Logo

नेपाल लाइफको डिजिटल धमाका

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान सञ्चालनमा ल्याएको छ । कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा आयोजित कार्यक्रमका बीच उक्त अभियानको शुभारम्भ यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गरेका छन् ।

सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउँदै गर्दा सूचना प्रविधिको विकासक्रमसँग आफ्ना आदरणीय ग्राहक तथा अभिकर्तालाई साक्षात्कार गराउने अभिप्रायका साथ यो अभियान सञ्चालनमा ल्याइएको हो ।

माघ महिना भरि बिमा शुल्कको नविकरण अनलाइन माध्यमबाट भुक्तानी गर्ने ग्राहकलाई विभिन्न उपहारको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ । भुक्तानी सेवा प्रदायक खल्तीबाट बिमाको नविकरण शुल्क भुक्तानी गर्ने मध्येबाट हरेक हप्ता एकजना भाग्यशाली विजेतालाई इअर्बुड्स प्रदान गरिने छ ।

त्यसैगरी, पहिलो पटक खल्तीको प्रयोग गरी बिमा शुल्कको नविकरण गर्नेलाई १०० रुपैयाँ क्यास व्याक प्रदान गरिने कम्पनीले जनाएको छ । प्रविधिको अधिकतम प्रयोग गर्दै कार्यसम्पादन गर्न अब्बल रहेको कम्पनीले बिमाशुल्क नविकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई–सेवा, खल्ती, फोन पे, कनेक्ट आइ.पी.एस, आई एम ई–पे र प्रभु–पेसँग सम्झौता गरेको छ ।

२०७९ असोज मसान्तसम्ममा कम्पनीको लगानी १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बिमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र सेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्