भेरी अस्पतालमा डायलाइसिस युनिटको क्षमता विस्तार «

भेरी अस्पतालमा डायलाइसिस युनिटको क्षमता विस्तार

नेपालगन्जको भेरी अस्पतालमा मिर्गौला डायलाइसिस युनिटको क्षमता विस्तार गरिएको छ । यसअघि एउटा इमरजेन्सीसहित चारवटा डायलाइसिस मेसिनबाट सेवा दिइरहेको युनिटमा हाल ६ वटा मेसिन थप गरी सेवा विस्तार गरिएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरिले आइतबार डायलाइसिस सेवा कक्षको उद्घाटन गरेपछि थपिएका डायलाइसिस मेसिनसमेत सञ्चालनमा आएका छन् ।

भेरी अस्पतालका हेमोडायलाइसिस युनिट प्रमुख डा. पारस श्रेष्ठका अनुसार यसअघि इमरजेन्जीसहित दैनिक नौजनाले सेवा पाइरहेकोमा अब दैनिक १८ जनाले सेवा पाउने छन । सेवा विस्तारसँगै डायलाइसिस गराउन नपाएर समस्यामा परेका बिरामीलाई सहज भएको उनको भनाइ छ । “हाल २५ जना पालो कुरेर प्रतिक्षामा बसेका छन्,” उनले भने, “अब ती बिरामीलाई पालैपालो सेवा उपलब्ध गराइने छ ।”

अस्पताल स्रोतका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्म दुई हजार ५ सय ३३ जनाले नाम लेखाएर पालो कुरेर सेवा लिएका छन भने ५ सय १८ जना आकस्मिक रूपमा भर्ना भएका बिरामीले डायलाइसिस सेवा लिएका छन् । त्यस्तै गत वैशाखदेखि चालू आर्थिक वर्षको पुस मसान्तसम्म दुई हजार २ सय ११ जना बिरामीले नाम लेखाएर पालोअनुसार सेवा लिएका छन् भने १ सय ५ जना आकस्मिक रूपमा भर्ना भएका बिरामीले डायलाइसिस सेवा लिएका छन् ।

डायलाइसिस सेवा लिन चाहने विरामी तथा तिनका आफन्तले चाँडै नाम लेखाएर आफ्नो पालो सुरक्षित गर्न डा. श्रेष्ठले आग्रह गरेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंले भेरी अस्पतालवाट प्रदान गरिने सेवालाई सर्वसुलभ र पहुँचमैत्री बनाउने उद्देश्यसहित डायलाइसिस सेवालाई विस्तार गरिएको बताए ।

१० मध्ये ६ वटा मेसिनबाट दैनिक तीन सिफ्ट गर्दा १८ सेसनमा सेवा विस्तार हुने बताउँदै अन्य संक्रामक रोगहरू हेपाटाईटिस बी, सी र एचआईभी एड्सको निम्ति अलग्गै मेसिनको व्यवस्था गरिएको बताए । सबै मेसिनबाट गरी अस्पतालको डायलाइसिस सेवा चार सय गुणाले वृद्धि भएको बताउँदै थप एक मेसिन आकस्मिक घटनाका लागि छुट्याइएको उनको भनाइ छ ।

आइतबार अस्पतालको डायलाइसिस कक्षमा डायलाइसिस गराउन आएका स्थानीय रवीन्द्र श्रेष्ठले केही समय पालो कुर्नु परे पनि घरनजिकै सहजै डायलाइसिस सेवा पाउँदा खुसी लागेको बताए । “अब थप सेवा विस्तार भएपछि झनै सहज हुने आशा जागेको छ,” उनले भने । सरकारले मिर्गौला पीडितका लागि डायलाइसिस सेवा निःशुल्क गरेको छ ।

तर पनि सरकारी अस्पतालमा क्षमताभन्दा बढी बिरामी डायलाइसिस गर्न आएका कारण सेवा दिन असहज भएको अस्पतालले जनाउँदै आएको थियो । यसअघि भेरी अस्पतालमा डायलाइसिस गर्ने पालो नपाएर निजी अस्पतालमा महँगो रकम तिरेर उपचार र डायलाइसिस गर्न बाध्य भएको भन्दै सेवा सहज बनाउन विरामीहरूले माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्