यात्रुसँगै सुरक्षामा ध्यान «

यात्रुसँगै सुरक्षामा ध्यान

पछिल्ला वर्षहरूमा नेपालमा हवाई सेवा लिने सर्वसाधारणको संख्या बढ्दै गएको देखिएको छ । विगतमा हवाई सेवालाई ‘लक्जरी’ का रूपमा लिने गरिएको थियो । यो सेवा धनीमानी र ठूलाबडाका लागि मात्र हो भन्ने खालको मान्यता थियो । तर, समयसँगै हवाई सेवाको मान्यता पनि फेरिएको छ ।

यो क्षेत्रमा गरिएको खुलापनका कारण हवाई सेवा दिने कम्पनी मात्र बढेका छैनन्, सेवा लिने सर्वसाधारण पनि बढेका छन् । सरकारी निकायले भर्खरै प्रकाशित गरेको सन् २०२२ को तथ्यांकअनुसार नेपालमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी एक वर्षमा ७८ लाखभन्दा बढीले यो सेवा लिएका छन् । अघिल्लो वर्ष सन् २०२१ मा यो संख्या करिब ४५ लाख मात्र थियो ।

त्यसअघिका दुई वर्षमा कोभिड–१९ का कारण हवाई सेवा धेरै निकै प्रभावित बनेको थियो । अधिकांश समय जहाज सञ्चालनमा नै आएनन् भने चलेका बेला पनि यात्रु संख्या निकै कम थिए । त्यसैले कोभिड कालमा दुई वर्षभन्दा सन् २०२२ मा यात्रु संख्या धेरै देखिनु स्वाभाविक नै हो । तर, गत वर्ष कोभिड कालअगाडिका वर्षहरूमा भन्दा पनि हवाई सेवा लिनेहरू धेरैको संख्यामा देखिएका छन् ।

अहिले आन्तरिक उडानमा गुण, बुद्ध, यति, सौर्य, श्री, समिट, तारा, सीता, नेपाल वायु सेवा निगमलगायतका कम्पनी सञ्चालनमा छन् । यी कम्पनीले करिब दुई दर्जन विमानस्थलमा उडान भरिरहेका छन् । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले दैनिक औसत ८० उडान तथा अवतरण हुने गरेका छन् । आन्तरिकमा उडान तथा अवतरण गरेर ३ सय हुने गरेको छ ।

हवाई सुरक्षाको सबैभन्दा ठूलो जिम्मेवारी नेपाल नागरिक उड्डयन प्राधिकरणको हो । तर, यसले सुरक्षा व्यवस्थालाई कडाइ गर्न सकेको छैन । पर्याप्त अनुगमनको खाँचो देखिए पनि गरिएको छैन ।

पछिल्ला वर्षहरूमा आयस्तरमा भएको सुधारका कारण नेपालीहरूमा खर्च गर्ने क्षमता र प्रवृत्ति दुवै बढेको छ । रेमिट्यान्स आयमा भइरहेको निरन्तर वृद्धिले पनि हवाई यात्रुहरू बढाउन सहयोग पुराएको छ । हवाई यात्रा मात्र नभएर नेपालीहरूमा घुम्ने बानीको पनि विकास भएको छ । पर्यटकीय गन्तव्यहरूमा अहिले विदेशीभन्दा आन्तरिक पर्यटकको भीड बढी छ र खर्च गर्न सक्नेमा पनि नेपाली बढी छन् । हवाई यात्रु बढ्नुको अर्को मुख्य कारण सडक मार्ग राम्रो नहुनु हो ।

अहिले राजधानी काठमाडौंबाट बाहिर जाँदा जताततै सडक मर्मत र सम्भार चलिरहेको छ । सडक निर्माण गर्दा सवारी साधनको आवागमनलाई कसरी छिटोछरितो र सुविधाजनक बनाउने भन्ने ध्यान निर्माण कम्पनीको हुँदैन । उल्टो, कैयौं घण्टा सडक रोकेर काम गर्ने प्रचलन छ । यही कारण पाँच–सात घण्टामा गन्तव्यमा पुगिनेमा दिनभर वा दुई दिनसम्म लाग्ने गरेको छ ।

