विमान खरिदको व्यावसायिक योजना पेश गर्न निर्देशन «

विमान खरिदको व्यावसायिक योजना पेश गर्न निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले आफ्ना विमानहरुको रिर्पोट हरेक दिन मन्त्रालयमा पेश गर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन् । मन्त्री नियुक्त भएपछि सोमबार निगमको भ्रमण गर्दै मन्त्री किरातीले व्यवसायिकतालाई ध्यान राखी विमानहरुको उचित व्यवस्थापन गरी सेवाप्रति प्रतिबद्ध गुणस्तरीय एवम् चुस्त सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

उनले व्यवस्थापकीय परिणाममुखी ढंगले कार्य सम्पादन गर्न, हवाई टिकट अनलाइन बुकिङ गर्न सकिने व्यवस्था मिलाउन र एक सक्षम एवम् गुणस्तरीय सेवाप्रदायक संस्थाको रुपमा स्थापित गर्न समेत निर्देशन दिएका छन् । निगमको अवलोकन भ्रमण पछि मन्त्री किरातीले भने, “कुन जहाज, कति बजे, कहाँ डिले भयो ? भन्ने सम्मको रिर्पोट आफूलाई हरेक दिन बुझाउनु ।”

सोमबार निगम व्यवस्थापनले आयोजना गरेको आफूहरुको स्वागत कार्यक्रममा बोल्दै उनले निगमलाई गौरवको विषय बनाउने गरी कार्ययोजना बनाउन ढिलाई गर्न नहुने बताए । यदि त्यसो गर्न नसक्ने हो भने निगम पदाधिकारीले तत्काल राजीनामा दिनुपर्ने मन्त्री किरातीले चेतावनी दिउ ।

“समस्यालाई हात्ती जत्रो, समाधानको स्रोत चाँही झिंगोको टाउँको जत्रो भएपछि कसरी हन्छ ? समस्यालाई भकुन्डो जत्रो, समाधानको स्रोत चाँही गुच्चा जत्रो” उनले भने, “अब समाधानको स्रोत तपाईँले भकुण्डो जत्रो देखाउन सक्नुपर्छ विजनेश प्लानमा । हाम्रो समस्या केही पनि होइन भनेर तपाईहरुले दिने गरी ल्याउनु पर्छ ।” मन्त्री किरातीले १ महिना भित्र अनलाइन टिकट पाउने गरी आवश्यक व्यवस्था मिलाउन पनि निगमलाई निर्देशन दिए ।

त्यसका लागि आवश्यक नीतिगत व्यवस्था आफूहरुले तत्काल गरिदिने भन्दै उनले निगमलाई मान्छेहरुले घृणा गर्ने गरेकाले असफल बनाउने छुट कसैलाई पनि नभएको बताए । मन्त्री किरातीले निगमजस्तो मुलुकको गौरवशाली संस्था डुबेको आफूले टुलुटुलु हेरेर बस्न नसक्ने बताए । उनले अन्य जहाजहरु नाफामा हुने तर निगमको जहाज भने घाटामा हुने कारणको खोजी गर्ने बताए ।

मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल वायुसेवा निगमलाई विमान किन्नुअगाडि स्पष्ट ‘बिजनेस प्लान’ बनाउन निर्देशन दिए । सचिव अधिकारीले निगमलाई विमान आवश्यक रहेको भन्दै जहाज खरिदको लागि स्पष्ट बिजनेस प्लान बनाउन निगमलाई आग्रह गरेका हुन् । कुनैपनि वायुसेवा कम्पनी उडानमा केन्द्रित हुनुपर्ने भन्दै विमान उडानलाई नै प्राथमिकता दिन निर्देशन दिएका थिए ।

निगमले नेपालका दुर्गम र पहाडी क्षेत्रको मागलाई धान्न नसकेको गुनासो गर्दै उनले वाइडबडीले बिजनेस नपाएको भन्दै ३३० को वाइडबडीका लागि नयाँ गन्तव्यको लागि पहिचान गर्ने र उडान भर्नसक्ने क्षमता विकास गर्नुपर्ने भएको बताए । सरकारले निगमलाई सक्षम व्यवसायी, सेवामुलक र आत्मनिर्भर संस्थाको रुपमा विकास गर्न चाहेकोले गर्दा सबैले सबल संस्थाको रुपमा हेर्न चाहेको सचिव अधिकारीको भनाइ थियो ।

कार्यक्रममा निगमका कार्यकारी निर्देशक युवराज अधिकारीले आन्तरिक उडानको लागि थप विमान किन्नुपर्ने बताए । उनले निगमलाई सबैभन्दा पहिला आन्तरिक रुपमा बलियो बनाउनको लागि आन्तरिक उडानका लागि विमानहरु थप्न आवश्यक रहेको प्रष्ट पारेका छन् । उनले भने, “निगमलाई सक्षम र सुदृढ बनाउने गरी कार्ययोजना बनाइरहेको छ । निगमले सेवा बिस्तार गर्दा नाफा नोक्सानको भन्दा पनि राष्ट्रिय दायित्व पूरा गर्नुपर्ने छ ।”

निगमको आर्थिक अवस्थाले ३ वटासम्म विमान किन्नसक्ने भएकाले निगम आन्तरिक उडानको लागि जहाज थप्ने तयारीमा रहेको भन्दै उनले सञ्चालक समिति र मन्त्रालयको निर्देशन हुनासाथ अगाडि बढ्न निगम तयार रहेको बताए । अधिकारीले निगमको प्राथमिकता यात्रुको सेवामा गुणस्तरियता बढाउने र निगमको सुधारमा तीव्रता ल्याउनु रहेको प्रतिवद्धता जनाए । उनले निगमको वित्तीय पुनःसंरचना नगरिएसम्म निगममा आमुल परिवर्तन हुनसक्ने अवस्था नभएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्