विश्व सेयर बजारका लागि उत्तम वर्ष !

अन्तर्राष्ट्रिय मुद्राकोषले यस वर्ष विश्वका एकतिहाइ मुलुकमा मन्दी आउने चेतावनी जारी गरिसकेको छ । यसले विश्वको सेयर बजारको अवस्थामा पनि केही न केही प्रभाव नछोड्ला भन्न सकिन्न । विश्व सेयर बजार २०२२ मा निराशाजनक नै रह्यो । अमेरिकाको एस एन्ड पी–५०० डिसेम्बरमा ५.९० प्रतिशतले ओरालो लागेर २०२२ मा माइनस १९.४४ प्रतिशतमा झरेको थियो ।
डो जोन्स इन्डस्ट्रियल एभरेजले पनि उक्त महिना ४.१७ प्रतिशत गुमाएको थियो र २०२२ मा ८.७८ प्रतिशतले ओरालो लागेकोे थियो । एस एन्ड पी मिडक्याप ४०० मा पनि ५.७२ प्रतिशतको गिरावट आएर २०२२ को प्रतिफल माइनस १४.४८ प्रतिशत कायम भएको थियो । सेयर कारोबारका हिसाबले २०२२ को वर्ष निराशाजनक नै रह्यो । नयाँ वर्षका लागि पनि सेयर बजारको परिदृश्य पनि बिलकुल निराशाजनक नै देखिन्छ । ठूला कर्पोरेसनहरूले कर्मचारीलाई रोजगारीबाट निकाल्ने घोषणा गरिसकेका छन् ।
स्थानीय र खुद्रा लगानीकर्ताहरूको वर्चस्व रहेका चिनियाँ सेयर बजारमा सूचीकृत भएका सांघाई र सेनझेनमा अप्रिलको न्यून अवस्थाबाट १२.३ प्रतिशत र १८.७ प्रतिशतको नाफा भएको थियो । सांघाई इन्डेक्स २०२२ को सुरुवातबाट सालाखाला १२ प्रतिशतले ओरालो लागेको थियो भने सेन्झेन १८ प्रतिशतले तल झरेको थियो । यस किसिमको निराशाको कारण थाहा पाउन त्यति गाह्रो छैन । २०२२ को विशाल मुद्रास्फीतिको दबाबले बृहत् र तीव्र मौद्रिक नीतिलाई प्रोत्साहित गर्यो । यो पनि धेरैजसो प्रमुख अर्थतन्त्रहरूमा ।
लगभग कमोडिटीको मूल्यमा आएको कमीले युरोपेली सेयर बजार सकारात्मक रहने र शून्य कोभिड नीतिको अन्त्यले चिनियाँ बजारमा पनि सुधार आउने भएकाले यो वर्ष विश्व सेयर बजार उकालो लाग्न सक्ने अनुमान लगाउन सकिन्छ ।
प्रमुख केन्द्रीय बैंकहरूले लगातार कठोर वार्तालाई निरन्तरता दिए । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले डिसेम्बरमा ब्याजदर वृद्धिलाई ५० आधार बिन्दुबाट बढाएर ७५ पुर्याए पनि भावी दिनमा थप वृद्धि हुने सम्भावनालाई जीवितै राख्यो र २०२३ मा पनि ब्याजदर वृद्धि उसको कुनै नीति नभएको स्पष्ट पार्यो । ब्याजदर वृद्धिले सेयर बजार ओरालो लाग्न त लाग्यो । तर, अन्य विश्व घटनाक्रमहरूले पनि सेयर बजार झनै मारमा पर्दै आएको छ । जस्तै रूस–युक्रेन युद्ध ।
रूस–युक्रेन युद्धले विश्वभरिको आपूर्ति श्रृंखला, बजार र अर्थतन्त्रमा त्रासदीको अवस्था पैदा गर्यो । रूसी ग्याँस र तेलको आपूर्तिमा कमी आउनाले ऊर्जा बजारमा समेत संकटको अवस्था पैदा गर्यो । खाद्यान्नको आपूर्तिमा समेत असर पर्यो । रूसले युक्रेनमा आक्रमण गरेकाले, उच्च मुद्रास्फीति र कसिलो मौद्रिक नीतिले विश्वभरिमा जोखिम मानिएका सम्पत्तिहरूलाई हानि पुर्याएकाले २०२२ को वर्ष युरोपेली सेयर बजार २०१८ देखिकै खराब रह्यो ।
