रघुगंगामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु «

रघुगंगामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

रघुगंगा गाउँपालिकाको आयोजनामा अन्तर माविस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । वडानम्बर ३ पिप्लेको रघुगंगा माविको प्राङ्गणमा सञ्चालित प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारीले गरेका हुन् । सो प्रतियोगितामा बोल्दै भण्डारीले खेलकुद क्षेत्रको विकासमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले सहयोग पुग्ने बताए ।

उनले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । प्रदेश सदस्य भण्डारीले विद्यालयस्तरको शिक्षा र खेलकुदसँगसँगै अगाडि बढाउन स्थानीय तहलगायत सबै जनप्रतिनिधिसँग समन्वय गरेर योजनाबद्ध नीति निर्माणमा प्रदेश सरकारमा प्रभावकारी भूमिका निभाउने प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले राष्ट्रियस्तरमा म्याग्दी जिल्लालाई चिनाउने खेलाडीले रघुगंगाले उत्पादन गरेको बताउँदै विद्यालयस्तरको शिक्षा र खेलकुदलाई प्रभावकारी रूपमा अघि बढाउन जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वय गरेर योजनाबद्ध अघि बढ्न आग्रह गरे ।

प्रतियोगितामा गाउँपालिकाभित्रका १० वटा माध्यमिक तहका विद्यालयका विद्यार्थीले सहभागिता जनाएका छन् । १० माघसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथमलाई ५० हजार, द्वितियलाई ३० हजार रुपैयाँ र तृतीय हुनै विद्यालयलाई २० हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्