महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्छ «

महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्छ

राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको आवश्यकता र प्रभावकारिताको बारेमा बताइदिनुहोस् न ?

मकवानपुर उद्योग वाणिज्य संघको ५६ वर्ष पुरानो इतिहास छ । संघले नेपालमै पहिलोपटक २०४२ सालदेखि औद्योगिक व्यापार मेलाको आयोजना गर्दै आइरहेको यहाँलाई अवगत गराउन चाहन्छु । मकवानपुर उद्योग वाणिज्य संघले यसअघि नौ पटकसम्म महत्वपूर्ण मेला तथा महोत्सव गरिसकेको छ ।

यो औद्योगिक व्यापार महोत्सवले उद्योग, व्यापार, कृषि, पर्यटनलगायतको क्षेत्रमा महत्वपूर्ण टेवा पुर्‍याउँछ भन्ने हाम्रो ठम्याई छ । गाउँघरमा रहेका विभिन्न कृषि उपजहरूको प्रदर्शनी, कुनाकुनामा लुकेका प्रतिभा प्रस्फुटन गर्नुका साथै विभिन्न धर्म, संस्कृतिलाई पनि उजागर गर्नमा यो मेला फलदायी हुने देखिन्छ । मेलाले सर्वपक्षीय हित र प्रवर्द्धन गर्नेमा हामी विश्वस्त छौं । यो मेला हाम्रो मात्रै नभई मकवानपुर जिल्लाकै एउटा महोत्सव हो ।

मेलाको तयारी कसरी गर्नुभएको छ ? कति स्टल राखिएको छ ?

महोत्सवको तयारी गर्ने क्रममा सानो ठूलो गरेर हामीले चार सयवटा स्टल राख्नेछौं । महोत्सवको ९९ प्रतिशत तयारी भइसकेको छ । महोत्सवमा हामीले कृषि, व्यापार, उद्योग, पर्यटनलगायतका सबैखाले स्टलको राखिएको छ । साना व्यवसायी पनि धेरै मेलामा समेटिनुहुन्छ । मेला अवधिभर करिब तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । स्थानीय सरकार तथा प्रदेश सरकारले पनि हामीलाई धेरै सहयोग गरेका छन् । सुरक्षा निकायबाट पनि हामीले ठूलो सहयोग पाएका छौं ।

हेटौंडा–१० स्थित टीसीएन चौरमा आज ११ बजे दिनको २ बजे बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । यसमा सबैतिरको साथ रहेको छ । सबै उद्योगी व्यवसायी र जिल्लाबासीको साथ रहेको छ । स्थानीय सरकार, जिल्ला समन्वय समिति र स्थानीय प्रशासनसहित सबै तह र तप्काका मानिसले हाम्रो मेला सफल बनाउन सहयोग गरिरहेका छन् । यसबाट हामीलाई थप हौसला मिलेको छ ।

मुलुक यतिबेला आर्थिक संकटबाट पनि गुज्रिरहेको छ, व्यवसाय धरासायी भएका छन् भने आम उपभोक्ताको क्रयशक्ति पनि घटेको छ, यस्तो बेलामा गरेको महोत्सवले व्यापार व्यवसाय प्रवर्द्धन हुनेमा कसरी विश्वस्त हुन सकिन्छ ?

एकदम महत्वपूर्ण प्रश्न गर्नुभयो । मुलुककै आर्थिक स्थिति बिग्रिरहेको अवस्थामा, उद्योगहरूले पनि आफ्नो उत्पादन कटौती गर्दै गइरहेको अवस्थामा, बैंकको ब्याज बढ्दै गइरहेको अवस्थामा मेला, महोत्सव गर्दा प्रभावकारी हुँदैन कि भनेर चासो र चिन्ता हुनु स्वाभाविक हो । तर, वर्तमान अवस्थामा मुलुकको गहिरिँदो आर्थिक संकटलाई टार्नका लागि महोत्सव प्रभावकारी हुनेमा हामी विश्वस्त छौं ।

किनभने महोत्सवमा जिल्ला तथा जिल्ला बाहिरबाट धेरै मानिस भेला हुन्छन्, आर्थिक कारोबार चलायमान हुन्छ र वस्तु तथा सेवाको खरिद बिक्री बढ्छ । जसले गर्दा केही हदसम्म भए पनि आर्थिक स्थिति सुधारमा महोत्सवले टेवा पुर्‍याउँछ । महोत्सवमा बाहिरी जिल्लाबाट पनि धेरै दर्श र ग्राहक आउँछन् । जसले गर्दा स्थानीय व्यवसायी, व्यापारीले प्रत्यक्ष लाभ लिन सक्दछन् ।