पान युरोपियन स्टक्स–६०० सूचक २०२२ को अन्तिम कारोबार दिनमा १.३ प्रतिशतले खस्कियो । तर, वर्षको सुरुवातदेखिको अवस्थालाई नियाल्ने हो भने यो १२.७६ प्रतिशतले ओरालो लाग्यो । यो २०१८ मा देखा परेको १३.२४ प्रतिशतको वार्षिक गिरावटदेखिकै खराब भूमिकाको वर्षका रूपमा रह्यो । युरोपेली ब्ल्यू चिप सूचक भने २०२१ मा बम्परको वर्षका रूपमा रह्यो । उक्त वर्ष उक्त सूचक २२.२५ प्रतिशतले उकालो लागेको थियो ।
विगतका अमेरिकी धितोपत्र बजारको भूमिकाका बारेमा जिम ओ नीललाई पुरानो शब्दकोशका रूपमा हेरिन्छ । उनले अमेरिकी धितोपत्र बजारका बारेमा अन्तहीन समस्या समाधानका प्रयास प्रस्ताव गरेका थिए । उनीसँग सधैं रहने एक टुक्रा भनेको उनको पाँच दिने नियम हो । यदि एस एन्ड पी–५०० सूचकले वर्षको सुरु पाँच दिनको अवधिमा खुद नाफा हासिल गर्यो भने इक्विटीहरूले सो वर्षभरि समग्रमा राम्रो भूमिका निर्वाह गर्छ ।
जब उनले अमेरिकी आफ्ना सहपाठीहरूलाई १९५० देखि २०१४ सम्मको अवधिमा परीक्षण गर्न भने, उनीहरूले पनि यो ८० प्रतिशतभन्दा बढी साँचो भएको पाए । २०२३ को सुरुका पाँच दिनको अवधिमा पनि बजार १ प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो । यसको अर्थ यो वर्षको पूरै अवधिमा सेयर बजार उकालो लाग्ने सम्भावना ८० प्रतिशतभन्दा माथि छ । यसलाई अकाट्य मान्न नसकिने भए पनि जिम ओ नीलको पाँच दिने नियमका आधारमा बजार सकारात्मक हुन सक्ने अनुमान लगाउन सकिन्छ ।
तर तपाईं आफ्नो मन पर्ने सेयर किन्नका लागि जाँदै हुनुहुन्छ भने केही सावधानी अपनाउनु भने पक्कै पनि पर्नेछ । पहिलो धितोपत्र बजार घट्नुभन्दा पनि बढ्दो अवस्थामा देखिएको छ । उकालो लाग्ने वर्षको तुलनामा ओरालो लाग्ने वर्ष बारम्बार देखा पर्ने गरेका छैनन् । इक्विटी बजारले वित्तमा शीर्ष भूमिका खेल्ने विमर्श गर्दा यो विशेष किसिमले आश्चर्य नलाग्न पनि सक्छ ।
दोस्रोमा जिम ओ नीलको सुरु पाँचदिने फर्मुला ठीक नहुन पनि सक्छ । सुरुका पाँच दिने कारोबार अवधिमा बजार बढे पनि वर्षभरीमा बजार बढ्ने सम्भावना २० प्रतिशत मात्रै हुन्छ र ८० प्रतिशतले बजार ओरालो लाग्न सक्ने सम्भावना पनि रहन्छ । अन्ततः समस्या समाधानको कुनै प्रयासले नभई देशको आर्थिक अवस्थाले नतिजा निश्चित गर्छ । समग्रमा सुरुका पाँच दिनले कुनै पनि चिजलाई किन सुनिश्चित गर्छ ? यो बुझ्न सहज छ ।
कुनै पनि खुद्रा तथा संस्थागत लगानीकर्ताले यो पाँच दिनका आधारमा वर्षभरिको विश्वासको संकेत दिन चाहन्छन् । तर, यो अवधिलाई किन विशेष विश्लेषणात्मक अवधिका रूपमा लिनुपर्छ भन्नका लागि कुनै विद्यमान आर्थिक कारण छैन । यद्यपि आशाको सञ्चारका लागि अन्य केही हालैका विकासक्रमहरू छन् । टिप्पणीकारले तत्कालै आफ्नो बोली फेर्न सक्छन् र यसले लगानीकर्तालाई हालसम्मको उनीहरूको व्यवहार प्रभावित तुल्याउन सक्ने एकभन्दा धेरै सामूहिक भनाइहरू आत्मसात् गर्नका लागि खुला पार्न सक्छ ।
