लागू औषध ओसारपसार र सेवनविरुद्ध सीमानाकामा विशेष अभियान «

लागू औषध ओसारपसार र सेवनविरुद्ध सीमानाकामा विशेष अभियान

भैरहवा-नेपाल–भारत सीमानाका बेलहियाबाट पछिल्लो समय लागूऔषधको ओसार–प्रसार बढेपछि रुपन्देही प्रहरीले विशेष अभियान थालेको छ । सीमा क्षेत्रमा लागूऔषधको ओसार–पसार तथा प्रयोगकर्ता दिनानुदिन बढेपछि अहिले सर्वत्र चिन्ताको विषय बनेको छ ।
प्रहरीको सक्रियता जति बढे पनि लागूऔषधको दुव्र्यसनी घट्नुको सट्टा झन बढ्दो छ । यसले गर्दा हजारौंं युवायुवती लागूऔषध जस्तो असह्य क्रियाकलापमा फसेर जीवन वर्वाद पारेका छन् नै घरपरिवारलाई पनि पीडामा राखेका छन् । नियन्त्रणका लागि जति प्रयास भए पनि समाधान हुन नसक्दा प्रदेश नम्बर पाँच प्रहरी कार्यालय र बेलहिया क्षेत्रका संघसंस्थाको पहलमा सीमानाकामा विशेष अभियान थालिएको ईलाका प्रहरी कार्यालय बेलहिया भैरहवाका प्रमुख तथा प्रहरी निरिक्षक बिरबहादुर थापाले बताए ।
अभियानमा सेवनकर्ता र कारोबारी दुबैलाई सिधा कारवाही गरिन्छ । सेवनकर्ता सुरुको अवस्थामा भए परामर्श दिई अभिभावकको जिम्मा लगाउने, पटके भए सुधारगृहमा पठाउने र साथमा लागूऔषधसहित भेटिएमा प्रहरीले कारबाहीका लागि अनुसन्धान अगाडि बढाउने गरेको छ । लागूऔषधले जीवन वर्वाद पार्ने भएकाले सबैले मिलेर यसको नियन्त्रणमा लाग्नु पर्ने नेपाल भारत मैत्री समाज रुपन्देहीका अध्यक्ष अध्यक्ष डा. शान्तकुमार शर्माले बताए ।

विकृति विसंगतीरहित समाजको निर्माण गरि शान्ति सुरक्षा प्रदान गर्ने उद्देश्यले माघ आठ गतेदेखि थालिएको अभियानमा सेवनका लागि सुनौली पुगेका तथा ओसार–पसारमा संलग्न २ सय ३७ जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाही अगाडि बढाइएको छ । संघसंस्था तथा नागरिकसँग सहकार्य गरि अभियान सञ्चालन गरिएकाले अभियान धेरै प्रभावकारी हुने प्रहरीको विश्वास छ । अभियान प्रभावकारी बनाउन २२ वटा संघ–संस्थाले हातेमालो गरेका छन् ।
अभियानअन्तर्गत सोमबार सिमानाकामा सचेतना र्याली निकालिएको छ । बेलहियाका स्थानीय र त्यहाँका २२ वटा संघसंस्था तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा सोमबार सीमानाका बेलहियामा सचेतना र्याली निकालिएको हो । र्याली नेपाल–भारत सीमा क्षेत्रबाट सुरुभई बेलहियाको बजार परिक्रमा गरी पुनः सीमा क्षेत्रमा गई समापन भएको थियो ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले पछिल्लो समय सीमा क्षेत्रमा लागूऔषधको ओसारपसार तथा सेवन कर्ताको संख्या बढेकोप्रति चिन्ता व्यक्त गर्दै लागूऔषमा फसेर धेरै युवायुवतीले आफ्नो जीवन वर्वाद पारेको भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरे । उनले नगरपालिकाले प्रहरी तथा सामाजिक संघसंस्थासँग सहकार्य गरी लागूऔषध नियन्त्रणमा पहल गर्ने बताए ।रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले स्कुले विद्यार्थीदेखि बुढापाकासम्मकाले लागूऔषधको सेवन तथा ओसारपसार गर्नु दुःखद् भएको बताए । उनले अधिकांश धनी परिवारका युवायुवती लागूऔषधको दुव्र्यसनीमा फस्ने गरेको बताए । ज्ञवालीले सबैको सहकार्यमा नियन्त्रण गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्