Logo

रिडी मेलामा परम्परागत सामग्री मुख्य आकर्षण

नेपालका चारमध्ये एक रुरुक्षेत्रधाम रिडीमा लागेको माघी मेलामा परम्परागत सामग्री मुख्य आकर्षण बनेको छ । गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल कालिगण्डकी नदी किनार गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ रिडीमा लागेको मेलामा परम्परागत सामग्री मुख्य आकर्षण बनेको हो । रिडीमा परम्परागत रूपमा निर्माण हुँदै आएका हस्तकलाका विभिन्न सामग्रीले थप रौनकता छाएको छ । भेडाको ऊनबाट बनेका राडीपाखीहरू रुकुमपूर्वका किसानहरूले बेच्न राखेका छन् ।

विगत २५ वर्षदेखि आफूहरू रिडीमा आएर राडीपाखी बिक्री गर्ने गरेको पुथाउत्तरगंगा गाउँपालिकाकी सुन्पुरा बुढाले बताइन् । रुकुमपूर्वबाट उनीसँगै ३५ जनाको समूह भेडाको ऊनबाट बनेका सामग्री बेच्न आएका छन् । त्यस्तै जुम्लाबाट पनि किसानहरू आफूले उत्पादन गरेका सामग्री बेच्नका आएका छन् । कनकासुन्दरी गाउँपालिकाका गोरे कार्की आफू जान्ने भएदेखि रिडीमा व्यापारका लागि आएको बताए । उनले कालिगण्डकी नदीको स्नानसँगै सीपको संरक्षण र ब्यापारको लागि आउने गरेको बताए ।

साथै बागलुङको बडिगाढ गाउँपालिकाबाट बाँस तथा नियालोबाट बनेका विभिन्न सामग्री बेच्नका लागि रिडी मेलामा व्यापारी आएका छन् । गाउँपालिकाको जलजलाका खिम छन्त्यालले पछिल्लो पुस्तामा पनि कायम राख्नका लागि आफूहरू पेसाको संरक्षण गर्ने गरेको बताए । रुरुक्षेत्र गाउँपालिका–१ स्थित रिडीमा गुल्मीसँगै रुपन्देही, पाल्पा, स्याङ्जा, पर्वत, रुकुम, रोल्पा, अर्घाखाँची, प्युठान, हुम्ला, जुम्ला, झापा र बागलुङ गरी १३ जिल्लाबाट भक्तजनहरू आएको ऋषिकेश मन्दिरका पुजारी चूडामणि तिमिल्सनाले बताए ।

उनका अनुसार पछिल्लो समय विश्वफर फैलिएको कोरोनाका कारण केही वर्ष सुनसान रहे पनि यो वर्षको माघी मेलामा पर्यटकको भीडभाड लागेको हो । रिडीमा माघे सक्रान्ति वा मकर संक्रान्तिको अवसरमा माघी मेला लाग्ने गर्दछ । यहाँ स्नानका लागि बिहानैदेखि धार्मिक पर्यटकको निकै घुँइचो लागेको थियो । माघे सक्रान्तिको अवसरमा रिडीमा स्नान गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । रिडीमा ५ माघसम्म माघी मेलाअन्तर्गत विभिन्न कार्यक्रम हुने गर्दछन् । माघी मेलाको आयोजना रुरु फ्रेन्डस क्लबले गरेको छ ।

क्लबका अनुसार गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीको कालिगण्डकी नदीको तीनवटै किनारामा विभिन्न कार्यक्रम भइरहेका छन् । गुल्मीतर्फ साँस्कृतिक, पाल्पातर्फ धार्मिक कार्यक्रम, स्याङ्जातर्फ खेलकुद र तीनैतर्फ तिर्थालुहरूले स्नान गरिरहेका छन् । रिडीस्थित कालिगण्डकी नदीमा नुहाउन र पछिल्लो समय निर्माण सम्पन्न भएको नेपालकै नमुना तीन जिल्ला जोड्ने झोलुंगे पुल हेर्नेका कारण निकै भीडभाड लागेको स्थानीय पार्वती डालाले बताइन् । रिडीमा पुरानो शैलीका विभिन्न सामग्री ब्यापारका लागि राखिएको छ ।

यहाँ राडी, पाखी, डोको, नाम्लो, नाङ्लोलगायतका सामग्री र अन्य दैनिक प्रयोगका सामान बिक्रीका लागि राखिएको छ । मेलामा अहिलेसम्म १० करोडको कारोबार भएको अनुमान गरिएको स्थानीय ब्यापारी सुन्दर कसजुको भनाइ छ । रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले रुरुक्षेत्र धाम धार्मिक, पौराणिक, ऐतिहासिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको बताए । उनका अनुसार रिडीमा लाग्ने माघी मेला एउटा ब्यापार मेला पनि हो । यहाँ स्नानसँगै ब्यापारका लागि पनि विभिन्न जिल्लाबाट पर्यटक आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्