नमुना प्रदेश बनाउने ४ नम्बरका सांसदको प्रतिबद्धता «

नमुना प्रदेश बनाउने ४ नम्बरका सांसदको प्रतिबद्धता

पोखरा-प्रदेश नम्बर ४ को पहिलो बैठकमा बोल्ने अधिकांश सांसदहरुले प्रदेश ४ लाई आर्थिक विकास र समृद्धिको बाटोमा लगि नमुना प्रदेश बनाउनुपर्नेमा जोड दिएका छन् । प्रचुर सम्भावना रहेको र हिमाल, पहाड र तराई तीनै भूभागले छोएको पर्यटन, जलश्रोत, कृषि, उद्योगमा यहाँ धेरै सम्भावना रहेको बताउँदै सांसदहरुले यसको आर्थिक विकास र समृद्धिमा कुनै राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर विकासमा एकमत गरी अघि बढ्नेमा
जोड दिएका हुन् ।
पोखराको नगर विकास प्रशिक्षणको सभाहलमा भएको पहिलो बैठकमा एमालेका ३, कांग्रेसका ३, माओवादीका ३ र जनमोर्चा र नयाँ शक्तिका एक-एक जनाले मन्तव्य राख्दै प्रदेश ४ लाई नमुना प्रदेश बनाउन आफूहरु कटिवद्ध भएर लाग्नेमा जोड दिएका हुन् । पहिलो बैठकमा ज्येष्ठ सांसद जनकलाल श्रेष्ठले सभामुखको भूमिका निर्वाह गरेका थिए ।
मुख्यमन्त्रीका दावेदार तथा एमाले सांसद पृथ्वीसुब्बा गुरुङले प्रदेशलाई समृद्ध बनाउने पहिलो सर्त नै दक्ष जनशक्ति र सुशासन भएको दाब गरे । जनतासँग गरिएको प्रतिबद्धतालाई कार्यान्वयन गर्न आफूहरु पछि नपर्ने बताउँदै सांसद गुरुङले प्रकृति र संस्कृतिले धनी प्रदेशलाई समृद्धि बनाउन कला, साहित्य संस्कृतिको पर्वद्धन गर्दै पर्यटनको प्रवद्र्धन गर्नु पर्नेमा जोड दिए ।
मुख्यमन्त्रीका अर्का दाबेदार तथा एमालेकै सांसद किरण गुरुङले प्रदेशलाई उत्कृष्ट, समृद्धि प्रदेश बनाउन सत्तापक्ष र प्रतिपक्ष सबै जुट्नुपर्ने बताए । उनले भने “यस प्रदेशको समग्र विकासको लागि हामी मिलेर अघि बढ्नुको विकल्प छैन, संघीयता सुन्दर फूलबारी भएकोले नयाँ राजनीतिक संस्कारलाई अगाडि बढाएमा परिर्वतन सम्भव हुन्छ । ” पुरानो सोच र मानसिकतालाई अब परिवर्तन गर्नुपर्ने उनको जोड थियो ।
नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीले काठमाण्डौं, पोखरा र लुम्बिनी जोड्ने रेलमार्गको समेत विस्तार गर्नुपर्नेमा जोड दिए । माओवादी केन्द्रका सांसद हरिबहादुर चुहानले संघीयतालाई कान्वयन गर्न र जनतालाई अधिकारसम्पन्न बनाउन आफूहरु लाग्ने बताए । राष्ट्रिय जनमोचार्का कृष्ण थापाले अहिलेको मुख्य शत्रु नै राजनीतिक भष्ट्राचार भएको ठोकुवा गरे । नयाँ शक्ति पार्टीका सांसद हरिशरण आचार्यले देशमा प्रतिबद्धता गर्ने धेरै भएको र व्यवहारिक रुपमा कार्यान्वयन गर्ने व्यक्ति कम भएको उल्लेख गरे । नेपाली कांग्रेसका दोबाटे विकले दलगत स्वार्थ भन्दा माथि उठेर काम गनुपर्नेमा जोड दिए । नेकपा माओवादीका सांसद नेत्रनाथ अधिकारीले पहिचान र अधिकारलाई सही रूपमा स्थापित गरेमात्र संघीयता सफल हुने दाबी गरे ।
नेकपा एमालेका सांसद सिर्जना शर्माले प्रदेशलाई समृद्ध बनाउन सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिइन् । नेपाली कांग्रेसका सांसद ललितकला गुरुङले नमुना प्रदेश बनाउनेतर्फ प्रदेश सभाले काम गर्नुपर्ने बताइन् ।
करिब १ घण्टा ४५ मिनेट चलेको प्रदेश सभाको पहिलो बैठकले सभामुख चयनका लागि फागुन ३ गते निर्वाचनको मिति तय गरेको छ । प्रदेश नम्बर ४ को दोस्रो बैठक फागुन ३ गते दिउँसो १ बजे बस्नेछ । प्रदेशसभामा वाम गठबन्धनको प्रष्ट बहुमत छ । वाम गठबन्धनमा भएको भागवण्डामा मुख्यमन्त्री एमाले र सभामुख माओवादी केन्द्रको भागमा परेको छ । बैठकले सभामुखको अनुपस्थितिमा सभा सञ्चालनका लागि अध्यक्ष मण्डलसमेत गठन गरेको छ । अध्यक्ष मण्डलमा एमालेबाट मित्रकुमारी गुरुङ सुवेदी, नेपाली कांग्रेसबाट मनकुमारी गुरुङ, माओवादी केन्द्रबाट गायत्री गुरुङ, राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती र नयाँ शक्ति पार्टीका धनमाया पोखरेल लामा छन् । प्रदेश सभामा एमालेको २७, कांग्रेसको १५, माओवादीको १२, राष्ट्रिय जनमोर्चाको ३, नयाँ शक्तिको २ र एक स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्