सेतो हात्ती नबनून् अन्तर्राष्ट्रिय विमानस्थल

गत जनवरी १ तारिखका दिन अंग्रेजी नयाँ वर्षको अवसर पारेर मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्यताका साथ उद्घाटन गरियो । पोखरेली जनताले पाँच दशकअघि देखेको अन्तर्राष्ट्रिय विमानस्थलको सपना पूरा हुने क्रममा रहेको भन्दै विमानस्थल उद्घाटनको दिन पोखरा महानगरले खुसीयाली मनाउन सार्वजनिक बिदा घोषणा गर्यो ।
पर्यटकीय नगरी पोखराको अन्नपूर्ण हिमशृंखलाको आँगनमै बनेको अन्तर्राष्ट्रिय विमानस्थलले त्यस क्षेत्रको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेमा दुईमत छैन । पोखरामा जुन उत्साह र तामझामका साथ अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरियो, यस्तै झल्को दिने उद्घाटन आठ महिनाअघि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समेत भएको थियो । तर, अहिले यो विमानस्थलले सोचेअनुरूप प्रतिफल दिने कुरामा प्रश्न उठ्न थालेको छ ।
कुनै पनि मुलुकको आर्थिक विकासमा पूर्वाधारको निर्माण एउटा आवश्यक सर्त हो, तर पर्याप्त अवस्था भने होइन । यदि निर्माण गरिएका पूर्वाधारहरूको पूर्ण उपयोग गर्न सकिएन अर्थात् यसबाट प्रतिफल प्राप्त गर्न सकिएन भने ती पूर्वाधारहरू केवल सेतो हात्ती हुनुबाहेक अरू विकल्प रहँदैन ।
विभिन्न कारणहरूले गर्दा विगत दुई हप्ताभन्दा बढी समयदेखि यो विमानस्थल सुनसान भएको छ । यहाँबाट अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुन सकिरहेका छैनन् । यसको अवस्थालाई मध्यनजर गर्दै नेपालका थप अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई आगामी दिनमा चुनौती छन् भन्ने संकेत दिएको विज्ञहरूको बुझाइ छ । भोलिका दिनमा अर्बौं लगानीमा निर्माण गरिएका हवाई पूर्वाधारहरू सेतो हात्ती हुने त होइनन् भनेर चिन्तासमेत बढेको छ । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको करिब सात दशकपछि मात्र थप दुई अन्तर्राष्ट्रिय विमानस्थलहरू तयार भएका छन् ।
वि.सं. २००६ मा त्रिभुवन विमानस्थल सञ्चालनमा आएपछि पहिलो पटक ७२ वर्षपछि गत जेठ २ गतेबाट सञ्चालनमा आएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र तेस्रोमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा छ । एक वर्ष पहिलेसम्म एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहेको बखत अर्को विमानस्थल थपिएको खण्डमा धेरै समस्या समाधान हुने आशा गरिएको थियो, तर वास्तविकता भने फरक देखिएको छ । दूरदर्शिताको अभाव र व्यवस्थापकीय कमजोरीका कारण थप विमानस्थलले सोचेअनुरूप प्रतिफल दिन सकिरहेको छैन ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूलाई आकर्षित गर्नका लागि विभिन्न किसिमका छुट सुविधाहरूको व्यवस्था गरे पनि जजिरा एयरवेजबाहेक अरूले उडान भर्न रुचि देखाएका छैनन् । सुरुवातदेखि नै जजिरा एयरवेजले साताको तीन दिन कुबेतदेखि र हिमालयन एयरलायन्सले मलेसियादेखि चार्टर उडान भर्दै आएका थिए । तर, पुस महिना लागेपछि नियमित उडान स्थगित गरिएको छ । खराब मौसमको कारण देखाउँदै दुवै एयरलायन्सले अहिले उडान बन्द गरेका छन् ।
