भारतीय गाडीले ठक्कर दिँदा तीनजना घाइते

पोखरामा एक भारतीय गाडी अनियन्त्रित भएर ५ वटा सवारी साधन सहित एक पैदल यात्रीलाई ठक्कर दिँदा तीनजना घाइते भएका छन् । पोखराको हल्लनचोकमा बुधबार दिउँसो करिब १ बजे एचआर ०९ एल ०००९ नम्बरको भारतीय गाडीले एक पैदल यात्री, एक ट्याक्सीसहित ५ वटा सवारी साधनलाई ठक्कर दिएको थियो ।
उक्त गाडीको ठक्करबाट पोखरा १८ भकुण्डेका ८३ वर्षीय पद्म बहादुर गुरुङ गम्भिर घाइते भएका छन् । उनको हाल पोखरा सृजनाचोकमा रहेको मेट्रोसिटी हस्पिटलमा सघन कक्ष (आइसियू) मा उपचार भइरहेको छ । ग १६ प ९९५९ नम्बरको मोटरसाइकलमा सवार भएका गुरुङको अवस्था गम्भिर भएको अस्पताल श्रोतले जनाएको छ ।
भारतीय नम्बर प्लेटको गाडी अनियन्त्रित हुँदा उक्त गाडीले एउटा गाईलाई समेत ठक्कर दिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले बताए । चालकले मादक पदार्थ सेवन गरी गाडी चलाएको प्रहरीले जनाएको छ । गाडी चालक र गाडीलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणा लिएको कार्यालयका प्रमुख एवं डिएसपी कोमल शाहले बताए ।