नेपाली श्रमिकको माग तीन गुणा बढ्यो «

नेपाली श्रमिकको माग तीन गुणा बढ्यो

अन्य १६ देशको तुलनामा रोजगार अनुमति प्रणाली (इपिएस) अन्र्तगत कोरिया जाने नेपालीको माग तीन गुणाले बढेको छ । माग संख्या बढेपछि सरकारले मासिक उडान संख्यासमेत बढाउने तयारी गरेको छ । कोरियाको साना तथा मझौला उद्योगमा श्रमिक अभाव भएपछि रोष्टर (योग्य श्रमिक सूची) मा रहेका नेपालीको माग ३ गुणाले बढेको हो ।

वैदेशिक रोजगार विभाग इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले नेपाली युवाको माग बढेसँगै मासिक २ हजार कोरिया पठाउने योजनासहित शाखाले काम गरिरहेको बताए । यसअघि कम्बोडियाले कोरियामा धेरै श्रमिक पठाउँदै आएकोमा हाल नेपाल १६ मध्ये उत्कृष्ट भएको शाखाले जनाएको छ । नेपालबाट जाने श्रमिकको प्रक्रिया छिटोछरितो हुने गरेका कारण पनि कोरियाले नेपालबाट श्रमिक लैजान कोटासमेत थप गरेको छ ।

कोरियाले कृषि तथा पशुपालन क्षेत्रमा सन २०२३ थप कामदार लैजान यसअघि छुट्याइएको ३ हजार कोटा बढाएर १० हजार ७५८ युवा लैजाने भएको शाखाले जनाएको छ । यसका लागि शाखाले २ चरणमा गरेर ३७ हजार २७४ को लागि पुस १८ गतेदेखि परीक्षा तयारी गरेको छ । कोभिड संक्रमणपछि अघिल्लो कात्तिकबाट हालसम्म लगभग १५ हजार युवा कोरिया प्रवेश गरिसकेको शाखाले जनाएको छ ।

कोभिड संक्रमणपछि कोरियामा विदेशी श्रमिकको चरम अभाव भएपछि उसले नेपालबाट लैजाने श्रमिकको कोटा पुनः बढाएको शाखाले जनाएको छ । कोरिया जाने नेपाली युवाको माग संख्या बढेर १५महिनामा १५ हजार पुगेको छ । इपिएस शाखाका अनुसार कोरियाले अगामी वर्षका लागि नेपाललगायत विभिन्न १६ राष्ट्रबाट १ लाख भन्दा बढी श्रमिक भित्र्याउने योजना बनाएको छ । जसमध्ये नेपालबाट ठूलो संख्यामा श्रमिक लैजाने तयारी सहित माग गरिरहेको शाखाले जनाएको छ ।

कोरियाले सन २०२३ देखि देशगत रुपमा कोटा निर्धारण नगरी छिटो श्रमिक पठाउने देशबाट धेरै श्रमिक लिने नीति लिएका कारण पनि नेपालबाट मासिक २ हजारको हाराहारी श्रमिक माग भएको हो । कोरियाले यो वर्ष इपिएस अन्र्तगत उत्पादनमूलक क्षेत्रको संख्या समेत दोब्बर थपसमेत गरिसकेको छ । इपिएस अन्र्तगत कोरिया जाने नेपाली युवाको छनोट संख्या थप ८ हजारबाट बढाएर १४ हजार ९१३ पुर्‍याएको छ ।

कोरोना संक्रमणका कारण २ वर्ष रोकिएको कोरियाको रोजगारीमा बिगत १५ महिनाको तथ्यांक हेर्दा मासिक औसत १ हजार युवा कोरिया प्रवेश गरेको देखिन्छ । शाखाले अब यो संख्या मासिक २ हजार पुग्ने जनाएको छ । अघिल्ला वर्षमा वार्षिक ७ हजारको हाराहारी नेपाली युवा कोरिया जाने गरेकोमा कोरोना संक्रमण पछि कात्तिकयता १ वर्षमा नै १२ हजार युवा कोरिया गएका छन् ।

नेपालले भाषा परीक्षामा हुँदै आएको नक्कली क्रियाकलाव नियन्त्रण गरी सबै सेवा अनलाइन गरेका कारण श्रमिक समयमा नै कोरिया प्रवेश गर्ने गरेका कारण पनि कोरिया नेपालप्रति सकारात्मक भएको शाखाको भनाइ छ । कोरिया प्रवेश गर्ने संख्या गत वर्ष ३८७ रहेको थियो भने अघिल्लो वर्ष अर्थात सन २०२० मा १ हजार २७ रहेको थियो । वैदेशिक रोजगार विभागले गत आर्थिक वर्ष २०७८/०७९ को प्रगती प्रतिवेदन सर्वजनिक गर्दै नेपाली श्रमिकको आर्कषक रोजगार गन्तव्य कोरिया पुनः लयमा फर्केको जनाएको छ ।

नेपालबाट सन २०१७ बाट क्रमस ७ हजार ८००, सन २०१८मा ८ हजार ५११ र सन २०१९ मा ७ हजार १३६ श्रमिक कोरिया गएको विभागले जनाएको छ । त्यसपछि कोरोना संक्रमणका कारण उडान बन्द हुँदा २ वर्ष न्यून संख्यामा मात्र श्रमिक कोरिया प्रवेश गरेका थिए । कोरियामा उत्पादनमुलक र कृषि तथा पशुपालन क्षेत्रमा ३८ हजार नेपाली कार्यरत छन् । पछिल्लो समय सरकारले कोरिया जाने हवाई टिकटको मूल्यसमेत १ हजार २१५ डलरबाट घटाएर ८९५ डलर बनाएपछि जाने श्रमिकका लागि सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्