मान्छेको मौद्रिक र गैरमौद्रिक मूल्य

भनिन्छ, हरेक व्यक्तिका मूल्य र मान्यताहरू हुन्छन् । यो मूल्य-मान्यताको अर्थ भौतिक मूल्य होइन । मान्छेको भौतिक मूल्यचाहिँ हुन्छ कि हुँदैन । भौतिकवादी युगमा हरेक कुरालाई मूल्यमा मापन गरिने हुँदा मान्छेको मूल्य नै हुँदैन भन्न पनि कहाँ सकिएला र ? त्यसो भए मान्छेको मूल्य कति हो ? मान्छेको भौतिक मूल्य निर्धारण कसरी हुन्छ ? त्यो मौद्रिक वा गैरमौद्रिक के हुन सक्छ ?
प्राचीन कालमा मानिसलाई दासदासीको रूपमा खुलमखुला बिक्री गर्ने गरिएको भन्ने इतिहास पढिए पनि आज त्यस्तो मान्छे किनबेच गर्ने हाटबजार छैन भन्ने आदर्श विश्वास छ । यद्यपि खुलमखुला मानिस किनबेचको हाटबजार नभए पनि विश्वका कुनाकाप्चामा कुनै न कुनै रूपमा मान्छे आज पनि बिक्री भइरहेको छ । खालि खुला बजार नभएको मात्र हो ।
आखिर खुला खरिद–बिक्री गरे पनि लुकीछिपी खरिद–बिक्री गरे पनि त्यसमा मूल्य त हुन्छ नै । कानुनले निषेध गरेकाले मानिसको भौतिक बिक्रीको जमाना अब सकियो नि भनेर एकछिनलाई मान्ने हो भने पनि मान्छेको किनबेच रोकिएको छैन । कानुनले त बिक्री रोक्यो, तर मान्छे आफैँ कुनै न कुनै रूपमा बिक्री भइरहेको छ । इतिहासमा शक्तिशाली मान्छेले शक्तिहीन मान्छेलाई बेच्थ्यो ।
आधुनिक जमानामा भने मान्छे परिस्थितिको दास भएर स्वयम्ले स्वयम्लाई बिक्री गरिरहेको छ । आजकालको मान्छेको जन्मनु अगाडिदेखि मूल्य सुरु भएर मृत्युपर्यन्त समेत मूल्यमा बिकिरहेको हुन्छ । आमाको गर्भमा भ्रूण भाले भए उसको मूल्य ठूलो हुन्छ । भाले भएबापत धरतीमा पदार्पण गर्न पाउँछ । धरतीमा पदार्पण गर्न पाउनु जत्तिको ठूलो जीवनको मूल्य अर्को छैन । भ्रूण पोथी भए गर्भमा नै उसलाई मृत्युवरण गराइन्छ ।
विश्वव्यापीकरणको आजको युगमा मान्छे कुनै न कुनै रूपमा मुद्रामा विनियम भएकै छ र मान्छेको मूल्यमा दिनप्रतिदिन ह्रास पनि हुँदै गएको छ । मान्छेको मूल्यभन्दा पैसाको मूल्य बढी छ । गहिरिएर सोच्दा पैसा मान्छेका लागि होइन, बरु मान्छे पैसाको लागि भएको छ ।
जन्मन पाउने अधिकारबाट नै भ्रूण वञ्चित हुन्छ । मृत्युपर्यन्त पनि मान्छे मूल्यमा बिकिरहेको हुन्छ । मान्छेको मृत्युको मूल्यकै कुरा गरौँ । मान्छेको मृत्युको मूल्य कति ? कुनै व्यक्तिलाई राज्यले मा र्यो भने कति, त्यही मान्छेलाई सवारी चालकले मार्दा ? अनि अपराधीले मार्दा नि ? साँच्ची आफैँ दुर्घटनामा मरेको मान्छेको मूल्य कति हुन्छ ? सरकारले मार्दा मान्छेको मूल्य आन्दोलनले तोक्छ । जति ठूलो आन्दोलन र विरोध त्यति धेरै मूल्य लासको हुन्छ ।
