Logo

बिमितले नै पाउँदैनन् औषधि

स्वास्थ्य सेवा कार्यालयमा आउने अधिकांश बिरामीले औषधि नपाएको गुनासो गरेका छन् । चिकित्सकले जाँच गरेर पुर्जीमा औषधि नाम लेखी फार्मेसीमा जान सल्लाह दिने गरे पनि बिरामीले औषधि नपाउँदा हैरान भएर फर्कने गरेका छन् । विगत महिना दिनदेखि बिरामीले फार्मेसीबाट औषधि नपाएको गुनासो गर्दै आएका छन् ।

फार्मेसीमा औषधिका लागि पुुर्जी लिएर बिरामीका आफन्तहरू आउँछन, तर यहाँ औषधि नपाएपछि गाली मात्र खानु परेको फार्मेसीमा काम गर्ने स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्य बिमा गरेका बिरामी घरबाट पैसा बोकेर नआउने भएकाले फार्मेसीमा औषधि नपाउँदा झगडा गर्न बसेझैं हुने गरेको एक स्वास्थ्यकर्मीले बताए ।

बिरामीले औषधि नपाउँदा एकातिर दुःख लागेको हुन्छ भने अर्कोतिर गालीको वर्षा लगाउँदा मन भारी हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । आफूले मागेको औषधि नपाएर बाहिरका मेडिकलमा गएर रकम खर्च गरेको भेरी नगरपालिका–१ की तली कामीले बताइन् । सामान्य औषधिसमेत नपाएको उनको भनाइ छ ।

त्यस्तै भेरी नगरपालिका–३ का चन्द्रबहादुर बुढाले पनि फार्मेसीबाट औषधि नपाएको बताए । नामको मात्र फार्मेसी भएपछि के गर्नु, औषधिभरि बाहिरबाट किनेर ल्याउनुपर्ने बाध्यता छ बुढाले भने । सदरमुकामभन्दा बाहिरका पालिकाबाट सेवा लिन आएका बिरामीलाई समस्य पर्ने गरेको छ । फार्मेसीबाट औषधि सकिएको जानकारी स्टोरलाई गराए पनि औषधि नपाएको फोकल व्यक्तिले बताए ।

प्रतिक्रिया दिनुहोस्