क्रसर उद्योग बन्द भएपछि निर्माणकार्य प्रभावित «

क्रसर उद्योग बन्द भएपछि निर्माणकार्य प्रभावित

सरकारले बन्द गराएका क्रसर उद्योगहरू तत्कालै नखुलाए विकास निर्माणका आयोजना बन्द हुने लमजुङका व्यवसायीले चेतावनी दिएका छन् । गृह मन्त्रालयको निर्देशनमा जिल्लामा सञ्चालित क्रसर उद्योगहरू बन्द भएपछि विकास निर्माणको काम प्रभावित भएको भन्दै निर्माण व्यवसायीले यस्तो चेतावनी दिएका हुन् ।

निर्माण व्यवसायी संघ लमजुङले सोमबार पत्रकार सम्मेलन गरी निर्माण व्यवसायीले तत्काल क्रसर उद्योग सञ्चालन गर्न दिनुपर्ने माग राखेका छन् । उत्पादित पुरानो सामग्री पनि उठाउन नपाउने र नयाँ उत्पादन पनि रोकिएपछि निर्माणका काम प्रभावित भएको निर्माण व्यवसायी संघ लमजुङका अध्यक्ष सतिश पराजुलीले बताए । विकास निर्माणका कामले गति लिने समयमा क्रसर उद्योग बन्द हुँदा दीर्घकालीन प्रभाव पर्ने अध्यक्ष पराजुलीको भनाइ छ ।

“गतवर्ष पनि कोरोनाका कारण निर्माणकार्य प्रभावित भयो, अहिले क्रसर नै बन्द भयो,” अध्यक्ष पराजुलीले भने, “दैनिक महँंगी बढ्दो छ, काम गर्न सरकारले सहज बनाई दिनुपर्छ ।” तोकिएको समयमा काम नगर्दा ठेकेदारले काम गरेन भनेर राज्यले आरोप लगाउने गरेको भन्दै अध्यक्ष पराजुलीले बढ्दो महँंगीमा कुनै पनि निर्माण व्यवसायी काम टार्ने अवस्थामा नरहेको बताए । “हामीले काम नगर्दा राज्यलाई भन्दा हामीलाई नै नोक्सानी हुन्छ,” पराजुलीले भने, “हामीलाई काम कसरी सम्पन्न गरौं भन्ने चिन्ता छ, तर काम गर्ने सहज वातावरण छैन ।”

कार्यक्रममा बोल्दै निर्माण व्यवसायी संघ लमजुङका निवर्तमान अध्यक्ष पूर्णचन्द्र पोख्रेलले अहिलेको मापदण्डले कुनै क्रसर उद्योग पनि सञ्चालन हुन नसक्ने बताए । जंगल, खोला र सडकले नछोएको ठाउँ नभएकाले वर्तमान ऐन संसोधन गर्नुपर्ने पोख्रेलको भनाइ थियो । “पहाड र तराईमा एउटै नियमले काम गर्न सकिदैन,” पोख्रेलले भने, “सरकारले स्थान र परिवेश अनुसारको कानुन निर्माण गरी निर्माण व्यवसायीलाई सहज बनाइनु पर्छ ।”

गत २० पुसमा मन्त्रालयले निर्देशन दिएसँगै २५ गते जिल्ला प्रशासन कार्यालय लमजुङले सार्वजनिक सूचना जारी गरी जिल्लामा रहेका सबै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो । सोहीअनुरूप जिल्लाका सबै क्रसर उद्योग बन्द भएका छन् । लमजुङमा दर्ता भई नवीकरण नभएका पाँचवटा र दर्ता नै नभई सञ्चालन भएका दुईवटा गरी सातवटा क्रसर उद्योग सञ्चालनमा थिए ।

अहिले सबै उद्योग बन्द भएपनि वैध र अवैध उद्योग प्रमाणितपछि वैधानिक उद्योगलाई सञ्चालन गर्न अनुमति दिइने प्रशासनले जनाएको छ । जिल्लास्थित क्रसर उद्योगहरूको अनुगमनका लागि जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा समिति छ । व्यवसायीबाट प्राप्त कागजपत्रको आधारमा स्थलगत अनुगमन गरी समितिले मापदण्ड पुगेका क्रसरलाई सञ्चालनको प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्