सवारी चालकले मान्छे मारे पनि आन्दोलन नै हो, मूल्य असुलउपर गर्ने । आफैँ दुर्घटनामा परेर मान्छे मरेछ भने बिमा कम्पनीले तोक्छ, मृतकको मूल्य । अझ भनौँ म मरेँ भनी यति मूल्य तिर्नु भनी आफ्नो मूल्य आफैँ तोकेर दुर्घटनामा पर्छ मान्छे । बिमा गरेको रहेछ भने मूल्य पाउँछ, रहेनछ भने उही परिवारको आँसु हो उसको मूल्य । कुनै अपराधीले निरपराध मान्छे मार्दा मूल्य आँसुबाहेक केही हुन्न ।
मूल्य कसले तोक्छ र सरकार, आन्दोलन, बिमा कम्पनी ? कोही न कोही । तर कहिलेकाहीँ राज्यले नै आतङ्ककारीको नाममा टाउकोको मूल्य तोकेको पनि नसुनेको होइन । त्यसो त आतङ्ककारीको बिल्ला भिराइयो भने त ठूलै पो हुन्छ त मान्छेको मूल्य । नेपालजस्तो गरिब मुलुकमा पनि शरीरबाहेकैको टाउकाको मूल्य राज्यले नै ५० लाख तोकिएको विगतमा सुनिएको हो । यो दशकअगाडिको कुरा हो ।
अहिले सरकारले कसैलाई आतङ्ककारी घोषणा गरेर टाउकोको मूल्य तोके कति करोड तोकिएला ? बजारभाउ त निकै बढिसक्यो । डनहरूले मान्छे मार्न सुपारी तोक्छन् भनेको समाचार पढिन्छ । तर, त्यसको मूल्यको त कुनै सीमा नै छैन । हजारदेखि लाख हुँदै करोडसम्म । हुन सक्छ, अब कुनै दिन डनहरूले मान्छे मार्न अरब कबुलेको कुरा पनि सुनिएला । अस्पतालमा मान्छे मर्छ, पैसामा कुरा मिल्छ । मर्छ एक, मोल तोक्ने अर्कै हुन्छ ।
गाडीले मान्छे किच्छ, लास सडकमा तेर्सेर आफ्नो मूल्य खोज्छ । सडकको हूलले गर्छ मान्छेको मूल्य निर्धारण । जसरी भए पनि मृत्यु हुनु त मृत्यु नै हो । तर हेर्नुस् त मृत्युका मूल्य कति फरक । मरेका टाउकाका मात्र होइन, जिउँदा टाउकाका पनि मूल्यहरू छन् । एउटा नेताले जनताको भोटको काउन्ट गरेर आफ्नो पद सुनिश्चित गर्छ । मानौँ उसको पदका लागि जनतारूपी मूल्य तिरिन्छ । जनताको भोटले जित्नेको हैसियत बढ्छ, हार्नेको हैसियत घट्छ ।
हैसियत पनि एक प्रकारको मूल्य नै त हो । मौद्रिक हिसाब नै गरे पनि हार्नेको भन्दा जित्नेको मौद्रिक हैसियत स्वाभाविक रूपमा बढी हुने नै भयो । कुनै विद्यालय मालिक आफ्नो विद्यालयमा विद्यार्थीका टाउकाको मूल्य गन्छ र आफ्नो विद्यालय सानो कि ठूलो भनेर विद्यालयको स्तर अनि मूल्य निर्धारण गर्छ । कुनै पार्टी वा सङ्गठनको मूल्य उसका क्रियाशील सदस्य सङ्ख्याले निर्धारण गर्छ । यो बाहिरी टाउकाको मूल्यको कुरा भयो । त्यसो भए भित्री टाउकाको नि ?
