सबै खालका उपभोक्ताले महोत्सवबाट लाभ लिन सक्छन् «

सबै खालका उपभोक्ताले महोत्सवबाट लाभ लिन सक्छन्

आजबाट सुरु हुन गइरहेको राष्ट्रिय औद्योगिक महोत्सवले मुलुककै आर्थिक तथा व्यावसायिक प्रवर्द्धनमा कस्तो भूमिका खेल्छ ?

यसलाई दुईवटा पाटोबाट हेर्नुपर्छ । एउटा पाटो मुलुक लामो समयदेखि कोभिडका कारण आक्रान्त छ, मान्छेमा मनोबल गिरेको छ, मुलुक आर्थिक रूपमा अप्ठ्यारो अवस्थामा छ । बैंकको ब्याज बढिरहेको छ । मान्छे सबैतिरबाट निराश छ । यस्तो अवस्थामा महोत्सव आयोजना भइरहँदा मान्छेलाई आशाको सञ्चार गराउँछ । खुलेर हास्न सिकाउँछ, खुलेर हास्नका लागि भूमिका निर्वाह गर्दछ ।

किनभने विगत २–४ वर्षदेखि घरदेखि बाहिर निस्केर पर्याप्त मनोरन्जन गराउन पाएको छैन । यस बीचमा हुने महोत्सवले मानिसमा मनोबल बढाउनुका साथै जागृत गराउने काम गर्छ भने सँगसँगै पुँजीलाई चलायमान गराउन महोत्सव कोसेढुंगा हुनेछ । समूहमा बाँन्च, मनोरन्जन गर्न, आफूलाई चाहिएका सामान खरिद गर्द र बिक्रेता र खरिदकर्ताबीचको भेटको वातावरण निर्माण गर्न महोत्सव सहयोगी साबित हुनेछ ।

महोत्सवको तयारी कस्तो भइरहेको छ ?

महोत्सवको तयारी करिब सबै सकिएको छ । महोत्सवमा करिब चार सयवटा स्टल रहनेछन् । ९९ प्रतिशत काम सकिएको छ । अहिले हामीले स्टलको सबै बुकिङ सकिएको छ । सांस्कृतिक कार्यक्रमका साथ उद्घाटन कार्यक्रमको तयारीसमेत भइसकेको छ । यसपटक हामीले प्रतिभाहरू उजागर गर्ने उद्देश्यले दुई तीनवटा कार्यक्रम तय गरेका छौं । जस्तो हेटौंडामा लुकेका प्रतिभा गायनमार्फत् प्रस्फुटन गर्नका लागि गायन प्रतियोगिताको आयोजना गरेका छौं ।

सँगसँगै यस वर्षबाट हेटौंडामै पहिलो पटक डान्सिङ स्टारको पनि आयोजना गरेका छौं । यो पटक ब्यूटीसियनहरूका लागि दुलही मेकअप प्रतियोगिता पनि आयोजना गरेका छौं । र, विभिन्न कलाकारको साथ दैनिक मनोरन्जनका कार्यक्रम पनि सञ्चालन गर्ने तय गरेका छौं । स्थानीय परिकारहरूको आनन्दका साथ घरेलु सामग्रीको खरिद बिक्रीका साथै घरेलु उद्यमीलाई प्रवर्द्धन गराउने गरी सबै कार्यक्रम तयारी भइसकेको छ । हामी महोत्सव उद्घाटन गर्न पूर्ण तयार भएका छौं ।

आर्थिक संकटबाट मुलुक प्रताडित छ । व्यापार व्यवसाय ठप्प छ, उपभोक्ताहरूमा पनि क्रयशक्तिमा ह्रास आएको छ । यस्तो अवस्थामा महोत्सव कसरी सफल हुन्छ ?