अर्कातिर सरकारले तोकेको समयमा सडक निर्माण पनि पूरा गरिँदैन । एकाध वर्षमा पूरा गर्न सकिने कामका लागि वर्षौं लगाउने प्रवृत्ति छ । यस्तोमा दुई–चार हजार रुपैयाँ तिरेर समयमा आफूले चाहेको गन्तव्यमा पुग्न जहाज चढ्नेहरू बढेका हुन् । पछिल्ला वर्षहरूमा काठमाडौंबाहेक जिल्लाका धेरै विमानस्थलमा रात्रिकालीन उडान तथा अवतरण सुरु गरिएको छ । यसले पनि यात्रुको संख्या बढाउन सहयोग गरेको छ ।

विमान कम्पनीहरूबीच प्रतिस्पर्धाका कारण विमान भाडा पनि ज्यादै धेरै नहुनु पनि यात्रु बढाउने एउटा कारण हो । अर्कातिर हवाई यात्रा प्रत्येक वर्ष थपिँदै गए पनि त्यसअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना बढेको छैन । न त पर्याप्त मात्रामा नयाँ उपकरण थपिएका नै छन् । विमानस्थल थप फराकिलो बन्न सकेको छैन । यो विमानस्थलमा दुईवटा रनवे हुनैपर्ने आवश्यकता देखिएको छ ।

दुईवटा रनवेको अभावले जहाज अवतरण र उडानका लागि थप समय लिनुपर्ने अवस्था छ । नेपाली आकाशमा बर्सेनि उडान र यात्रु संख्या बढ्दै गएको अवस्थामा आन्तरिक उडान सुरक्षित बन्दै जानुपर्नेमा उल्टै असुरक्षित हुँदै गएको छ । नेपालको हवाई उडानको इतिहास हेर्दा वर्षको एउटाभन्दा बढी जहाज दुर्घटनामा परेको देखिन्छ ।

हाम्रो ७४ वर्षे हवाई इतिहासमा साना–ठूला गरी १ सय ४ वटा दुर्घटना भएका छन् भने ९ सयभन्दा धेरैले ज्यान गुमाएका छन् । सबैभन्दा सुरक्षित साधन मानिने हवाई सेवा नै हामीकहाँ असुरक्षित देखिएको छ । हवाई सुरक्षाको सबैभन्दा ठूलो जिम्मेवारी नेपाल नागरिक उड्डयन प्राधिकरणको हो । तर, यसले सुरक्षा व्यवस्थालाई कडाइ गर्न सकेको छैन ।

पर्याप्त अनुगमनको खाँचो देखिए पनि गरिएको छैन । कतिपय सरकारी कर्मचारी र हवाई कम्पनीबीच हुने आर्थिक लेनदेनले जहाजको समयमा मर्मत सम्भार र फेर्नुपर्ने उपकरणहरू नफेरिने गरेको समेत आरोप लाग्दै आएको छ । प्राधिकरणको ध्यान सुरक्षामा भन्दा बढी भौतिक पूर्वाधार निर्माणमा भएको आरोप पनि कतिपयको छ । आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिनु कदापि नराम्रो होइन ।

पूर्वाधारको अभावमा पनि दुर्घटना निम्तिन सक्छ । तर, यी सबैभन्दा बढी सतर्कता सुरक्षामा दिनुपर्छ । यसमा प्राधिकरण पनि चुकेको अवस्था छ । व्यक्तिको जीवन जोखिममा पारेर अरू जतिसुकै राम्रो काम गरे पनि त्यसले श्रेय पाउँदैन । त्यसैले प्राधिकरणको ध्यान सबैभन्दा बढी सुरक्षामा नै केन्द्रित हुनुपर्छ । अर्कातिर युरोपियन युनियनले नेपालको हवाई सुरक्षामा प्रश्न उठाउँदै कालोसूचीमा राखेको धेरै समय भएको छ ।

नेपालमा हवाई सुरक्षामा प्रश्न उठाउनुमा अनुमति दिने र अनुगमन गर्ने संस्था एउटै हुनु पनि हो । एउटै संस्थाले दुवै काम गर्दा स्वार्थ बाझिन सक्ने उसको आरोप सत्यको धेरै नजिक छ । त्यसैले जतिसक्दो चाँडो नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुईवटा निकायमा विभाजन गर्नुपर्छ । यसो गर्न सके आगामी दिनमा हवाई सुरक्षाको सवालमा थप दरिलो बन्ने अवस्था आउनेछ ।

प्रतिक्रिया दिनुहोस्