Logo

अध्यक्षका लागि छुट्याइएको बजेटबाट सामुदायिक विद्यालयलाई बस

स्थानीय तहमा प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतहरूले चढ्ने महँगा र छुट्टाछुट्टै गाडीहरू छन् । केहीले नयाँ खरिद गरेका छन् । तर इलाम चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले आफ्ना लागि भन्दा पनि सामुदायिक विद्यालयका लागि स्कुल बस खरिद गरिदिएका छन् । उनी आफू सरकारी गाडीमा सवार गर्दैनन् ।

गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले आफ्ना लागि गाडी किन्न छुट्याइएको बजेटबाट पहिलो पटक एक सामुदायिक विद्यालयलाई स्कुल बस किनेको बताए । विद्यार्थीहरूलाई विद्यालय पुग्न सहज होस् भनेर स्कुल बस खरिद गरिएको उनको भनाइ छ । विद्यालयलाई शिक्षामा अब्बल बनाउँदै शिक्षाप्रति सबैको पहुँच बढाउन विद्यालयका लागि बस खरिद गरिएको उनको भनाइ छ ।

अध्यक्ष केरुङले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन गाउँपालिकाको वडा नम्बर २ स्थित बाह्रगोठेमा रहेको जनता माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेका हुन् । खरिद गरिएको स्कुल बस विद्यालयलाई हस्तान्तरण गरेपछि विद्याथी ओसार्न प्रयोग हुन थालेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विपीन योङ्या र प्रधानाध्यापक लक्ष्मेश्वर बनबरिया यादवलाई एक कार्यक्रमबीच सो स्कुल बस हस्तान्तरण गरिएको थियो । बसमा यात्रा हुने भएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्ने विश्वास लिइएको छ । विद्यार्थी र शिक्षकमा समेत हौसला बढ्ने भएकाले शिक्षाको गुणस्तर वृद्धि हुने अपेक्षा गरिएको छ ।

गाउँपालिकाले पहिलो गाउँसभाबाट सावरीसाधन खरिद गर्न एक करोड रुपैयाँ विनियोजन गरेको थियो । सोही रकमबाट ४१ लाख ६९ हजार रुपैयाँमा विद्यालयका लागि स्कुल बस खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्ली सुवेदीले बताए । पालिकाले खरिद गरेर दिएको र सञ्चालन खर्च सबै विद्यालयले बेहोर्ने सर्त रहेको बताइएको छ । विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेपछि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुने र यसका लागि गाउँपालिकाले अझै प्रोत्साहन गर्ने बताए ।

सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयका लागि बस खरिद भएको यो पहिलो खुड्किलो भएको भन्दै अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ । प्राविधिक विषय (सिभिल इन्जिनियर) अध्ययनरत विद्यार्थी र अन्य विपन्न वर्गका विद्यार्थीको शिक्षामा सहज पहुँचका लागि बस सेवाले टेवा पुग्ने विश्वास रहेको उनको भनाइ छ । सो विद्यालयमा सिभिल इन्जिनियरका एक सयसहित करिब सात सय विद्यार्थी अध्ययनरत छन् ।

बसबाट विद्यालयका सेवाक्षेत्रसहित छिमेकी जिल्ला झापाको दमक, केर्खालगायतका क्षेत्रबाट आउने विद्यार्थी लाभान्वित भएका छन् । सो विद्यालयमा प्राविधिक शिक्षातर्फ प्रदेश १ का सबै जिल्ला र मधेस प्रदेशका सिराहा, सप्तरी, सर्लाहीलगायतका जिल्लाका विद्यार्थी छन् । उनीहरू झापाको दमकमा बसेर बिहान कक्षा लिन चुलाचुली आउने गरेका छन् । विद्यायले यसअघि स्कुल बस मासिक ५० हजार भाडामा लिएर सञ्चालन गर्दै आएका थिए ।

नागरिकलाई एम्बुलेन्स उपलब्ध गराउने तयारी

यस्तै गाउँपालिकाले सर्वसाधारण नागरिकलाई एम्बुलेन्स उपलब्ध गराउने तयारी गरेको छ । एम्बुलेन्ससमेत खरिद गर्ने प्रक्रियामा रहेकाले खरिद लगत्तै नागरिकलाई हस्तान्तरण गरिने अध्यक्ष केरुङले बताए । आफ्ना लागि नयाँ गाडी किन्नुभन्दा विद्यालयलाई बस र सर्वसाधारणलाई एम्बुलेन्स दिन नै उपयुक्त ठानेको अध्यक्ष केरुङको भनाइ छ ।

अध्यक्ष केरुङले अध्यक्षमा निर्वाचित हुनसाथ टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्न सुरु गरेका थिए । बैंकसँग समन्वय गरी अध्यक्ष केरुङले सामाजिक सुरुक्षा भत्ता सेवाग्राहीको घरघरमा पुगेर वितरण गर्दै आएका छन् । केरुङ नेपाली कांग्रेसको तर्फबाट पालिका अध्यक्षमा निर्वाचित भएका हुन् । २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा पराजित भएका केरुङ २०७९ को निर्वाचनमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्