आजकाल विचारको मूल्य, चेतनाको मूल्य, इच्छाको मूल्य, चाहनाको मूल्य, तनको मात्र होइन मनको पनि मूल्य चलेको छ । तपाईं विचारलाई तिलाञ्जली दिनुस्, नगद मिल्छ । चेतनाहीन बन्दिनुस्, दास बन्न पाउनुहुन्छ । दास बनेपछि कतै न कतै फाइदा हुन्छ, फाइदा नै तपाईंको मूल्य हो । दासभन्दा अलि अप्रिय लागे निगाह बक्स हुन्छ, तपाईंमाथि भनेर बुझ्नुस् । इच्छा र आकांक्षाहरू दबाउनुस्, जिउँदो लासजस्तो भएर लासको मूल्यमा बिक्री हुनुस् ।
मन एकातिर भए पनि अर्कातिर लागेर सहमति र सम्झौताको नाममा झुक्नुस्, मिल्छ केही न केही । मौद्रिक वा गैरमौद्रिक रूपमा तपाईं मूल्य प्राप्त गर्नुहुन्छ । त्यसो भए आजकाल मान्छेको मूल्य कहाँ छैन ? जहाँ पनि छ, खाली बेच्न मात्र सक्नुपर्छ मान्छे, अनि किन्न मात्र सक्नुपर्छ मान्छे । हेर्नुस् त बैंकका क्यासियर, रेस्टुराँका वेटर र जहाजका एयरहोस्टेजहरूले हाँसोको पनि मूल्य लिइरहेका छन् । सेवाग्राही सेवाको मात्र होइन, हाँसोको पनि मूल्य तिर्छन् । उनीहरूको व्यावसायिक भाषामा त्यो रणनीति हो । हाँसोका मात्र हो र ?
आजकाल त अलिकति सुन्दरताको पनि मूल्य जोडिन्छ, जानिँदो/नजाँनिदो पाराले । अघोषित हुन्छ भनौँ त्यो मूल्य । दाइजो ल्याउनेले आफू दाइजोमा किनिँदा र बेचिँदाको मूल्य कति बुझ्छ कुन्नि । जागिरमा मासिक तलब लिँदा मान्छेको मूल्य र श्रमिकले दिनभरि काम गरेर बेलुका श्रम बुझ्दाको मान्छेका कुनै न कुनै प्रकारका मूल्य नै हुन् । ठाउँअनुसारका फरक मूल्यहरू ।
श्रमिकको श्रमको मूल्यलाई रोबर्ट र मेसिनको युगले मूल्यहीन त बनाउँदैन ? कतै मान्छेले आफ्नो मूल्यका लागि मेसिनसँग प्रतिस्पर्धा गर्ने युग त सुरु भएन । यसो भए विज्ञान र प्रविधिले त मान्छेको मूल्यमा ह्रास पो ल्यायो कि ? यौन पेसामा लाग्ने मान्छेको मूल्य कति हुन्छ । त्यहाँ बिक्ने/बिकाउने र किन्ने/किनाउनेका मूल्यहरू कसरी निर्धारण हुन सक्लान् ।
मूल्य रकममा खोज्ने हो कि बिक्ने/बिकाउने, किन्ने/किनाउनेहरूको मर्यादामा हो ? अर्थोपार्जनकै लागि यौनकर्मी बन्ने र अर्थ खर्चेर यौनगमन गर्नेको मूल्यमा के फरक होला ? श्रम बेच्ने, शरीर बेच्ने र शरीरको मृगौला बेच्नेहरूबीचका मूल्यमा फरक भने पक्कै होलान् नि ? तर, यी सबैका मूल्यहरूमा बुझाइमा के एकरूपता होला र ? भनिन्छ, प्रेम अमूल्य हुन्छ । त्यसो भए प्रेमको विपरीत घृणाको मूल्य नि ? मान्छेको आशा, विश्वास र भावनाको मूल्य कति हो भनेर कसैलाई प्रश्न गरे कल्पना गरौँ त, कस्ता–कस्ता उत्तर आउलान् ?
निष्कर्षमा भन्न सकिन्छ, विश्वव्यापीकरणको आजको युगमा मान्छे कुनै न कुनै रूपमा मुद्रामा विनियम भएकै छ र मान्छेको मूल्यमा दिनप्रतिदिन ह्रास पनि हुँदै गएको छ । मान्छेको मूल्यभन्दा पैसाको मूल्य बढी छ । गहिरिएर सोच्दा पैसा मान्छेका लागि होइन, बरु मान्छे पैसाको लागि भएको छ । पैसाको दास भएको छ मान्छे । मान्छे मुद्रासँग विनिमय हुँदा आजको मान्छेले आफ्ना मानवीय मूल्यमान्यताचाहिँ अवमूल्यन गर्दै छ । मान्छेको मूल्यमा ह्रास आएको छ । मान्छेको मूल्यवृद्धि अब कसरी होला ?