बन्द हुनुभन्दा अघि यस विमानस्थलमा ३ सय ४ पटक उडान र अवतरण भएको र ३१ हजार ३ सय ५५ यात्रुले सेवा लिएको जनाइएको छ । विमानस्थलमा उडान र अवतरण स्थगित हुनुको मुख्य कारण मौसमको खराबी बताइए पनि यसको प्रमुख कारण छिमेकी मुलुकसँग समन्वयको अभाव भएको विज्ञहरूको दाबी छ । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दा विमान अवतरण गर्ने बेला करिब एक किलोमिटर भारतीय भूभाग पर्छ ।
खराब मौसम, हिमपात र अँध्यारोमा जहाजलाई सुरक्षित अवतरण गराउन मार्गदर्शन गर्ने इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) उपकरण विमानस्थलको धावनमार्गमा जडान गरिएको छ । सामान्यतया विमान उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने हुन्छ । तर, यो उपकरणको प्रयोगले ८ सय मिटरको भिजिबिलिटीमा समेत उडान अवतरण गर्ने मिल्ने हुन्छ । तर, अहिलेसम्म यो उपकरणको सञ्चालनमा भारतले असहमति राखेको हुँदा व्यावसायिक उडान प्रभावित भएका छन् ।
यो प्रणाली सञ्चालन नभएकाले खराब मौसमको सामना गर्न नसक्ने भन्दै कुवेतको जजिरा एयरवेजको जहाज सीधै काठमाडौं आउन थालेको छ । भैरहवामा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु गरेको जहाज काठमाडौं फर्किएसँगै अरू अन्तर्राष्ट्रिय वायुसेवा पनि हच्किएका छन् । यसको उचित समाधान समयमै नभएको खण्डमा हिउँदभर उडान असहज हुने सम्भावना देखिएको छ ।
एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा करिब ३० अर्ब लागतमा बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सञ्चालनका लागि भन्दै सरकारले आईएलएसमा समेत थप १ अर्ब लगानी गरेको छ । अर्कातर्फ, विमानस्थल सञ्चालनका लागि प्रशासनिकलगायत अन्य गरी मासिक करिब १ करोड खर्च हुँदै आएको जनाइएको छ । अन्तर्राष्ट्रिय उडानहरू ठप्प भइदिँदा यी खर्चहरूले अनावश्यक व्ययभार थपिरहेका छन् ।
नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको करिब सात दशकपछि मात्र थप दुई अन्तर्राष्ट्रिय विमानस्थलहरू तयार भएका छन् । वि.सं. २००६ मा त्रिभुवन विमानस्थल सञ्चालनमा आएपछि पहिलो पटक ७२ वर्षपछि गत जेठ २ गतेबाट सञ्चालनमा आएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र तेस्रोमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा छ । एक वर्ष पहिलेसम्म एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहेको बखत अर्को विमानस्थल थपिएको खण्डमा धेरै समस्या समाधान हुने आशा गरिएको थियो, तर वास्तविकता भने फरक देखिएको छ ।
विमानस्थल नियमित रूपमा सञ्चालनमा नआउँदा अर्बौं लगानी गरेका यहाँका पर्यटन व्यवसायीहरू चिन्तित देखिन्छन् । निजी क्षेत्रले होटल तथा पर्यटन व्यवसायमा करिब सय अर्ब खर्च गरेको बताइएको छ । सरकारले छिटोभन्दा भन्दा छिटो पहलकदमी चाल्नुपर्ने र आफूहरूको लगानी सुरक्षित गराउन आग्रह गरेका छन् ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण सम्पन्न भएको गौतम बुद्ध विमानस्थल दीर्घकालीन सोचबिनै निर्माण भएको पुष्टि हुन थालेको छ । वैदेशिक रोजगारीको गन्तव्यलाई प्रमुख प्राथमिकतामा राखेको विमानस्थल भए पनि श्रमिकका लागि आवश्यक पर्ने अन्य पूर्वाधारहरू सहज नहुँदा यो विमानस्थललाई यात्रु पाउन पनि मुस्किल भएको जनाइएको छ ।
