६५ लाख खर्चेर बाख्रा पालन

गुल्मीमा ६५ लाख खर्चिएर बाख्रा पालन सुरु गरिएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ मा नारायणप्रसाद पन्थले सोही रकम लगानीमा बाख्रा पालन सुरु गरेका हुन् । विश्वभर फैलिएको पहिलो चरणको कोरोना महामारीको समयमा वैदेशिक रोजगारका लागि कतारमा रहेका पन्थले आफू गाउँ फर्केर बाख्रापालन व्यवसाय सुरु गरेको बताए ।
कृषि र पशुपालनबाटै दिगो आर्थिक उपार्जन हुने र जस्तो सुकै परिस्थतिमा पनि व्यवसायमा नोक्सान नहुने भएकोले बाख्रा फर्म दर्ता गरेर व्यवसाय सुरु गरेका हुन् । पन्थले छत्रदेवी कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर व्यवसाय सुरु गरेका छन् । नारायणलाई श्रीमती पार्वती पन्थले पनि साथ दिइरहेकी छिन् । बाख्रा पालनसँगै घाँस र सुन्तला खेती गरेका नारायणले गर्दै वार्षिक ६ लाख आम्दानी गर्दै आएका छन् ।
पन्थले घाँस खेतीअन्तर्गत किम्बु, राइखन्यु, नेपियर, ग्वाटेमाला र मुलाटोलगायतका बिरुवा रोपण गरेका छन् । “कोरोनाले विदेशमा जाथिर भरपर्दो नहुने भन्ने स्पष्ट बुझेँ,” नारायणले भने, “घरपरिवार सँगै बसेर कृषि र पशुपालन गर्न सकिने भएकोले बाख्रा पालन सुरु गरेको हुँ ।” कतारमा मासिक १लाख २० हजार कमाउँदै आएका नारायणले त्यो त्यागेर गाउँघरमै व्यवसाय सुरु गरेका हुन् ।
श्रीमान् नारायणसँगै बाख्रा पालनमा तल्लीन पार्वती पनि गाउँघरकै व्यवसायबाट सन्तुष्ट छिन् । विदेशमा गएर धेरै रकम कमाउनुभन्दा गाउँमै जीविकोपार्जनका बाटाहरु खोजेमा राम्रो हुने पार्वतीको अनुभव छ । श्रीमान्को १० वर्षे वैदेशिक अनुभवले गाउँमै व्यवसाय गर्दा आफूहरू निकै सन्तुष्ट रहेको पार्वती पन्थले बताइन् । पन्थको आधुनिक बाख्रा फर्म छ ।
फर्ममा ४० माउ बाख्रा, ४० रोपनी जग्गामा घाँसखेती र आठ रोपनी जग्गामा सुन्तलाखेती गरेको पन्थले बताए ।
विदेशमा गएर १० वर्षसम्म कमाएको रकम आफ्नै गाउँठाउँमा केही व्यवसाय गर्ने उद्देश्यसहित लगानी गरेका पन्थले फर्मलाई थप व्यवस्थित बनाउँदै लगेका छन् । परम्परागत बाख्रा पालनलाई त्यागेर गाउँमै आधुनिकतातर्फ प्रवेश गरेका पन्थको फर्ममा आधुनिक खोर, घाँस काट्नका लागि च्याँपकटर, दानाको लागि कुटानी पिसानी मिल, मूत्र व्यवस्थापन र सानाठुला बाख्राको लागि छुट्टाछुट्टै खोर निर्माण भएको छ । बाख्रा फर्ममा जमुना पारी र खरी जातका स्थानीय बाख्राहरु छन् ।
पन्थको बाख्राको फर्मलाई छत्रकोट गाउँपालिकाले दुई लाख, कृषि ज्ञान केन्द्रले एक लाख र भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र तम्घास गुल्मीले एक लाख रुपैयाँ अनुदान अघिल्लो वर्ष सहयोग गरेका थिए । कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले कृषि र पशुपालनमा लाग्ने वास्ताविक कृषकहरुको साथमा आफूहरु रहेको बताउँछन् । छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले कृषि र पशुपालनमा लामो समयसम्म टिकाइ राख्नको लागि योजना बनाइरहेको बताएका छन् ।