Logo

कर्णालीमा सिस्नु हानाहान गरेर माघी मनाइयो

कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लामा माघी मनाउने अचम्मका चलन प्रचलनमा छन् । कतै सिस्नुले हानाहान गरेर गरेर माघी मनाइन्छ भने कत्तै रातभरि जाग्राम बसेर मनाउने गरिन्छ । विभिन्न जाति अनुसारको चलन चल्तीमा रहेको यस क्षेत्रमा जानकार बताउँछन् । जाजरकोट, रुकुम पश्चिम, सल्यानमा सिस्नु हानाहान गरेर माघी मनाइन्छ ।

मामाकी छोरीलाई फूपूका छोराले सिस्नु हान्ने, साली, भेना, सोल्टी, सोल्टिनाबीच सिस्नु हानाहान गरेर मनाउने गरिन्छ । सिस्नु हानाहान गर्नका लागि अन्य जिल्लाका स्थानीयबासी यहाँ आउने गर्छन् । आमाघीको दिन सिस्नुले नहानेमा सुँगुरको जुनी पाइने धार्मिक मान्यता छ । साथीभाइबीच जिस्किएर सिस्नु हान्ने चलन पनि छ । सिस्नु घुँडाबाहेक अन्यत्र हान्न नपाइने व्यवस्था भएको नलगाड नगरपालिका–८ का शिक्षिका नन्दा शाहीले बताइन् ।

कतिपयले सिस्नु हान्दाहान्दै विवाहसमेत हुने गरेको छ । सिस्नु खेल्नका लागि मामाघर र माइती जाने चलनसमेत रहेको छ । त्यस्तै हिमाली जिल्ला हुम्लामा कर्णाली नदीको तीरमा चिसो सिरेटोसँगै रातभरि जाग्राम बस्दै मनाउने चलन छ । रातभरि जाग्राम बसे राम्रो फल प्राप्त हुने धार्मिक मान्यतालाई निरन्तरता दिँदै यस वर्ष पनि राति नदीबाट आउने चिसो सिरेटोको प्रवाह नगरी माघे संक्रान्ति मनाएको स्थानीयबासीको भनाइ छ ।

खार्पुनाथ तीर्थका रूपमा उक्त स्थान जिल्लाभित्र र बाहिर प्रख्यात छ । शिवालय क्षेत्रमा शिवको मन्दिर पनि छ । खार्पुनाथ शिवालय व्यवस्थापन समितिका सदस्य भीमराज शाहीका अनुसार यस वर्ष जाग्राम बसेर माघे संक्रान्ति मेला मनाउने कार्य भएको छ । शनिबार ६ बजेबाट भक्तजन खार्पुमा जम्मा भएका थिए । उनीहरू सबैले रातभरि शिवजीको आराधना गाई रात कटाएको र बिहान सबेरै कर्णाली नदीको चिसोपानीमा स्नान गरेर मन्दिरमा पूजापाठमा लाग्ने गर्दछन् ।

शिवालयमा जाग्राम बसी पूजापाठ गरे राम्रो काम बन्ने धार्मिक मान्यताका कारण अधिकांश भक्तजन मेला मनाउन आउने गर्छन् । मदिरा र काटमार निषेध गरिएको शिवालय क्षेत्रमा महिला–पुरुष मिलेर देउडा पनि गाउने गर्छन् । विशेषगरी खार्पुनाथ गाउँपालिका–५ का ठकुरी समुदायका पुरुषले परम्परागत पोसाक बख्खु लगाएर मध्य क्षेत्रमा बालेको आगो ताप्दै चाड्ची र भारी गीत पनि गाउने र नाच्ने गर्छन् ।

त्यस्तै मुगुमा केटीहरूले घरघरमा गएर खाद्यान्न उठाउने र बेलुकी भएपछि सो खाद्यान्नको मिठाइ बनाएर दाजुभाइ र आफन्तलाई दिने गरिन्छ । सो खाएवापत आफन्तहरूले घरको छोरीबहिनीलाई केही रकम दिने चलन छ । यसो गरेमात्र पुण्य कमाइ हुने जनविश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्