भैरहवास्थित श्रम तथा रोजगार कार्यालयले वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति प्रदान गरिरहेको छ । तर, विमानस्थल सञ्चालनमा आएको सात महिना पूरा भइसक्दा पनि म्यानपावर, भिसा सेन्टर, मेडिकल जाँच, अभिमुखीकरण र बिमा कार्यालयलगायत काम सुरु भएको छैन । यी सबै कार्यका लागि श्रमिकहरू राजधानी काठमाडौं जानुपर्ने कारणले उनीहरूलाई गौतम बुद्ध विमानस्थल असहज भएको देखिन्छ ।
नेपालजस्तो सानो र विकासशील मुलुकमा निर्माण हुने ठूला पूर्वाधारहरू मुलुकको आफ्नै लगानीबाट मात्र सम्भव छैन । यसका लागि वैदेशिक ऋण तथा सहयोगको आवश्यकता पर्छ । यी वैदेशिक ऋणको सावाँ र ब्याज समयावधिभित्रै भुक्तानी गर्नुपर्ने हुन्छ । तसर्थ, कुनै पनि पूर्वाधारको निर्माण गर्दा अल्पकाललाई मात्र ध्यान नदिई दीर्घकालीन दृष्टिकोणले समेत सोच्नुपर्ने हुन्छ । श्रमिकहरूको आवागमन र उडानले मात्र अन्तर्राष्ट्रिय विमानस्थलहरू सुचारु रहिरहन कठिन हुन्छ ।
यी विमानस्थलहरू नियमित सुचारुका लागि पर्यटन क्षेत्रमा विशेष ध्यान दिनुपर्ने हुन्छ । पर्यटकलाई आकर्षित गर्न सकेको खण्डमा मात्र हाम्रा विमानस्थलहरूले अपेक्षित लाभ दिन सक्छन् । अहिले उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुचारु हुनुपूर्व नै यसका लागि आवश्यक पूर्वाधारदेखि छिमेकी मुलुकहरूसँगको समन्वय स्थापित गर्नुपर्ने देखिन्छ ।
पोखरा आफैंमा पर्यटकीय नगरी भएकाले यहाँको विमानस्थलले प्रारम्भिक चरणमा पर्यटकहरूलाई आकर्षित गर्ने कुरामा दुईमत छैन, तर पनि यसको निरन्तरताका लागि दीर्घकालीन योजनाहरू भने आवश्यक देखिन्छ । यसपछि नेपालमा चौथो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकियामा छ । यसको समेत कार्य सम्पन्न हुनुअगावै व्यवस्थापन, बजारीकरण, अन्तर्राष्ट्रिय समन्वय, लाभ–लागत विश्लेषणका साथै अल्पकालीन र दीर्घकालीन योजना निर्माणको सुनिश्चतता हुनु आवश्यक छ ।
कुनै पनि मुलुकको आर्थिक विकासमा पूर्वाधारको निर्माण एउटा आवश्यक सर्त हो, तर पर्याप्त अवस्था भने होइन । यदि निर्माण गरिएका पूर्वाधारहरूको पूर्ण उपयोग गर्न सकिएन अर्थात् यसबाट प्रतिफल प्राप्त गर्न सकिएन भने ती पूर्वाधारहरू केवल सेतो हात्ती हुनुबाहेक अरू विकल्प रहँदैन । यसको ज्वलन्त उदाहरण छिमेकी मुलुक श्रीलंकाले केही महिनाअघि बेहोरेको आर्थिक संकटलाई लिन सकिन्छ ।
अर्बौं वैदेशिक ऋणको सहायतामा निर्माण गरिएका विकासका पूर्वाधारहरूले सोचेअनुरूप प्रतिफल नदिँदा श्रीलंकाले इतिहासमै सबैभन्दा कठिन आर्थिक स्थितिको सामना गर्नुपरेको थियो । नेपालको आर्थिक संरचना पनि श्रीलंकासँगै मिल्दोजुल्दो छ । यसैकारण गहिरो अनुसन्धान र दीर्घकालीन सोचबिना बनेका कुनै पनि पूर्वाधारमा गरिएको लगानी बालुवामा पानी खन्याएसरह हुनेमा दुईमत छैन ।