उपभोक्ताले चाहेको सस्तो बजार पनि मेलामा उपलब्ध छ । जस्तो काठमाडौं जाँदा मानिसले अलिक सस्तो सामान चाहिएमा भृकुटीमण्डप जाने प्रचलन छ, अर्कोतर्फ गुणस्तरीय र विश्वबजारमा नाम चलेका सामग्री पनि मेलामा उपलब्ध छ । सबै खालका उपभोक्ताले महोत्सवबाट लाभ लिन सक्नेछन् । सबैको चाहना र रोजाइका सामान महोत्सवमा उपलब्ध हुनेछ । यसलाई अवसरका रूपमा पनि मनन् गर्नुपर्छ ।

वस्तु तथा सेवाको गुणस्तरीयता र सामानको मूल्यबीचको अन्तरसम्बन्ध र एकरूपतामा के सोच्नु भएको छ ? अनि मेलामा कति कारोबार हुने अनुमान गर्नुभएको छ ?

व्यापार महोत्सव भनेको अत्यन्तै धेरै प्रतिष्पर्धात्मक एकीकृत बजार हो । यसमा कसैले महँगो अनि गुणस्तरहीन सामान बिक्री गर्न सम्भव नै छैन । हामी यस संघमा रहेका सबै पदाधिकारी तथा सदस्य पनि कुनै न कुनै व्यवसायसँग जोडिएका व्यक्ति छौं । गुणस्तर र मूल्यमा हामी ध्यान दिन्छौं । ११ माघदेखि २३ गतेसम्म हुने महोत्सवमा करिब २० देखि २५ करोडको कारोबार हुने अनुमान गरिएको छ ।

दर्शक तथा उपभोक्ता कति र कहाँकहाँबाट आउने अनुमान गर्नुभाछ ? साथै प्रचारप्रसार कस्तो गर्नु भएको छ ?

प्रचारप्रसारलाई हामीले विशेष ध्यान दिएका छौं । प्रचारप्रसारमा मकवानपुरलगायत राष्ट्रियस्तरका मिडियामार्फत हामीले महोत्सवबारे जानकारी र सूचना गरेका छौं । मकवानपुरका त सबै प्रकारका सबै मिडियामार्फत् प्रचारप्रसारको काम गरेका छौं । देशभरबाट दर्शक एवम् प्रदर्शकहरू मेलामा सहभागी हुन्छन् भन्नेमा हामी विश्वस्त छौं । विशेषगरी बागमती प्रदेशका सबै जिल्लाका उद्योगी, व्यवसायी र उपभोक्ताले महोत्सवको लाभ लिनेछौं ।

हेटौंडाको औद्योगिक विरासत ठूलो छ, मुलुकमै पहिलो पटक औद्योगिक व्यापार महोत्सवको सुरुवात गर्ने जिल्ला पनि मकवानपुर हो । यसो भनिरहँदा महोत्सवबाट औद्योगिक तथा व्यावसायिक प्रवद्र्धनमा कस्ता फाइदा हुने देख्नुभएको छ ?

मकवानपुर जिल्ला हामी भाग्यमानी पनि छौं । मुलुककै ठूलो औद्योगिक क्षेत्र हामीसँगै छ । लामो समयदेखि हामी औद्योगिक संस्कारमा छौं । राष्ट्रियदेखि आधा दर्जनभन्दा बढी बहुराष्ट्रिय कम्पनी पनि हेटौंडामै छ । तीन वटा ठूला सिमेन्ट उद्योग पनि हामीसँगै जोडिएका छन् । यो महोत्सव यी सबै उद्योगी व्यवसायीको महोत्सव हो । बाहिरबाट आउनेका लागि पनि सकारात्मक सन्देश दिनसक्नेमा हामी विश्वास गर्छौं । हामीले यहाँ महोत्सव गरिरहँदा यहाँ चाँडोभन्दा चाँडो विस्तारित औद्योगिक क्षेत्र स्थापनाका लागि दबाब सिर्जना हुने पनि देखिन्छ । समग्र मकवानपुर र मुलुककै आर्थिक पाटोसँग यो महोत्सव जोडिन्छ ।

प्रतिक्रिया दिनुहोस्