चिनियाँ सोलार प्यानलमा अमेरिकी प्रतिबन्धको असर «

चिनियाँ सोलार प्यानलमा अमेरिकी प्रतिबन्धको असर

गत महिना चाइना सिलिकन इन्डस्ट्री एसोसिएसनलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले एक समाचार प्रकाशित गरेको थियो, जसमा ठूला र प्रमुख चिनियाँ सौर्य प्यानल निर्माताहरू लङ्गी ग्रिन, टीसीएल झोङहुवान र टङ्वीले कच्चा पदार्थको लागतमा भएको कटौतीका कारण उनीहरूको मूल्य झन्डै २७ प्रतिशतको हाराहारीमा कटौती गरेको उल्लेख छ ।

यी चिनियाँ कम्पनीहरूले सौर्य प्यानलमा गरेको कटौतीले विश्व र विशेष गरी युरोपलाई नै फाइदा पुगेको छ । पछिल्लो समयमा युरोपले आफ्नो ऊर्जाको क्षेत्रलाई विविधीकरण गर्ने बताएको छ । रूसले युक्रेनमाथि गरेको हमलाको विरोधमा युरोपले रूसी तेल र ग्याँसमाथिको मूल्य सीमा नै तोकेर मात्रै खरिद गर्ने उल्लेख गरिसकेको छ, यो पनि मूल्य घटाएर ।

यस्तो अवस्थामा रूसले पनि घटेको मूल्यमा खनिज तेल र प्राकृतिक ग्याँस युरोपलाई बिक्री गर्ने अवस्था रहन्न । त्यसैले रूस–युक्रेन युद्धको मारमा युरोपको ऊर्जा संकट उत्पन्न भएको छ । त्यो किनभने हाल युरोपमा आपूर्ति हुँदै आएको रूसी खनिज तेल र प्राकृतिक ग्याँसमा अवरोध आएको छ । सौर्य उत्पादनमा चीन विश्वकै बढी उत्पादन गर्ने मुलुक हो । चीनले विश्वमा हुने फोटोभोल्ट्याइक प्यानलको ८० प्रतिशत आपूर्ति गर्दै आएको छ ।

यो जानकारी अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका तर्फबाट आएको हो । आफ्नो १४ औं पञ्चवर्षीय योजना अर्थात् सन् २०२१ देखि २०२५ सम्मको अवधिमा बेइजिङले २०६० सम्ममा आफ्नो कार्बन न्युट्रालिटी लक्ष्यअगावै वायु र सौर्य ऊर्जाबाट कम्तीमा पनि ५ सय ७० गिगावाट नवीकरणीय ऊर्जा थप्ने अपेक्षा गरेको छ । योसँगै उक्त समयसम्ममा चीनले गैरखनिज इन्जन ऊर्जाको स्रोत देशको पूरै ऊर्जा क्षेत्रको ८० प्रतिशतभन्दा माथि पुग्ने अपेक्षा गरिएको छ ।

बाध्यकारी श्रम गराएको आरोप लगाउँदै वासिङ्टनले चीनको सिनजियाङ उइगुर स्वशासित क्षेत्रबाट आउने सौर्य ऊर्जा कम्पोनेन्टमा प्रतिबन्ध लगाएकाले विश्वले चीनको सस्तो सौर्य ऊर्जा प्यानलबाट लाभ लिए पनि अमेरिकाले भने लिन नसक्ने देखिन्छ ।

यसैगरी २७ सदस्यीय युरोपेली संघ (ईयू) ले यो लक्ष्य चीनको भन्दा अगावै अर्थात् २०५० लाई निर्धारण गरेको छ । योसँगै ईयूले आफ्नो ऊर्जा पोर्टफोलियोलाई खनिज इन्धनबाट अन्यत्र सार्दै विविधीकरण गर्ने योजना अगाडि सारेको छ । यसमा युक्रेनमा देखिएको द्वन्द्वले त झनै यो योजनालाई गति दिन युरोपलाई दबाब परेको छ । अनुमानका अनुसार ईयूले २०२२ मा मात्रै ४१.४ गिगावटको विशाल सौर्य ऊर्जा थपेको छ ।

