पोखराको पर्यटन प्रवर्द्धनमा अन्तर्राष्ट्रिय विमानस्थलको भूमिका «

पोखराको पर्यटन प्रवर्द्धनमा अन्तर्राष्ट्रिय विमानस्थलको भूमिका

फाइल तस्बिर ।

पोखरालाई स्वर्गको टुक्रा पनि भनिन्छ । पोखराको प्रमुख आकर्षण तथा गन्तव्यहरूमध्ये पश्चिम पोखरामा फेवाताल (तालबराही मन्दिर, लेकसाइड, रत्न मन्दिर, हेमागृह, बसुन्धारा पार्क), विश्व शान्तिस्तूप, सराङकोट, महेन्द्र गुफा, डेभिज फल्स (पातले झरना), गुप्तेश्वर गुफा, चमेरो गुफा, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, अन्नपूर्ण पुतली संग्रहालय, विन्ध्यवासिनी मन्दिर, मट्टीखान भ्यूटावर, बन्जीजम्प हेम्जा, कोमागाने पार्क, सेती बाँध, गोरखा संग्रहालय, पोखरा क्षेत्रीय संग्रहालय, भद्रकाली मन्दिर, केआई सिंह पुल आदि छन् भने पूर्वी पोखरामा बेगनास ताल (देउराली मन्दिर, पचभैयाकोट, गोरखनाथ मन्दिर, स्याङ्गखुदी वाटर फल्स, चक्रदेवी मन्दिर, लिवर्ड सिड सेन्टर, सुन्दरीडाँडा भ्यूटावर, मङ्गल धर्मचक्र बौद्ध गुम्बा, सीता गुफा, बेगनास ठूली पोखरी, बेगनासकोट) रूपा ताल, मैदी ताल, दिपाङ ताल, रूपाकोट, चिसापानी देवी मन्दिर, पोखरा जुलोजिकल पार्क, नौली बराह मन्दिर, बृहत् शान्ति अन्तर्राष्ट्रिय पार्क, बूढा महादेव मन्दिर आदि छन् ।

पोखराको मुटुचाहिँ फेवाताल हो । फेवाताल, जसलाई हेरेर जोकोही पनि मोहित हुन्छन् । फेवाताल, जसको दृश्यपान गरेर कसैको धीत मर्देैन । लमतन्न परेको फेवातालमा छचल्किएको पानीले समुद्रको झल्को दिन्छ । यहाँबाट देखिने प्राकृतिक छटाहरू संसारमा प्रायः कमै मात्र देख्न सकिन्छ । प्राकृतिक सुन्दरताले भरिएको फेवाताल सराङकोट तलबाट सुरु भएर ड्यामसाइड हुँदै पुम्दीभुम्दीको माथिल्लो क्षेत्रसम्म फैलिएको छ, जसलाई हेरेर एउटा कविले कविता कोर्न सक्छन्, गीतकारले गीत लेख्न सक्छन् अनि कथा/उपन्यासकारले कथा, उपन्यास मन्थन गर्न सक्छन् ।

प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्त्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्न आवश्यक छ ।

साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरू स्वस्फूर्त रूपमा यहाँ मनोरञ्जन लिन आकर्षित हुन्छन् । फेवाताल नेपालको गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित अत्यन्तै प्रसिद्ध ताल हो । पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा बाह्य पर्यटकहरूमाझ लोकप्रिय छ । फेवा गाउँको छेउमा रहेकाले यो तालको नाम फेवाताल रहन गएको हो । वैदाम गाउँको छेउमा पर्ने हुँदा वैदाम ताल पनि भनिन्छ ।