किन यस किसिमको अवस्था आउन सक्छ भन्ने म तीन कारणहरू देख्छु । पहिलो त युक्रेन युद्धका बाबजुद प्राकृतिक ग्याँसलगायत धेरै वस्तु बजार (कमोडिटी मार्केट) को मूल्य २०२२ को सुरु अर्धवार्षिक अवधिमा ओरालो लागेको छ । यसले मुद्रास्फीतिको दबाब कम गर्ने सम्भावना बढाउने मात्र नभई कम्पनी र उपभोक्ताहरूको खर्च योग्य आम्दानी सुरुमा सोचिएजस्तो दयनीय नरहने अर्थ लाग्छ । २०२२ को अन्त्य र २०२३ को सुरुमा केही उच्च फ्रिक्वेन्सीका सूचकहरू अपेक्षा गरिएभन्दा उत्तम देखिएको कुरा मननयोग्य छ, त्यो पनि विशेष गरी युरोपमा ।
दोस्रो, अन्य मुद्रास्फीतिका सूचकहरू पनि एटलान्टिकका दुवै पक्षमा अपेक्षा गरिएभन्दा उत्तम देखिएका छन् । यसमा हालैको अमेरिकी ज्याला तथ्यांकका श्रृंखलाहरू पनि छन् । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ र अन्य मुलुकका कतिपय केन्द्रीय बैंकहरूले आफू राम्रो अवस्थामा रहने बताइसकेका छन् । प्रख्याती कमाइसकेका एक सफल अमेरिकी हेज फन्ड म्यानेजरले भनेका छन्- प्रमाण परिवर्तन भएको समयमा मात्रै फेडले आफ्नो सन्देश परिवर्तन गर्छ ।
फेडका अधिकारीहरूले गरेको अपेक्षाभन्दा तीव्र रूपमा मुद्रास्फीतिको अवस्थामा परिवर्तन भएमा उनीहरूले पनि आफ्नो धारणा परिवर्तन गर्न सक्छन् । अन्त्यमा चीनलाई कसैले पनि बिर्सनु हुन्न, जसले अचानक रूपमा डिसेम्बरमा शून्य कोभिड नीति त्यागेको थियो । संक्रमण र हस्पिटलाइजेसनको दरमा व्यापक वृद्धि भए बाबजुद लकडाउनको अन्त्यले चिनियाँ अर्थतन्त्रमा ठूलो चक्रीय पुनरागमन गराएको छ ।
तर पनि चिनियाँ अधिकारी र निकायले अन्य संरचनागत चुनौतीको सामना गनुपर्ने भए पनि शून्य कोभिड नीतिको अन्त्यसँगै चिनियाँ अर्थतन्त्रमा सुधार आउने देखिन्छ । यसले चिनियाँ सेयर बजारमा पनि आशाको अवस्था देख्न सकिन्छ । अन्य समस्याका बाबजुद कतिपय अन्य मुलुकहरू बेलायतसमेतमा लकडाउनको समयपछि सुधार देखिन थालेको छ । अब अर्को के हुन्छ भन्नका लागि लगानीकर्ताहरूले थप क्लूको खोजी गर्छन् ।
महिनाको अन्त्यसम्ममा यदि बजारले थप बुलिसको अवस्था बनाउन सक्यो भने धेरै व्याख्यानकर्ताहरूको धारणा पनि रूपान्तरित हुन सक्छ । त्यसपछि बजारहरू वास्तवमै उकालो लागेका छन् वा पाँचदिने नियमलाई बेवास्ता गर्न सकिन्छ । लगभग कमोडिटीको मूल्यमा आएको कमीले युरोपेली सेयर बजार सकारात्मक रहने र शून्य कोभिड नीतिको अन्त्यले चिनियाँ बजारमा पनि सुधार आउने भएकाले यो वर्ष विश्व सेयर बजार उकालो लाग्न सक्ने अनुमान लगाउन सकिन्छ ।