मेलामा टिकट काटेर अवलोकनका लागि छिरिसकेपछि हामीले विभिन्न सेवा पनि उपलब्ध गराउँछौं । ६० रुपैयाँ दरको टिकट काटेरभित्र छिरेपछि निःशुल्क स्वास्थ्य शिविरदेखि हामीले विभिन्न मनोरन्जनका कार्यक्रमसमेत जोड्ने गर्दछौं । जसका कारण दर्शकले सस्तो मूल्यमा वस्तु र सेवा प्राप्त गर्नुका साथै विभिन्न निःशुल्क सेवासमेत प्राप्त गर्न सक्नेछन् । यस वर्षको मेला विगतको भन्दा झनै विशिष्ट हुनेमा हामी विश्वस्त भएर लागेका छौं ।

महोत्सवमा मूल्य र गुणस्तरीयतामा एकरूपता सुनिश्चितता गर्न यहाँहरूले कस्तो व्यवस्थापन गर्नुभएको छ ?

यहाँले एकदमै राम्रो सवाल गर्नुभयो । मूल्यको एकरूपता र गुणस्तरीयताको सवालमा हामी एकदमै सचेत छौं । यसपटक हामी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र स्थानीय सरकार हेटौंडा उपमहानगरपालिकासँग पनि यसबारेमा सहकार्य भइरहेको छ । उपमहानगरपालिकामा पनि गुणस्तरीय मापनका यन्त्रहरू राखिएका छन् । हामीले अहिले स्टल बिक्री गर्ने क्रममा पनि होटल तथा अन्य सेवाका स्टललाई मूल्य र गुणस्तरीयतामा ख्याल गर्न सचेत गराइरहेका छौं । विशेषगरी खाना, खाजा र अन्य स्टलमा हामीले वस्तु र मूल्यको मूल्यसूची नै टाँस्न अनिवार्य गर्छौं ।

विगतमा पिउने पानीको मूल्यसमेत चर्को परेको भन्ने गुनासोको आधारमा हामीले पिउने पानीको मूल्य मेला स्थलभर एकै प्रकारको हुने गरी व्यवस्थापन गर्दैछौं । एक बोतल पानीको २० रुपैयाँभन्दा बढी लिन नपाइने गरी हामीले नियमन गर्दैछौं । घरलु सामग्री, हस्तकलाको सामग्रीको बिक्रीमा पनि बजारभन्दा कम मूल्यमा बिक्री गर्न सचेत गराएका छौं । कानुनअनुसार राजस्व तिरेरमात्र व्यापार गर्न आग्रह गरिएको छ । राजस्व कार्यालयलाई पनि अनुगमन गर्न आग्रह गरेका छौं ।

हेटौंडामा महोत्सव हुँदै गर्दा स्थानीय तथा घरेलु उत्पादक र स्थानीय व्यवसायीलाई हुने विशेष फाइदा के छन् ?

पहिले पहिलेको मेलामा बाहिरबाट मात्र व्यवसायीहरू आउँछन् । घुमन्ते व्यवसायीले मात्र व्यवसाय गर्न आउँछन् भन्ने मान्यता थियो । यसवर्ष हामीले त्यस कुरालाई चिरेका छौं । हामीले महोत्सवमा स्थानीय व्यवसायी, उद्योगीलाई स्टल राख्न धेरै प्रेरित गर्‍यौं । स्थानीय उद्योगी व्यवसायी तथा घरेलु सामान उत्पादक तथा वितरकले मेलाबाट धेरै फाइदा लिनसक्ने स्थितिको सिर्जना गरेका छौं । यहाँका उद्योगहरूले पनि मेलामा प्रदर्शनी गर्ने तथा व्यवसाय प्रवर्द्धन गर्न धेरै सहुलियत र प्रोत्साहन गरेका छौं ।

मकवानपुर र आसपासका जिल्लाका आम मानिसलाई मेलाको विषयमा के आह्वान गर्नुहुन्छ ?

११ माघबाट २३ गतेसम्म हुन गइरहेको राष्ट्रिय औद्योगिक व्यापार महोत्सवलाई अवलोकन गर्न आइदिनूस् । यहाँका उद्योगी, व्यवसायी र उद्यमी महिलाहरूलाई आफूले घरेलु रूपमा बनाएका सामग्रीको प्रदर्शनी र व्यापार गरिदिनुस् भन्न चाहन्छु । साथै आफूसँग लुकेर रहेका प्रतिभा, धार्मिक, जातीय, सांस्कृतिक पक्षहरूको उजागर साथै प्रवर्द्धन गरिदिन मकवानपुर साथै देशबासीमा म अनुरोध गर्न चाहन्छु । साथै महोत्सवमा हुने विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य शिविरबाट पनि लाभ लिनुहुन अनुरोध गर्दछु । सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूले पनि प्रचारप्रसारमा विशेष भूमिका निभाउनुहुनेछ भन्नेमा विश्वस्त छु ।

प्रतिक्रिया दिनुहोस्