाट प्रदान गरिने सेवालाई बढी पारदर्शी, व्यवस्थित एवं नागरिकमैत्रीका अतिरिक्त छिटोछरितो र सूचना–प्रविधियुक्त बनाउँदै लगिएको जानकारी दिए ।

“मन्त्रालय र मातहतका विभाग तथा कार्यालयहरुबाट हुने सेवा प्रवाहलाई क्रमशः पेपरलेस, फेसलेस र क्यासलेस बनाउँदै लगिएको छ,” सचिव अर्यालले भने, “वैदेशिक रोजगारीसम्बन्धी सबै प्रकारका सेवाहरु अब वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडाैंका अतिरिक्त श्रम तथा रोजगार कार्यालय विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीबाट अनलाइनमार्फत पूर्ण रूपमा सुचारु भएको छ ।”

सरकारले श्रमस्वीकृति, मेनपावर र अभिमुखीकरण संस्थाले लिने सेवालाई विकेन्द्रिकरण गर्ने निर्णय गरेको दुई हप्तामा २५ सयको संख्यामा श्रमस्वीकृति सेवा दिएको हो । पछिल्लो समय पूर्वाधार तयार भएका कार्यालयमा सेवा विस्तार गरे पनि जानकारी अभावका कारण सेवाग्राही श्रमिकको आवेदन नै परेको छैन । दुई हप्ताअघि नयाँ श्रमस्वीकृति सेवा पहिलो चरणमा पोखरा र विराटनगरबाट सुरु गरे पनि सेवाग्राहीको संख्या न्यून रहेको छ ।

सेवाग्राहीलाई सरकारले विस्तार गरेको श्रमस्वीकृति सेवाको जानकारी नहुँदा कतिपय कार्यालयमा कोटाअनुसार आवेदन नपरेको पाइएको छ । विभागले काठमाडौंबाहेक प्रदेशस्तरका ६ वटा कार्यालयका लागि नयाँ श्रमस्वीकृतिका लागि ५० कोटा खुला गरेको भए पनि सुर्खेत र कैलालीमा नयाँ श्रमस्वीकृतिको आवेदन नपरेर खाली गएको छ ।

विगत दुई हप्तामा नयाँ श्रमस्वीकृति भने देशभरका कार्यालयबाट २ हजार ५ सय श्रमिकलाई प्रदान गरिएको छ । पुनः श्रमस्वीकृतितर्फ भने काठमाडौंबाट ३१ हजार १७९, विराटनगरबाट ३६, जनकपुरबाट ३, पोखराबाट २ हजार ७२, बुटवलबाट ३९५ जनाले सेवा लिएका छन् । सुर्खेत र कैलालीबाट भने एकजनाले पनि सेवा लिएका छैनन् ।

नयाँ श्रमस्वीकृतिका लागि मागपत्र, सम्झौतापत्र लगायतका कागजात प्रमाणीकरण गर्नुपर्ने भएकाले कार्यसम्पादन केही ढिलो हुने गरेको छ । श्रमस्वीकृति सहित वैदेशिक रोजगार सम्बन्धी सेवा घरपायक विस्तार गरेपछि हजारौं खर्च गरेर काठमाडौं आउनुपर्ने झन्झट त हटेको छ तर श्रमिकलाई यसबारे जानकारी नै नभएको पाइएको छ ।

काठमाडौंबाहिर हाल ५१ वटा मेनपावरका शाखा कार्यालयले वैदेशिक रोजगारीका लागि श्रमिक छनोट र भर्नाको काम गरिरहेका छन् भने काठमाडौंमा ८७८ कार्यालय रहेका छन् । २०७५ सालदेखि धनगढी, सुर्खेत, पोखरा, जनकपुर, बुटवल, पोखरा र विराटनगरबाट पुनः श्रमस्वीकृतिको काममात्र हुँदै आएको थियो ।

वार्षिक औसत ६ लाख ३० हजार नेपालीले आवेदन दिने श्रमस्वीकृतिको सेवा प्रदेशस्तरमा विस्तार गरेसँगै वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहचलमा भिडभाड कम हुने अनुमान गरिए पनि जानकारी अभावका कारण काठमाडौंबाट लिने सेवाको चापमा भने कमी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्