वन्यजन्तुको उपचार एक चिकित्सकको भरमा

चितवन-नेपालमा वन्यजन्तुको उपचार गर्न जनशक्तिको अभाव देखिएको छ । कुल क्षेत्रफलको झण्डै २४ प्रतिशत क्षेत्रफलमा वन्यन्तुको बसोबास रहे पनि वन्यजन्तु उपचारमा मुलुकले पर्याप्त ध्यान दिन सकेको पाइँदैन । वन तथा भूसंरक्षण मन्त्रालयले हालसम्म एक जना वरिष्ठ पशु चिकित्सकको भरमा वन्यजन्तुको उपचार गर्दै आइरहेको छ ।
चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमलप्रसाद गैरे वन्यजन्तुको उपचार गर्न प्रविधि र लगानी ज्यादै कम भएको बताउँछन् । “मानिस, घरपालुवा र वन्यजन्तुको उपचार अब एकै स्थानबाट गर्नुपर्छ भन्ने अवधारणा आइरहेका छन्”, उनले भने, “तर, हालसम्म वन्यजन्तु चिकित्साको राम्रोसँग विकास भएको छैन ।” उनले वन्यजन्तुमा महामारी फैलिए नियन्त्रण गर्न निकै कठिन हुने अवस्था रहेको बताउँछन् । “बर्डफ्लु संक्रमण फैलिँदा निकै सकस खेप्नुपरेको थियो,” उनले भने, “वन्यजन्तुमा महामारी आएमा रोक्न निकै चुनौती देखापर्ने अवस्था छ, न जनशक्ति छन्, न प्रविधि नै छ ।” उनी २५ वर्षदेखि निकुञ्जमा कार्यरत छन् । उनी वन्जन्तुको उपचारका लागि देशभरी दौडनुपर्ने अवस्था छ ।
“वन्यजन्तु अस्पताल निकुञ्जको पूर्वीसेक्टरमा निर्माणाधीन अवस्थामा छ”, उनले भने, “घाइते जनावरको उपचारमा केही सहजता आउने सम्भावना छ ।” उनका अनुसार वन्यजन्तुमा ठुला घाउ चोट लागेमा, संक्रमण फैलिएमा अनुमानको भरमा उपचार गर्नुपर्ने अवस्था रहेको छ । पशुचिकित्सा अध्ययनमा वन्जन्तु स्वास्थ्य सम्बन्धि विषयमा कमै अध्ययन हुने गर्छ । “मान्छेमा लाग्ने ६० प्रतिशत रोग जनावरबाटै सर्छन्,” कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्राध्यापक डा. हिमाल लुइँटेलले भने, “त्यसमध्ये ७० प्रतिशत जंगली जनावरबाटै सर्ने गरेका तथ्यांक छन् ।” उनले नेपालमा वन्यजन्तु स्वास्थ्यसम्बन्धी ऐन नभएकाले उपचारमा समस्या हुने गरेको बताउँछन् । “घरपालुवा जनावरमा लाग्ने रोग र वन्यजन्तुमा लाग्ने रोगको प्रकृति एउटै भएपनि उपचार विधि फरक छ, तर अनुमानका आधारमा उपचार गर्नुपर्ने बाध्यता छ ।” उनी जंगली जनावरमा महामारी फैलिएर मानववस्तीमासमेत फैलने त्रास उत्तिकै रहेपनि वन्यजन्तु स्वास्थ्यबारे खासै राज्यले चासो दिन नसकेको बताउँछन् । रेविज, खोरीयत, क्षयरोग, भ्यागुते रोग जस्ता वन्यजन्तुमा लाग्ने कैयन रोग घरपालुवा जनावरमा पनि सर्ने सम्भावना रहन्छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायकी डीन प्राध्यापक डा. शारदा थपलिया पशु चिकित्सामा वन्यजन्तु स्वास्थ्यबारे नयाँ कोर्ष थपिनुपर्ने बताउँछिन् । “पशु चिकित्सकलाई ५ वर्ष घरपालुवा जनावरको उपचारबारे पर्याप्त ज्ञान दिइन्छ, तर वन्यजन्तु स्वास्थ्यबारे निकै छोटो कोर्ष पढाइ हुन्छ”, उनले भनिन्, “जसले वन्यजन्तुको उपचारमा सहज वातावरण बन्न सकेको छैन ।” नेपालमा २५ वर्षयता पशु चिकित्सक उत्पादन भइरहेका छन् । तर, वन्जन्तुको उपचार गर्न सक्ने गरी जनशक्ति तयार गर्ने कोर्ष हालसम्म बनेको छैन । “मान्छे र वन्यजन्तुको द्वन्द्व, जैविक विविधता र स्थानान्तरणबारे थुप्रै काम भएका छन्”, उनले भनिन्, “तर, वन्जन्तुमा लाग्ने रोग, उपचारबारे सारै थोरै अनुसन्धान भएका छन्, जसले सम्भावित जोखिम कम गर्न सकिने अवस्था छैन ।”राष्ट्रिय प्रकृति संरक्षण कोष जावलाखेल चिडियाखानाका प्रमुख डा. चिरञ्जिवी पोखरेलले पशु चिकित्सासम्बन्धी अध्ययन बढी घरपालुवा जनावर केन्द्रित भएको बताए ।
चितवन राष्ट्रिय निकुञ्जमा २०७१ साल फागुन २० गते शिलन्यास भएको वन्यजन्तु अस्पतालको अझै निर्माण पूरा भएको छैन । २ करोड लागतमा निर्माण हुने भनिएको अस्पताल आर्थिक अभावमा पुरा हुन सकेको छैन । घाइते, अपाङ्ग, विरामी वन्यजन्तु उपचार निकै चूनौतीपूर्ण छ । उद्दार गरी ल्याइएका कतिपय जनावर राम्रो उपचार नपाउँदा मृत्यु हुन्छन् । हालसम्म काठमाडौं उपत्यकाका घाइते वन्यजन्तुलाई सदर चिडियाखानामा सामान्य उपचार गर्ने गरिएको छ । चितवनमा मात्रै झण्डै दुइ दर्जन बढी जंगली जनावर सहि उपचार नपाउँदा मत्युको मुखमा पुगेका छन् ।
बाघ, गैँडा र हात्तीको उपचारबारे क्षेत्रीय कार्यशाला
सौराहामा वन्यजन्तु चिकित्साबारे ४ दिने कार्यशाला सुरु भएको छ । नेपालसहित १३ देशका वैज्ञानिक सहभागी कार्यशालामा बाघ, गैँडा र हात्तीको स्वास्थ्यबारे वृहत छलफल भएको छ । बाघ, एसियाली गैडा र हात्तीको चिकित्सा विज्ञान सम्बन्धि कार्यशालामा ३३ वटा विज्ञहरूका कार्यपत्र प्रस्तुत हुनेछन् । क्षेत्रीय कार्यशालाको वन तथा भूसंरक्षण मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले सोमबार उद्घाटन गरेका थिए ।