६ महिनामा ७ खर्बको व्यापार घाटा «

६ महिनामा ७ खर्बको व्यापार घाटा

चालू आर्थिक वर्षको छैटौं महिना पुसमा निकासी व्यापारमा अघिल्लो महिनाको तुलनामा केही सुधार देखिएको छ । आयातमा आइरहेको कमी पुसमा पनि निरन्तर छ । सरकारले पुसबाट लागू हुने गरी विलासी वस्तुको आयात प्रतिबन्ध हटाएको थियो । यसले आयात फेरि बढ्ने अनुमान गरिएको थियो । तर, नतिजाले त्यस्तो देखाएको छैन । गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्धलाई मंसिर मसान्तपछि निरन्तरता नदिने निर्णय गरेर कार्यान्वयनमा आए पनि तत्काल यसको प्रभाव वैदेशिक व्यापारमा देखिएको छैन ।

भन्सार विभागका अनुसार पुस महिनामा १ खर्ब २७ अर्ब ९१ करोड ९८ लाख रुपैयाँको वस्तु आयात भएको छ । यस्तै, १३ अर्ब ५० करोड २९ लाख रुपैयाँको वस्तु निकासी भएको विभागको तथ्यांक छ । अघिल्लो महिना मंसिरमा भने १ खर्ब ३२ अर्ब रुपैयाँको आयात र १२ अर्ब ५३ करोड रुपैयाँको निकासी भएको थियो ।

विभागका अनुसार पुस मसान्तसम्म कुल वैदेशिक व्यापार अघिल्लो आवको तुलनामा २१.८९ प्रतिशतले घटेर ८ खर्ब ७३ अर्ब ४७ करोडमा सीमित भएको छ । अघिल्लो पुसमा वैदेशिक व्यापार ११ खर्ब १८ अर्ब रुपैयाँ पुगेको थियो । कुल वैदेशिक व्यापारमा कमी आएसँगै व्यापार घाटा पनि घटेको छ, जसअनुसार पुससम्म ७ खर्ब ११ अर्ब ८५ करोड रुपैयाँको व्यापार घाटा भएको छ ।

अघिल्लो पुससम्ममा ८ खर्ब ८० अर्ब ४९ करोडको व्यापार घाटा भएकोमा चालू आवमा १९.१५ प्रतिशतले कमी आएको छ । आयातमा कमी आएका कारण व्यापार घाटामा सुधार देखिए पनि निर्यात व्यापारसमेत कमजोर अवस्थामा पुगेका कारण सन्तोष मान्ने अवस्था भने देखिँदैन । अघिल्लो पुससम्म १ खर्ब १८ अर्ब ८५ करोडको वस्तु निर्यात भएकोमा चालू आवमा भने ८० अर्ब ८० करोडमा सीमित छ ।

यस्तै, यो अवधिमा आयात व्यापार २०.६८ प्रतिशतले घटेको छ । पुससम्म ७ खर्ब ९२ अर्बको आयात भएको तथ्यांक रहेको छ । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा अघिल्लो वर्षको तुलनामा कमी आए पनि अघिल्लो महिनाको तुलनामा भने न्यून वृद्धि भएको छ । पुसमा निर्यातको हिस्सा ९.२५ प्रतिशत छ भने अघिल्लो महिना ९.१९ प्रतिशत र अघिल्लो वर्षको पुसमा भने १०.६३ प्रतिशत रहेको थियो ।

पुससम्म १ खर्ब १५ अर्ब ५८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल सबैभन्दा बढी ७० अर्ब १० करोड तथा पेट्रोल ३३ अर्ब ५३ करोड र हवाई इन्धन ११ अर्ब २४ करोड रुपैयाँको आयात भएको छ । यस्तै, निर्याततर्फ सबैभन्दा बढी पाम आयल १३ अर्ब ८ करोडको निकासी भएको छ भने सोयाबिन आयल ८ अर्बको निकासी भएको छ । ६ महिनाको अवधिमा भारतसँग सबैभन्दा उच्च व्यापार घाटा रहेको छ ।

भारतसँग मात्र ४ खर्ब २८ अर्ब ४८ करोडको व्यापार घाटा छ भने चीनसँग १ खर्ब ९ अर्ब ६३ करोडको । सरकारले विलासी वस्तुको आयातमा प्रतिबन्ध हटाए पनि सवारी साधन लगायतका वस्तु बिक्री हुने सम्भावना नरहेका कारण व्यवसायीहरुले आयातमा प्रतीतपत्र (एलसी) खोल्न नचाहेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा बताउँछन् ।

आयात प्रतिबन्ध हटाइए पनि बैंकिङ क्षेत्रमा तरलता अभावका कारण ‘इजी फाइनान्सिङ’को सुविधा उपलब्ध नभएकाले गाडी बिक्रीको सम्भावना नरहेको उनको भनाइ छ । सहज बैंकिङ सुविधा उपलब्ध नभएसम्म व्यवसायीले एलसी खोल्न नसक्ने उनले प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्