बाजुरामा बिमा कार्यक्रम सुरु «

बाजुरामा बिमा कार्यक्रम सुरु

सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा बाजुरामा पनि सञ्चालन हुने भएको छ । स्वास्थ्य बिमाको समन्वय र जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा स्वास्थ्य बिमा सञ्चालन गर्न थालिएको जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिए ।
जिल्लामा रहेका विपन्न, अतिगरिब, सीमान्तकृत, पिछडिएका वर्गको स्वास्थ्योपचारमा सहयोग पुग्ने गरी उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको उल्लेख गर्दै स्वास्थ्य बिमा बोर्डका संयोजक भरत बोहराले स्वास्थ्यमा पहुँच पुर्याउनका लागि यो कार्यक्रम हरेक जिल्लामा लागू गर्न आवश्यक रहेको बताए । स्वास्थ्य बिमा कार्यक्रमले एक घरका पाँच जनाको परिवारले २ हजार ५०० तिरेमा वर्षभरि सरकारले बिरामीको उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने व्यवस्था रहेको संयोजक बोहराले जानकारी दिए ।
बिमाले आकस्मिक बिरामी मात्र नभई अन्य समयमा कुनै बिमाकर्ता बिरामी भए सरकारले छनोट गरेको स्वास्थ्य कार्यालयमा निःशुल्क उपचारका साथै कम पैसामा उपचार गर्न पाइने जनस्वास्थ्य अधिकृत कुँवरले बताए । जिल्लामा बिमा सञ्चालनका लागि जिल्लाका जनप्रतिनिधि, विभिन्न संघसंस्था, सञ्चारकर्मी, स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिएको छ । स्वास्थ्य बिमाले गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने, स्वास्थ्य सेवा उपयोगका क्रममा हुनसक्ने अनियोजित व्यक्तिगत खर्चलाई व्यवस्थित गर्दै आर्थिक जोखिम व्यवस्थापन गर्ने बिमाको उद्देश्य छ ।
स्वास्थ्य बिमा कार्यक्रमले आमा सुरक्षा कार्यक्रमसँगै सरकारले आव ०६८-६९ बाट लागू भएको कार्यक्रम सरकारले आव २०७२-७३ बाट कार्यक्रम सञ्चालनमा ल्याएको हो । हालसम्म स्वास्थ्य बिमा सञ्चालन भएको जिल्लाबाट चार लाख ५१ हजार जनाले स्वास्थ्य बिमा गरेको बताइएको छ भने बिमाबाट १५ करोड ८ लाख १३ हजार रुपैयाँ संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्