विकासका योजना अभियानकै रूपमा लगिने

गुल्मीको रेसुंगा नगरपालिकाले अभियानकै रूपमा काम गर्दै गएको छ । पहिलो कार्यपालिकाको बैठकबाट भएका निर्णयको कार्यान्वयन, तम्घास बजारलाई व्यविस्थत, सहज सेवा प्रवाह र विकासका योजनामा नगरपालिकाले अभियानकै रूपमा काम गर्दै गएको हो । नगरपालिकाले शुक्रबार तम्घास बजारलाई व्यवस्थित बनाउनको लागि प्रेसर हर्न निषेध गर्ने निर्णय गरेको छ ।
जसको १५ माघदेखि कार्यान्वयन हुँदैछ । साथै सोही समयमा नगरपालिकाले फुटपाथका समान हटाउने, व्यवस्थित गर्ने र नियमन गर्ने निर्णग गरेको छ । नगरपालिकाले सदरमुकामसहितको नगरपालिका भएकाले सबै गुल्मेलीको गुल्मी अस्पतालमा मृगौलासम्बन्धी निःशुल्क उपचार, आँखासम्बन्धी नगरपालिकाका नागरिकको निःशुल्क उपचार, जन्मदर्ता, विवाहदर्ता र मृत्युदर्ता सम्बन्धी सेवा घरमै पुगेर गर्ने र पशुपालन क्षेत्रलाई प्रभावकारी बनाउन एआई कार्यक्रम सञ्चालन गर्नेलगायतका कार्यक्रम कार्यान्वयनमा गएका छन् ।
नगरपालिकाले तम्घास बजारलाई सुन्दर बनाउनका लागि अव्यवस्थित तारहरु हटाउने कामलाई पनि अगाडि बढाएको छ । नेपाल टेलिकम गुल्मी, विभिन्न केबल कार्यालय र अन्य झुण्ड्याइएको तारको व्यवस्थापन अघिल्लो हप्ता निर्णय गरेर यो हप्ता कार्यान्वयनका गएको नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । माध्यमिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट जीपीए ल्याउने विद्यार्थीलाई मासिक चार हजार छात्रवृत्ति उपलब्ध गराएको छ ।
नगरपालिकाले जन्मदर्ता, विवाहदर्ता र मृत्युदर्ता घरघरमा पुगेर सेवा गरिरहेको छ । तम्घास बजारको सडक कालोपत्रे गरेर सुन्दर बनाउनका लागि पनि नगरपालिकाले निर्णय गरेर अगाडि बढेको छ । सडक छेउछाउमा पर्ने खानेपानीका लाइन व्यवस्थापन गर्न उपभोक्ता समितिलाई भनिएको छ । रेसुंगा नगरपालिकाभित्रका विभिन्न विकासका योजनाको गुणस्तरीयता र आयोजना समयमै सम्पन्न गर्नका लागि निर्माण व्यवसायीसँग छलफल पनि गरेको नगरप्रमुख पन्थीले बताए ।
तम्घास बजारमा रहेको जीर्ण पौवालाई हटाएर नगरपालिकाले सुन्दर प्रतिक्षालय बनाउन थालेको छ । पुरानो बजारमा रहेको इन्द्रवीर पौवा भत्काएर प्रतिक्षालयको काम अगाडि बढेको छ । निजी कम्पनीलाई लिजमा दिएर रेसुंगाले हाटबजार सञ्चालन गरेको छ । तम्घासको सहिद चोकमा रहेको शम्शेरबहादुर खत्रीको शालिकको संरक्षण र व्यवस्थित नगरपालिकाले बनाएको छ ।
तम्घासको खेलमैदानका रूपमा रहेको चिदिचौरलाई व्यवस्थित बनाउने काम नगरपालिकाले अगाडि बढाएको छ । जसको आधा काम भइसकेको छ । जिल्लाभित्रका सबै सडक पूर्वाधारको निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाउन पनि नगरपालिको अगुवाइमा जिल्ला समन्वय प्रमुख द्रोर्णबहादुर खत्री, सम्बन्धित कार्यालय प्रमुख र इन्जिनियरसँग छलफल गरेर काम अगाडि बढाएको नगरप्रमुख पन्थीले बताए ।
नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको अध्यक्षसमेत रहेका रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले आफूहरूले अभियानकै रूपमा काम गरिरहेको बताए । “हामीले अरु पालिकालाई समेत उदाहरण दिनेगरी अभियानकै रूपमा काम गर्नुछ,” नगरप्रमुख पन्थीले भने, “समुन्नत गुल्मीका लागि अभियानमा रेसुंगाबाटै काम गरेका छौं ।” जनजीविकोका सवालसँग नजिक भएर काम गर्नुपर्ने नगरपालिका प्रमुख पन्थीले बताए । रेसुंगा नगरपलिकाले ‘समुन्नत रेसुंगा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान’ भन्ने मूल नाराका साथ काम गरिरहेको छ ।