एक नम्बर प्रदेशलाई एक नम्बर नै बनाउने अठोट «

एक नम्बर प्रदेशलाई एक नम्बर नै बनाउने अठोट

विराटनगर-प्रदेश नम्बर १ को पहिलो बैठक सोमबार अस्थायी राजधानीका रुपमा तोकिएको विराटनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक विभिन्न ३ वटा प्रस्ताव पारित गर्दै सकिएको छ । बैठकले सभामुखको निर्वाचन मिति तोक्नेसहितका कार्यसूची पारित गरेको हो ।
प्रदेशसभाका ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले सञ्चालन गरेको बैठकले सभामुखको निर्वाचनको मिति तोक्ने, प्रदेशसभा सञ्चानल अन्तरिम कार्यविधि पारित गर्ने, सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरू तोक्ने कार्यसूची रहेको थियो । बैठकै ती सबै कार्यसूची सर्वसम्मतले पारित गरेको छ । बैठकले सभामुखको निर्वाचन माघ २९ गते गर्नेे निर्णय गरेको छ भने प्रदेशसभा नियमावली नबनेसम्म प्रदेशसभा सञ्चालन गर्न दलहरूको सहमतिमा तयार गरिएको अन्तरिम कार्यविधि २०७४ पारित गरेको छ । बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न ५ जना सांसद रहेको समिति गठन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
जसमा नेकपा एमालेबाट गणेश काङ्बाङ, नेपाली कांग्रेसबाट प्रकाशप्रताप हाङ्पाङ, नेकपा माओवादी केन्द्रबाट रामकुमार राई, संघीय समाजवादीबाट राधा थापा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट विष्णु सम्बाहाम्फे रहेका छन् । बैठकमा सभामुखको जिम्मेवारी लिएका ज्येष्ठ सदस्य सरावगीले संघीय संसद सचिवालयका सहसचिव ध्रुव घिमिरेलाई प्रदेशसभा सचिवालयको सचिवको अख्तियारी दिएको जानकारी दिए ।
बैठकमा बोल्ने अधिकांश सांसदहरूले समृद्धि र विकासमा जोड दिएका छन् । दलका नेताहरूले १ नम्बर प्रदेशलाई १ नम्बरकै बनाउने बताएका छन् । पहिलो प्रदेशसभा बैठकमा १ नम्बर प्रदेशको विकास निर्माण गर्न र जनताको अपेक्षा पूरा गर्न सहमतिबाटै अघि बढ्ने सांसदहरूले प्रतिबद्धता जनाएका छन् । एमाले नेता तथा प्रदेशसभा सदस्य भीम आचार्यले पक्ष र विपक्षी नभनी जनताको अपेक्षा पूरा गर्नुपर्नेमा जोड दिए । १ नम्बर प्रदेशको व्यापार घाटा कम गर्ने, उद्योग धन्दाको विकास गर्ने, रोजगारीको सिर्जना गर्ने र स्रोत साधनको समुचित उपयोग गर्नुपर्नेमा आचार्यले जोड दिए । संसदमा बोल्दै कांग्रेसबाट निर्वाचित सदस्य चन्द्रप्रसाद श्रेष्ठले १ नम्बर प्रदेशलाई सबैभन्दा राम्रो, शान्त, समृद्ध र विकसित बनाउनुपर्नेमा जोड दिनुभयो । बहुजाति, बहुधर्म र संस्कृतिलाई सम्मान गर्दै सबैलाई समेटेर अगाडि बढ्नुपर्ने बताए ।
माओवादी केन्द्रका तर्फबाट इन्द्र आङ्बो, संघीय समाजवादी फोरम नेपालका तर्फबाट जयराम यादव, राप्रपाकी इन्दिरा राई र संघीय लोकतान्त्रिक मञ्चकी विष्णु तुम्बाहाम्फेले प्रशस्त्र स्रोत र साधन भएकाले १ नम्बर प्रदेशलाई नेपालकै सबैभन्दा उत्कृष्ट प्रदेश बनाउन सकिने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्