यो २०२१ अर्थात् अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतभन्दा पनि बढी हो र यो वर्ष अर्को ५३.६ गिगावाट थपिने प्रक्षेपण गरिएको छ । योसँगै युरोपको कुल क्षमता २ सय ६२ गिगावाट पुगेको छ र युरोपले आफ्नो हरित ऊर्जा संक्रमणको अवस्थालाई विस्तार गरेसँगै चीनले घटाएको मूल्यले युरोपको परिवर्तनको ठूलो हिस्सामा लाभ नै मिल्ने देखिन्छ । त्यो पनि किनभने युरोपले आफ्नो खपतको ५० प्रतिशतको हाराहारीमा चीनबाट आयात गर्दै आएको छ ।

एसिया–युरोप क्लिन इनर्जी (सोलार) एडभाइजरीका संस्थापक फ्रान्क हाउगविजलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले चीनको न्यून अर्थात् घटेको मूल्यले युरोपमा मात्र नभई अर्को महत्त्वपूर्ण बजारहरू दक्षिणपूर्वी एसिया, मध्यपूर्व (मिडल इस्ट) र अफ्रिकाबाट समेत ताजा माग आउने उल्लेख गरेको छ । तर एउटा महत्त्वपूर्ण देशले भने चीनको सौर्य प्यानल निर्यातको नेतृत्वबाट फाइदा लिन सक्दैन । त्यो देश हो, अमेरिका ।

अमेरिकाले चिनियाँ सौर्य प्यानलको उपभोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । बाध्यकारी श्रम गराएको आरोप लगाउँदै वासिङ्टनले चीनको सिनजियाङ उइगुर स्वशासित क्षेत्रबाट आउने सौर्य ऊर्जा कम्पोनेन्टमा प्रतिबन्ध लगाएकाले विश्वले चीनको सस्तो सौर्य ऊर्जा प्यानलबाट लाभ लिए पनि अमेरिकाले भने लिन नसक्ने देखिन्छ । तर अमेरिकाले अझै पनि सिनजियाङमा आफ्नो मानव अधिकारको अभियानलाई समर्थन गर्ने एक टुक्रा प्रमाण देखाउन बाँकी नै छ ।

उसले यसो गर्न सकेमा मात्रै बहुसंख्यक अन्तर्राष्ट्रिय समुदाय र प्रत्येक प्रमुख मुस्लिम देशलाई चिनियाँ सौर्य प्यानल नकिन्नका लागि दबाब दिन वा आग्रह गर्न सक्छ । यदि उसले चीनको सिनजियाङ प्रान्तमा बाध्यकारी श्रम गर्न लगाएको प्रमाणित गर्न नसकेमा अमेरिकाको स्टेट डिपार्टमेन्टको आफ्नै महान्याधिवक्ताले चीनविरुद लगाइएको हत्याको आरोपमाथि पनि आशंका व्यक्त गर्न सक्छन् । यसको नकारात्मक असर स्वयं अमेरिकालाई नै पर्नेछ ।

अमेरिका स्वयं आफ्नै हरित ऊर्जा विकासमा आफैंले लगाएको अवरोधबाट प्रभावित भइरहेको छ । जस्तै चिनियाँ सौर्य प्यानल र पोलिसिलिकनमा लगाएको प्रतिबन्ध र वासिङ्टन स्वयं नै आफ्नो कार्बन न्युट्रालिटी लक्ष्यमा पुग्न सक्ला भन्ने आशंका उत्पन्न गराएको छ । अमेरिकाले यी प्रतिबन्धको माध्यमबाट सौर्य उद्योगको विश्वव्यापी ठूला र प्रमुख आपूर्ति श्रृंखलामा अवरोध सिर्जना गरेको छ र घरेलु उत्पादनले यो घाटाको क्षतिपूर्ति गर्न सक्ला भनेर व्यापक आशंका व्यक्त गरिएको छ ।

जलवायु परिवर्तन गम्भीर अन्तर्राष्ट्रिय विषय बनिसकेको छ । यसले विश्वका अतिवृष्टि, अनावृष्टि, बाढीपहिरो र अम्लीय वर्षाजस्ता जटिल समस्या ल्याइसकेको छ, जसका लागि विश्व समुदायबाट व्यापक र सामूहिक जिम्मेवारीको माग आवश्यक भइसकेको छ । मानवीय जलवायु परिवर्तनका कारण हाम्रो पृथ्वीमा भएका सबै प्रजाति संकटमा परिसकेका छन् । हामीले बुझेको संगठित मानव जीवन संकटमा परिसकेको छ ।

