विद्यार्थी तान्न अंग्रेजी माध्यममा पढाइ «

विद्यार्थी तान्न अंग्रेजी माध्यममा पढाइ

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएपछि पछिल्लो समय विद्यालयमा विद्यार्थी बढाउन जिल्लाका केही विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन थालेका छन् । यसले विद्यालयमा विद्यार्थी टिकाउन तथा विद्यार्थी आकर्षण गर्न सहयोग पुग्ने विद्यालयहरूले जनाएका छन् ।

अंग्रेजी माध्यमबाट पठनपाठनका लागि विद्यार्थी निजी स्कुलतिर जान थालेपछि पछिल्ला वर्षमा जिल्लाका सामुदायिक विद्यालयले विद्यार्थी तथा अभिभावकको रोजाइलाई ध्यानमा राखेर अंग्रेजी माध्यममा पठनपाठन गर्न लागेका हुन् । विशेषगरी सहरी क्षेत्रका विद्यालयले अंग्रेजी माध्यमको पठनपाठनलाई तीव्रता दिएका छन् ।

अंग्रेजीमा अभिभावकको पनि चासो भएकाले आधारभूत तहदेखि माध्यमिक तहसम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिराज अधिकारीले बताए । विद्यार्थी र अभिभावकको चाहनाअनुसार विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको प्रधानाध्यापक अधिकारीले बताए ।

“विद्यार्थी र अभिभावकको चाहनाअनुसार आधुनिक युग सुहाउँदो शिक्षा करिब १० वर्ष अघिदेखि पढाउँदै आएका छौं,” विद्यालयका प्रधानाध्यापक अधिकारीले भने, “अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि विद्यार्थीको संख्या पनि राम्रै छ ।” अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भएपछि बोर्डिङमा भर्ना भएका बालबालिका पनि सामुदायिक विद्यालयमा भर्ना हुने गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका ८३ वटा सामुदायिक विद्यालयमध्ये १२ वटा विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन हुने गरेको तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जानकारी दिए । प्रमुख भण्डारीका अनुसार विद्यार्थीको रुचि र अभिभावकको चाहनाअनुसार उपमहानगरपालिकाका सातवटा माध्यमिक तहका विद्यालय र पाँचवटा आधारभूत तहका विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन भइरहेको छ ।

नेपाली माध्यममा पठनपाठन गर्दा विद्यार्थी पाउनै मुस्किल भएका विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि एउटा कोठामा विद्यार्थी अट्न छाडेपछि कतिपय विद्यालयले एउटै कक्षामा दुईभन्दा बढी सेक्सन चलाएर पठनपाठन गराउँदै आएको शाखा प्रमुख भण्डारीले बताए । शिक्षा शाखा प्रमुख भण्डारीका अनुसार विद्यालयले अभिभावक भेलाबाट वार्षिक शुल्क निर्धारण गरेर विद्यार्थीसँग शुल्क उठाउने गरेका छन् ।

घोराही उपमहानगरपालिकाभित्र रहेका ९६ सामुदायिक विद्यालयमध्ये १० वटा विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन गराउने गरेका छन् । नर्सरीदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेसँगै घोराही–१८ स्थित माध्यमिक विद्यालय रझेनामा विद्यार्थी संख्या बढेको छ । घोराही उपमहानगरपालिका विभिन्न स्थानमा रहेका १९ बढी विद्यालयले पछिल्लो समय अंग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आएको सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतमले बताए ।

यसैगरी बंगलाचुली गाउँपालिकामा रहेका ४१ वटा समुदायिक विद्यालयमध्ये सुधा माध्यमिक विद्यालय झुल्नेटामा मात्रै अंग्रेजी माध्यमबाट पठनपाठन हुने गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएपछि अंग्रेजी माध्यमबाट पठनपाठनका लागि छलफल भए पनि पठनपाठन अघि बढ्न नसकेको शिक्षा शाखा डेमराज पुनले जानकारी दिए ।

राप्ती गाउँपालिकामा रहेका ३१ वटा विद्यालयमध्ये तीनवटा सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेका छन् । तीनवटै सामुदायिक विद्यालयले केही वर्षदेखि सामुदायिक विद्यालयमा विद्यार्थी बढाउनेसँगै गुणस्तरीय शिक्षा विद्यार्थीलाई उपलब्ध गराउने उद्देश्यअनुसार अंग्रेजी माध्यमबाट पढाउन थालेको शिक्षा शाखा प्रमुख विश्वास विकले बताए ।

यसैगरी लमही नगरपालिकाका २७ वटा विद्यालयमध्ये आदर्श माध्यमिक विद्यालय देउपुरमा अंगे्रजी माध्यमबाट पठनपाठन हुने गरेको छ । यसैगरी दंगीशरण गाउँपालिकामा पाँचवटा, शान्तिनगर गाउँपालिकामा ६ वटा, गढवा गाउँपालिकामा तीनवटा, राजपुर गाउँपालिका र बबई गाउँपालिकामा १/१ वटा सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्