फेवातालको बीचमा बराही मन्दिरको अवस्थितिले यसलाई बराह मन्दिरमा पनि चिनाउन सफल भएको छ । यो तालमा माछापुच्छ्रे र अन्नपूर्ण हिमालको मनोरम प्रतिविम्ब देख्न सकिन्छ । यी दृश्यहरूले सबैको मनलाई आनन्द र हर्ष प्रदान गर्छ । घाम झुल्किँदा र अस्ताउँदाको दृश्य पनि एकदमै हर्षलाग्दो र मनलाई प्रफुल्लित बनाउने हुन्छ । यो नेपालको दोस्रो सबैभन्दा ठूलो ताल हो । यो तालभन्दा ठूलो गण्डकीमा पर्ने बेगनास ताल हो ।

फेवाताल समुद्रको सतहदेखि ७ सय ४२ मिटर (२ हजार ४ सय ३४ फिट) को उचाइमा अवस्थित छ । यस तालको क्षेत्रफल ५.७६२ वर्ग किमि अर्थात् ११ हजार २ सय ५५ रोपनी रहेको छ । यस तालको औसत गहिराइ ८.६ मिटर (२८ फिट) छ भने अधिकतम गहिराइ २४ मिटर (७९ फिट) रहेको छ । यस तालको अधिकतम जल क्षमता लगभग ४ करोड ३० लाख क्युबिक मिटर (३५ हजार एकड फिट) छ । यस तालको उत्तरमा अन्नपूर्ण हिमशृङ्खला रहेको छ, जुन २८ किमिको दूरीमा पर्छ ।

यो ताल माछापुच्छ्रे, अन्नपूर्ण र धवलागिरी तथा अन्य पर्वत टाकुराको प्रतिविम्बका लागि पनि प्रसिद्ध छ, जुन यस तालको पानीमा स्पष्ट देखिन्छ । जसले पनि फेवातालमा टलहिँदै दिन बिताउन सक्छ । बोटिङमा रमाउँदै घण्टौं बिताउन सक्छ अनि फेवा किनारमा बनेका तारे होटलहरूमा बसेर पारिवारिक वातावरणमा हप्तौँ गुजार्न सक्छ । परिवार लिएर आएकाहरू फेवातालमा रमाएर आफ्नो यात्रालाई अविस्मरणीय बनाउन सक्छन् । फेवाताल नवविवाहिता दुलाहा/दुलहीका लागि सुहागरात मनाउने राम्रो गन्तव्य हो ।

गर्लफ्रेन्ड/ब्वायफ्रेन्डका लागि डेटिङ स्पट पनि हो र विद्यार्थी र साथीभाइका लागि सामूहिक घुम्ने गन्तव्य स्थल पनि हो । फेवातालसँगै जोडिएको बसुन्धरा पार्क र कोमागाने पार्कले फेवाताललाई थप सुन्दरता थपेको छ । ती पार्कहरूमा युवायुवतीहरू आलिंगनमा बाधिँदै फेवातालको दृश्यावलोकन गरेको प्रशस्त देख्न पाइन्छ । फेवाताल भक्तजनहरूका लागि धार्मिक स्थल पनि हो । फेवातालको बीचमा रहेको तालबराही मन्दिर प्रसिद्ध धार्मिक स्थलका रूपमा परिचित छ, जहाँ दिनहुँ हजारौँ भक्तजन पूजा–आराधना गर्न आउँछन् ।

त्यही मन्दिर परिसरमा बसेर फेवातालको चारैतिर दृश्यावलोकन गर्दै फेवा सुन्दरताको रसास्वादन गर्न सकिन्छ । उक्त तालबराही मन्दिर दर्शनका लागि डुङ्गा सयर अनिवार्य छ । तालको बीच भागमा रहेकोले डुङ्गामा मात्रै जान सकिने यो मन्दिरमा जाँदा डुङ्गाको मज्जा लिन पाइन्छ । फेवातालको सुन्दरता सराङकोटबाट पनि दृश्यावलोकन गर्न सकिन्छ । विन्ध्यवासिनी मन्दिरदेखि केही माथिबाटै देख्न सकिने फेवाताल सराङकोटसम्मबाटै देख्न सकिन्छ । त्यतिमात्रै कहाँ हो र ? चराझैँ आकाशमा उडेर पनि फेवातालको दृश्यपान गर्न सकिन्छ ।

