अन्तर्राष्ट्रिय हवाई यात्रु दाेब्बर

अघिल्लो वर्षका तुलनामा सन् २०२२ मा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या बढेको छ । २०२१ मा हवाई यात्रा गर्ने आन्तरिक यात्रु ३५ लाखभन्दा बढी रहेकामा २०२२ मा यो संख्या ४४ लाख नाघेको हो । यस्तै, गत वर्ष अन्तर्राष्ट्रिय हवाई यात्रा गर्नेहरु १४ लाख ८२ हजार थिए । यो वर्ष बढेर ३४ लाख ८८ हजार पुगेका छन् ।
कोभिडका कारण गत वर्षका सुरुका महिनामा विदेश यात्रा गर्ने ज्यादै कम थिए । सरकारी तथ्यांकअनुसार सन् २०२० मा आन्तरिक हवाई यात्रुको संख्या १४ लाख र अन्तर्राष्ट्रिय यात्रुको संख्या ११ लाखमात्र थियो । सन् २०२२ मा आन्तरिक यात्रु नै ४४ लाख ६६ हजार पुगेका छन् । यसले हवाई यात्रा लोकप्रिय बन्दै गएको देखाएको छ ।
विमानस्थल कार्यालयका अनुसार २०२२ मा १ लाख ८ हजार २ सय २ वटा आन्तरिक उडान तथा अवतरण हुँदा ४४ लाख ६६ हजार १ सय ५२ जना यात्रुले हवाई यात्रा गरेका छन् । सन् २०२२ मा भने ३४ लाख ८८ हजार ३ सय २८ जनाले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन् । २०२१ मा अन्तर्राष्ट्रियतर्फ भने १४ लाख ८२ हजार ३ सय ५ जना यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तथा अवतरण गरेका थिए ।
२०२० मा ११ लाख ५ हजार १ सय ५९ जनाले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका थिए । कोभिड–१९ का कारण २०२० र २०२१ मा अन्तर्राष्ट्रिय उडान प्रतिबन्धमा परेका कारण अन्तर्राष्ट्रिय यात्रुको संख्यामा कमी आएको थियो । सन् २०२२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ हजार १ सय ५४ उडान र १२ हजार १ सय ५८ अवतरण हुँदा ३४ लाख यात्रुले हवाई सेवा प्रयोग गरेका थिए ।
कोरोना अगाडि सन् २०१९ मा भने ४१ लाख ३८ हजार ४ सय ८२ जना यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका थिए । कोभिड–१९ पछि हवाई यात्रा सुरक्षित र सहज भएका कारण आन्तरिक हवाई यात्रुको संख्यामा वृद्धि भएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । उनले भने, “विमानको संख्यामा वृद्धि भयो र कम्पनीहरुबीच प्रतिस्पर्धा बढ्यो । विमानको सिट क्षमता वृद्धि हुँदा र भाडा पनि प्रतिस्पर्धी भएका कारण यात्रु बढेका हुन् ।”
धेरै विमानस्थलमा रात्रीकालिन उडान तथा अवतरण हुने भएकाले पनि उपत्यकाबाट काम विशेषले बिहान गएर साँझ फिर्ता हुने क्रम बढेको छ । हवाई यात्राका लागि सहज वातावरण बनेकाले यात्रुको संख्यामा वृद्धि भएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताए ।
“कोभिड–१९ पछि लामोभन्दा छोटो यात्रा बढी सुरक्षित भएकाले र विभिन्न राजनीतिक दलका महाधिवेशनका साथै स्थानीय, प्रदेश र संघको निर्वाचनका कारण पनि उडान तथा यात्रु वृद्धि भए,” कँडेलले भने । यतीका प्रवक्ता बर्तौलाले पनि नयाँ विमान कम्पनी थपिनु, सन् २०२२ मा ३ तहकै निर्वाचन हुनु, सडक यात्रा झन्झटिलो र सडकमार्ग बिग्रनुले पछिल्लो समय हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको बताए ।
कोभिड–१९ कै समयमा गुण एयरलाइन्सले ७ (उडान भरिरहेको १) विमानबाट उडान सुरु गरेको थियो । हाल बुद्ध एयरका १६, यतीका ६, सौर्यका ३, श्रीका ७, समिटका ४, ताराका ४, सीताका २ र नेपाल वायुसेवाका २ विमानले करिब २ दर्जन विमानस्थलमा उडान भरिरहेका छन् । पहाडी भेगमा बुद्ध, सीता, समिट, तारा र नेवानिले उडान भरिरहेका छन् भने अन्य विमानले सुगमका गन्तव्यमा ।
