अन्तर्राष्ट्रिय एयरलाइन्सको लाइसेन्स प्रतिस्पर्धाबाट «

अन्तर्राष्ट्रिय एयरलाइन्सको लाइसेन्स प्रतिस्पर्धाबाट

सरकारले नेपाली वायुसेवा कम्पनीका लागि अन्तर्राष्ट्रिय उडानको लाइसेन्स खोल्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ वर्षपछि यस्तो लाइसेन्स खोल्ने तयारी गरेको हो । वि.सं. २०६६ यता लाइसेन्सका लागि सरकारले आवदेन मागेको छैन ।
सरकारले अन्तर्राष्ट्रिय उडान अनुमति जारी गर्न आवश्यक सर्त तथा नियमावली (टीओआर) को संशोधन प्रक्रिया समेत अगाडि बढाएको छ । प्रत्येक ३ वर्षमा संशोधन गर्ने भनिए पनि २०६६ यता पहिलोपल्ट संशोधन गर्न लागिएको हो । मन्त्रालयले तयार पार्ने प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेपछि मात्रै टीओआर कार्यान्वयनमा आउनेछ ।
“सर्त तथा नियमावली संशोधन ३ वर्षमा गर्नुपर्ने भए पनि हालसम्म नभएकोले संशोधनका लागि प्रक्रिया अगाडि बढाएका छौ,” मन्त्रालयका हवाई महाशाखा हेर्ने सहसचिव सुरेश आचार्यले भने । संशोधनपश्चात सार्वजनिक सूचनामार्फत आवेदन खुला गर्न लागेको आचार्यले जानकारी दिए ।
सरकारले यसपटक यात्रुबाहकका लागि दुईवटा एयरलाइन्स र एउटा कार्गोको लागि लाइसेन्स खुला गर्न लागेको हो । कार्गोतर्फ पहिलोपटक सरकारले लाइसेन्स खुला गर्ने तयारी गरेको हो । सरकारले आवेदन मागेपछि एयरलाइन्स लाइसेन्स लिन चाहानेहरूले भाग लिन सक्नेछन् । सरकारले तयार पारेको टीओआरअनुसार आवेदन दिने र सवै हिसाबले उडान गर्नसक्नेलाई छानेर मन्त्रालयले अनुमति जारी गर्नेछ ।
हाल नेपालमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसहित, हिमालय एयरलाइन्स, बुद्ध एयर, अल्पाइन, बीबी एयरवेजलगायतले अन्तर्राष्ट्रिय उडानको लाइसेन्स लिएका छन् । हिमालय र बुद्धले भने उडान गरिरहेका छन् । हेलिकप्टरतर्फ श्री एयरलाइन्ससँग मात्रै लाइसेन्स छ ।
लाइसेन्सका लागि सरकारले धेरै सर्त तयार पारेको छ । हालको सर्त तथा नियमावलीमा पाँच वर्ष आन्तरिक उडान भर्ने एयरलाइन्स कम्पनीहरूले सिधै अन्तर्राष्ट्रिय उडानको लागि अनुमति पाउने व्यवस्था छ । नयाँको लागि भने सरकारले ‘ओपन बिडिङ’मार्फत लाइसेन्स दिँदै आएको छ । हाल श्री एयरलाइन्सले लाइसेन्सको आवेदन दिएको छ ।
श्री एयरलाइन्सको पाँच वर्ष नपुगेको सर्त तथा नियमावलीअनुसार ओपन बिडिङमार्फत लाइसेन्सको लागि आवेदन दिनुपर्ने भएको छ । सरकारले आवेदन दिएका कम्पनीहरूको मानव स्रोत साधन, जहाजको संख्या, आर्थिक अवस्था लगातय विषयमा अध्ययन गरेर मात्रै लाइसेन्स दिइन्छ ।
सरकारले अन्तर्राष्ट्रिय लाइसेन्सका लागि तीनवटा समूह बनाएको छ । जसमा ‘ए’ समूहमा लाइसेन्स पाउनेले लामो दूरीको अन्तर्राष्ट्रिय उडान भर्न पाउने छ । जसको लागि कम्तीमा ३ वटा वाइडबडी आवश्यक पर्दछ । त्यस्तैगरी ‘बी’ समूहले मध्यम दूरीको उडान भर्न पाउने छ । जसका लागि ३ वटा न्यारोबडीका जहाज आवश्यक पर्दछ भने ‘सी’ समूहमा हेलिकप्टर सेवालाई लिइएको छ । जसको लागि ३ वटा हेलिकप्टर आवश्यक पर्दछ । जसको लाइसेन्स लिएर हाल श्री एयरले अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । सरकारले जारी गरेको लाइसेन्स एयरलाइन्स कम्पनीहरूले प्रत्येक चार वर्षमा नवीकरण गर्नुपर्ने हुन्छ ।
सर्त तथा नियमावली संशोधन हुँदै सरकारले हाल रहेका सर्तहरू संशोधन गर्न लागेको छ । जसमा मुख्य गरी चुक्तापुँजी बढाउने तयारी गरिएको छ । हाल अन्तर्राष्ट्रिय एयरलाइसेन्सको लागि ५० करोड रुपैयाँ चुक्तपुँजी आवश्यक पर्दछ । यसलाई बढाएर १ अर्बभन्दा बढी पुर्याउने तयारी गरिएको छ । पाँच अर्ब पु¥याउने भनिए पनि १ अर्बभन्दा बढी नबनाउने तयारी गरिएको हो भने रोयल्टीबापतको शुल्कसमेत वृद्धि गरिने तयारी गरिएको छ । हाल ५० हजारदेखि ५ लाख रुपैयाँसम्म रोयल्टी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्