बिमामा पनि मर्जर लहर «

बिमामा पनि मर्जर लहर

नियामक निकाय नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीलाई चुक्ता पुँजी बढाउन निर्देशन दिएपछि कम्पनीहरू मर्जरमा जान सुरु गरेका छन् । मुलुकमा बिमा कम्पनीको संख्या धेरै भएको भन्दै प्राधिकरणले केही समयअघि चुक्ता पुँजी बढाउनुपर्ने निर्देशन दिएको थियो । यो निर्देशनपछि चुक्ता पुँजी बढाउन नसक्ने कम्पनी मर्जरमा जान बाध्य भएका हुन् ।

राष्ट्र बैंकले मर्जरमा जान प्रोत्साहन गरेसँगै बैंकहरूमा पनि मर्जरको लहर चलेको छ । गएको पुसमा मात्रै थुप्रै बैंक मर्जरमा गएका थिए । बिमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षमा १९ वटा निर्जीवन तथा जीवन बिमा कम्पनीले मर्जरमा जाने सहमति गरेका छन् । यसमध्ये केहीले एकीकृत कारोबार सुरू गरिसकेका छन् ।

हिमालयन इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीले हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरू गरेको छ । यस्तै, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी मर्जरपछि सानिमा जीआईसीको नामबाट एकीकृत कारोबार सुरू गरिएको छ ।

प्राधिकरणका अनुसार १९ जीवन बिमा कम्पनीमध्ये ९ वटाले एकापसमा गाभ्ने, गाभिने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । तीमध्ये सूर्या र ज्योति लाइफ इन्स्योरेन्सले मर्जरपछि पुस ७ बाट सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरू गरेका छन् । यसपछि अन्य ७ जीवन बिमा कम्पनी मर्जरका लागि प्रक्रियामा रहेका छन् ।

यसअनुसार प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफले गत वैशाख २९ गते मर्जरको सम्झौता गरेका थिए । प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स, रिलायन्स लाइफ र सानिमा लाइफ, सगरमाथा र लुम्बिनी, महालक्ष्मी लाइफ र प्रभु लाइफ मर्जरको प्रक्रियामा रहेका छन् । निर्जीवन बिमा कम्पनीतर्फ विभिन्न ६ कम्पनी मर्जर प्रक्रियामा रहेका छन् । १० वटा निर्जीवन बिमा कम्पनीहरूले एकआपसमा मर्जरमा जाने सहमति गरेका थिए ।

जसअनुसार हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स तथा जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सले एकीकृत कारोबार सुरू गरिसकेका छन् । अन्य ६ कम्पनी भने मर्जरको प्रक्रियामा रहेका छन् । प्रक्रियामा रहनेहरूमा सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स, सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड र अजोड इन्स्योरेन्स रहेका छन् । अजोडले प्रभुसँगको मर्जर तोडिएपछि यूनाइटेडसँग मर्जरमा जानेगरी तयारी गरिरहेको छ ।

मर्जर किन ?

प्राधिकरणले पुँजी वृद्धिको बाध्यात्मक व्यवस्था कार्यान्वयन गरेपछि बिमा कम्पनी मर्जरमा जान थालेका हुन् । प्राधिकरणले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा जीवन बिमा कम्पनीको हकमा न्यूनतम ५ अर्ब र निर्जीवन बिमा कम्पनीको हकमा न्यूनतम २ अर्ब ५० करोड चुक्ता पुँजी अनिवार्य रुपमा पुर्‍याउनुपर्ने व्यवस्था गरेको छ । प्राधिकरणको सोही बाध्यात्मक व्यवस्थाका कारण पुँजी वृद्धिका लागि कम्पनीहरूले मर्जर रोजेका हुन् ।

पुँजी वृद्धिका लागि बिमा प्राधिकरणले कम्पनीहरूलाई आगामी चैत मसान्तसम्मको समय दिएको छ । सोही अवधिभित्र चुक्ता पुँजी पुर्‍याउनका लागि कम्पनीहरूले धमाधम मर्जर गरेका हुन् । चुक्ता पुँजी पुगेकाहरूले भने मर्जरमा जाने चाहना देखाएका छैनन् । बिमा कम्पनीहरूले धमाधम मर्जर रोजेपछि अहिले भइरहेको संख्या धेरै नै घट्ने देखिएको छ ।

सूर्या लाइफ र ज्योति लाइफले एकीकृत कारोबार सुरू गर्नुअघि जीवन बिमा कम्पनीको संख्या १९ थियो भने निर्जीवन बिमा कम्पनीको संख्या पनि १९ नै थियो । अहिले प्रक्रियामा रहेका जीवन बिमा कम्पनीहरू एकापसमा मर्ज भई आगामी फागुनसम्ममा एकीकृत कारोबार सुरू गर्ने तयारीमा छन् । यी ६ कम्पनी मर्ज भई कारोबार सुरू गर्दा जीवन बिमा कम्पनीको संख्या १२ रहनेछ । यस्तै, निर्जीवन बिमा कम्पनी १४ वटा हुनेछन् ।

बिमा कम्पनीहरूको नियामक निकाय नेपाल बिमा प्राधिकरणका अनुसार हाल नेपालमा भइरहेको बिमा कम्पनीको संख्या धेरै हो । प्राधिकरणका कार्यकारी निर्देशक एवम् प्रवक्ता राजुरमण पौडेल अहिले भइरहेको संख्यामा आधा घटे पनि बिमा कम्पनी नेपालका लागि पर्याप्त हुने बताउँछन् । उनले भने, “जीवन बिमातर्फ १० वटा तथा निर्जीवनतर्फ पनि १० वटा कम्पनी भए पर्याप्त हुन्छ भन्ने हाम्रो ठम्याइ हो ।”

पुँजी वृद्धिका लागि कम्पनीहरू एकापसमा मर्जरमा जाँदा अस्वस्थ प्रतिष्पर्धा कम हुने विश्वास उनको छ । उनका अनुसार पुँजी वृद्धिले कम्पनीहरू दरिलो हुनुका साथै अस्वस्थ प्रतिष्पर्धा पनि कम हुनेछ । उनले पुँजी वृद्धिका लागि विभिन्न विकल्पहरू दिइएकोमा कमजोर संस्थाहरूले आपसमा मर्जर गरेर अगाडि बढ्नु सकारात्मक भएको समेत उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्