वीरगन्जको मुख्य सडक विस्तार गर्न नदिने चेतावनी «

वीरगन्जको मुख्य सडक विस्तार गर्न नदिने चेतावनी

वीरगन्ज महानगरपालिकाको मुख्य सडक विस्तारका लागि संरचना भत्काउने सूचना सार्वजनिक भएपछि त्यसको विरोध हुन थालेको छ । सूचना सार्वजनिक भएपछि समाजवादी पार्टीका नेता र नेपाली कांग्रेसका नेताहरूले वीरगन्जको मुख्य सडक विस्तारका लागि संरचना हटाउन नदिने बताएका छन् ।
संघीय सांसद प्रदीप यादवले पनि वीरगन्जको ऐतिहासिक संरचना भत्काउन नहुने बताएका छन् । वीरगन्ज महानगरपालिकाको पाँचौ नगरसभामा सांसद यादवले सरकारसँग भत्काउने बजेट नै नभएको भन्दै मुख्य सडकको संरचना कुनै पनि हालतमा भत्काउन नदिने बताए । उनले एकीकृत भन्सार जाँच चौकी, सुक्खा बन्दरगाह बन्नुभन्दा पहिले मुख्य सडक भत्काउने निर्णय भए पनि अब सवारी साधनको चाप हुने वैकल्पिक व्यवस्था भइसकेकाले मुख्य सडकको संरचना भत्काउन नहुने तर्क गरे । परवानीपुर, जीतपुर, हेटौंडालगायतका स्थानमा संरचना भत्काइए पनि वीरगन्जको अवस्था फरक रहेकाले सार्वजनिक सूचना जारी गरे पनि सरकारले पुनः संशोधन गर्नुपर्ने उनले बताए ।
सांसद यादवले संघीय सरकारले वीरगन्जलाई अहिलेसम्म केही नदिएको र खाली लिने मात्रै गरेकाले वीरगन्जको विकासको नाममा संरचना भत्काउन खोजे त्यसको परिणाम असहज हुने बताए । कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारीलाई पनि उनले आदेश पालना गर्दा आमजनताको भावनालाई बुझ्न आग्रह गरे । अहिले सरकारसँग भत्काउने बजेट पनि नभएकाले यदि त्यस्तो बजेट विनियोजन भएको भए आफु यहि क्षेत्रको सांसद भएकाले त्यसको जानकारी हुनुपर्नेमा उनले जोड दिए।
यादवको अभिव्यक्ति आउनु अघि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले पहिले पत्रकार सम्मेलन गरेर वीरगन्जको मुख्य सडक विस्तारको आवश्यकता नरहेको भन्दै संरचना भत्काउन नहुने बताएका थिए । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलन गर्दै कांग्रेस केन्द्रीय सदस्य चौरसियाले सरकारको सनकमा वीरगन्जलाई तहस–नहस बनाउन लागेको आरोप लगाए । उनले सरकारले विकासको नाममा कुनै पनि निजी सम्पत्ति अधिग्रहण गर्दा जनतालाई मुआब्जा दिनुपर्ने कानुनी व्यवस्था रहेको भन्दै भत्काउनै परे पनि उनीहरूलाई उचित मुआब्जा दिनुपर्ने बताए । राष्ट्रिय राजमार्गहरू २५÷२५ मिटर हुनु स्वाभाविक रहेको तर वीरगन्जको मुख्य बजारक्षेत्रको सडक विस्तारको सवालमा भन्सार कार्यालय पनि स्थानान्तरण भइसकेकाले सवारी चापको हिसाबले पनि अहिले आवश्यकता नदेखिएको उनको भनाइथियो ।
सरकारले निर्माण गरिरहेको ६ लेनको सडकमा पनि कहिँ कतै उचित स्थानमा डाईभर्सन नरहेको, ठूला सडकमा फ्लाई ओभर निर्माण नगरेको भन्दै उनले औचित्यहीन विकास आफुलाई स्वीकार नहुने बताए । उनले मधेसको लाइफलाइनको रूपमा रहेको हुलाकी सडक पनि पहिले ४ लेनको निर्माण हुने भएको तर अहिले दुईलेनको मात्रै भइरहेको भन्दै त्यसको विरोध गरेका छन् । आफु विकास विरोधी नभएको भन्दै चौरसियाले जनतालाई पर्ने पीरमर्कामा निर्वाचित जनप्रतिनिधिले नबोलेकै कारणले आफुले आवाज उठाउनुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्