यूएस इनभायरोमेन्टल प्रोटेक्सन एजेन्सी (ईपीए) ले सेप्टेम्बर, २०२१ मा सार्वजनिक गरेको रिपोर्टअनुसार देशको पुरानो हुँदै गएको पूर्वाधारका कारण जलवायु परिवर्तनबाट हुने विशेष खतरायुक्त देशमा अमेरिका नै रहेको छ । यसमा पनि अमेरिकाको अल्पसंख्यक समुदाय विशेष खतरामा रहेका छन् । खनिज इन्धनको पक्षमा गरिँदै आएको वकालतको आकार अवश्य पनि विशाल छ । यो वासिङ्टनमा किङमेकरमध्येको एक हो ।

२०१७–१८ को मध्यकालीन चक्रको एक प्रतिस्पर्धामा यसले नवीकरणीय ऊर्जा लबीलाई १ का विरुद्ध १३ ले हराएको थियो । यो चीनविरुद्धको अभियानका पछाडि निःसन्देह महत्त्वपूर्ण शक्ति थियो । हरित प्रविधिमा विश्वका नेताको हैसियतमा चीनले फोहोर ऊर्जाको आपूर्तिलाई पार गर्नका लागि आफ्नो भूमिका खेल्ने प्रयास अवश्य पनि गरिरहेको छ । जलवायु परिवर्तनले कीर्तिमानी अवस्थाको तातो हावा, घातक आँधी र अन्य डरलाग्दा मौसमी घटनाहरू दोहोर्‍याइरहेकाले जलवायु परिवर्तनको विषय कुनै अमूर्त र टाढाको अवधारणा भएको छैन ।

यसले अमेरिकाभित्र नै लाखौं मानिस खतराको सूचीमा परेका छन्, जसले पूरै ऊर्जा ग्रिडलाई तहननहस पारेको छ र बर्सेनि सयौंको संख्यामा मृत्यु भइरहेको छ । यी विषयहरूलाई आधार मान्दा आफ्ना नागरिकको ऊर्जा पोर्टफोलियोलाई विविधीकरण गरेर नवीकरणीय ऊर्जामा लैजाने र सुरक्षा प्रदान गर्न सकिने खालको पूर्वाधार निर्माण गर्ने दायित्व अमेरिकाको हो, जसले यस किसिमका घटनालाई कम गर्न सक्छ । वासिङ्टनका नीति निर्माताहरूले आफ्ना घटकहरूलाई चीनविरूद्ध प्रतिबन्ध लगाएर बेकामे बनाएका छन् ।

प्रमुख सोलार प्यानलको उत्पादकका रूपमा बेइजिङको भूमिकालाई अस्वीकार गर्न सकिन्न र चीनलाई अमेरिकाको केन्द्रीय भूराजनीतिक विरोधीको रूपमा पहिचान दिनु असान्दर्भिक हुनेछ । यदि अमेरिकाले उपयुक्त रूपमा जवलायु परिवर्तनको विरुद्धमा आफ्नो भूमिका निर्वाह गर्ने हो र आफ्ना नागरिकको भलाइका लागि काम गर्ने र सुरक्षा प्रदान गर्ने हो भने उसले चीनको सौर्य ऊर्जा प्यानल उद्योगमा लगाएको प्रतिबन्ध हटाउनुपर्छ । उसले सिनजियाङमा उइगुर मुसलमानलाई जबरन काममा लगाएको र उनीहरूको मानव अधिकारको उल्लंंघन गरेको आरोप लगाएको छ ।

यसैलाई आधार मान्दै सिनजियाङमा उत्पादन हुने सोलार प्यानलको खरिदमा प्रतिबन्ध लगाएको हो । उसले विश्व समुदायलाई प्रमाणित पनि गर्न सकेको छैन र यो प्रमाणित नहुँदासम्म विश्व समुदायले उसको आग्रहलाई मान्ने सम्भावना पनि त्यति छैन । त्यसैले आफ्नो देशको हरित र नवीकरणीय ऊर्जाको प्रवर्द्धन तथा जलवायु परिवर्तनको असरबाट आफ्ना जनतालाई सुरक्षा प्रदान गर्न पनि सिनजियाङबाट आउने सोलार प्यानलमाथिको प्रतिबन्ध हटाउनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्