औद्योगिक बौद्धिक सम्पत्ति दर्ता घट्यो «

औद्योगिक बौद्धिक सम्पत्ति दर्ता घट्यो

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा औद्योगिक बौद्धिक सम्पत्ति दर्तामा कमी आएको छ । उद्योग विभागका अनुसार गत आवको ६ महिनाभन्दा चालू आवको सोही अवधिमा ट्रेडमार्क तथा डिजाइन दर्ता संख्या घटेको छ । गत वर्षको पुससम्ममा १ हजार ६३४ ट्रेडमार्क दर्ता भएकोमा चालू आवमा १ हजार ५५१ को संख्यामा ट्रेडमार्क दर्ता भएका छन् ।

यस्तै, गत वर्ष १३ वटा डिजाइन दर्ता भएकोमा चालू वर्षमा भने ८ वटामात्र दर्ता भएको विभागका निर्देशक रमिला भण्डारीले जानकारी दिइन् । चालू आवको सुरुदेखि नै उद्योग दर्तामा कमी आइरहेको छ भने वैदेशिक लगानीमा पनि कमी आएको छ । यद्यपि, गत आवमा शून्यमा रहेको प्याटेन्ट दर्तामा यस वर्ष भने केही प्रगति देखिएको छ । चालू वर्षको पुससम्ममा एउटा प्याटेन्ट दर्ता भएको विभागले जनाएको छ ।

औद्योगिक बौद्धिक सम्पत्ति दर्तामा मात्र नभई यससम्बन्धी उजुरीमा पनि कमी आएको विभागको तथ्यांकमा उल्लेख छ । विभागले ट्रेडमार्कसम्बन्धी मुद्दामा सुनुवाइ र निर्णय पनि गर्दै आएको छ । विभागका अनुसार गत वर्षको पुससम्ममा ६४ वटा ट्रेडमार्कसम्बन्धी मुद्दामा कारबाही भएकोमा चालू आवमा भने ५७ वटामा सीमित भएको छ । नेपालको संविधानमा बौद्धिक सम्पत्तिलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । संविधानको धारा २५ मा सम्पत्तिको हकअन्तर्गत बौद्धिक सम्पत्तिलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको हो ।

यस्तै, नेपालमा हाल पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ तथा प्रतिलिपि अधिकार ऐन २०५९ कार्यान्वयनमा छन् । उद्योग विभागले विभिन्न वस्तु तथा सेवाको ट्रेडमार्क ‘होल्ड’ गर्नेविरुद्ध कडाइका साथ कारबाही गर्ने भएको छ । विभागले ऐनमा भएको व्यवस्थाअनुसार विभिन्न औद्योगिक उत्पादन तथा सेवामा प्रयोग गर्नेगरी ट्रेडमार्क प्राप्त गरेको एक वर्षभित्र प्रयोग गरिसक्नुपर्ने जनाएको छ ।

“विभागमा दर्ता भई दर्ता प्रमाणपत्र लिएका ट्रेडमार्क एक वर्षभित्र प्रयोग गरिसक्नुपर्ने प्रावधान छ,” विभागका महानिर्देशक रामचन्द्र तिवारी भन्छन्, “प्रमाणपत्र जारी भएको मितिले एक वर्षसम्ममा दर्ता भएको ट्रेडमार्क प्रयोगमा नल्याएमा विभागले आवश्यक जाँचबुझ गरी त्यस्तो ट्रेडमार्क दर्ता खारेज गर्नेछ ।” यद्यपी, खारेजअघि सफाइको मौका दिने र मनासिब कारण देखिए केही समय थप गरिने महानिर्देशक तिवारीले बताए । उनका अुनसार पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ मा नै यो व्यवस्था भएकाले ट्रेडमार्क होल्ड गर्ने प्रवृत्ति निरुत्साहित गर्न यस्तो व्यवस्था गर्न लागिएको हो ।

विभागले दर्ता भई प्रमाणपत्र लिइसकेका सबै ट्रेडमार्क धनी उद्योगी–व्यवसायीहरूले आफूले लिएको ट्रेडमार्क प्रयोग भए/नभएको स्पष्ट प्रमाणसहित तोकिएको म्यादभित्र जानकारी गराउन सूचित गरेको छ । विभागको औद्योगिक सम्पत्ति शाखामा यसको जानकारी गराउनुपर्ने कानुनी व्यवस्था रहेको छ । ऐनले तोकिएको अवधिभित्रमा प्रयोग भएको जानकारी विभागमा नगराएमा कानुनबमोजिम कारवाहीको प्रक्रियामा जाने विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्