प्याराग्लाइडिङ र अल्ट्रालाइट (पुतलीजहाज) बाट पनि फेवातालको दृश्यावलोकन गर्न सकिने भएकाले यसको मज्जा नै छुट्टै हुन्छ, जुन मज्जा सायद संसारको अन्य ठाउँमा पाइन्न । त्यसको महत्त्व बुझेरै होला, हिजोआज साहसिक खेलका रूपमा पनि प्याराग्लाइडिङ र अल्ट्रालाइटबाट फेवाताल घुम्नेको भीड नै लाग्छ । सोबाट देशको आर्थिक समृद्धिमा टेवा पुगेको छ । विश्वमा सूचना र सञ्चारको जगत्मा एक्काइसौं शताब्दीमा देखिएको द्रुत विकासका साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ ।

विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूका लागि वस्तु तथा श्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हासिल गर्दै पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ ।

आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशका साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ ।

यसै परिवेशमा विश्वमा महामारीको रूपमा फैलिएको कोभिड–१९ ले हाम्रो जन्मभूमिमा पनि धक्का दिएको छ । सो क्रममा वैदेशिक रोजगारीमा गएका दाजुभाइ, दिदीबहिनी जन्मभूमिमा फर्किरहेका छन् । सो कारण बेरोजगारीको समस्या हल गर्नको लागि पर्यटन व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ । समृद्ध नगर तथा गाउँको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायनलाई रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ ।

नेपालको प्राकृतिक भू–धरातल, वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा पर्यटन व्यवसायको विकास गर्नु आजको आवश्यकता हो । प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ ।

नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्त्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्न आवश्यक छ । पर्यटनको माध्यमबाट रोजगारी सिर्जना गरी गरिबी न्यूनीकरण गर्दै यस पोखरा क्षेत्रभित्रका जनतालगायत देशका यस्ता अन्य क्षेत्रको प्रवर्द्धन गरी देशभित्रका जनताको जीवनस्तरमा सुधार ल्याउन अति आवश्यक छ । यस्ता क्षेत्रमा पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानुन र प्रक्रियाअनुरूप पर्यटनलाई एक मुख्य उद्योगको रूपमा विकास गरी आर्थिक समृद्धि बढाउनु समयको माग हो ।

यसै सन्दर्भमा पुस १७, २०७९ राष्ट्रिय टोपी तथा पोसाक दिवसको दिनदेखि पोखरा विमानस्थलको भव्य उद्घाटनसँगै स्थानीयको पाँच दशकको सपना पूरा भएको छ । सो कारणबाट यो विमानस्थललाई पर्यटकीय हबको दृष्टिकोणबाट उपयुक्त बनाउनु सरोकारवाला (सरकार, पर्यटन व्यवसायी, वायु सेवा निगम, स्थानीय बासिन्दा आदि) को प्रभावकारी समन्वय तथा सहकार्य आवश्यक छ । पोखराजस्तो अन्तर्राष्ट्रिय स्तरमा नै प्रख्यात पर्यटकीय हब गन्तव्यबाट क्षेत्रीय तथा अन्तर्राष्ट्रिय उडान हुनुले नेपालको पर्यटकीय क्षेत्रमा कोसेढुंगा मान्न सकिन्छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई मुख्य पर्यटकीय लाभका दृष्टिबाट सञ्चालन गर्ने पक्ष महत्त्वपूर्ण छ । सो कारणबाट यस विमानस्थललाई हरेक दृष्टिकोणबाट सुविधायुक्त सुरक्षित तथा यात्रुमैत्री बनाउनु अति आवश्यक छ । हाम्रो देशमा पोखराजस्तो पर्यटकीय हब क्षेत्रमा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु व्यक्ति, समुदाय, प्रदेश र राष्ट्रकै लागि गौरवमय भई देश समृद्धिको यात्रामा अघि बढ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्